प्रेम, नारीसौन्दर्य, अहम र बदलाको पराकाष्ठा

“सौन्दर्य नारीमात्रको ज्यादै बलियो हतियार पनि हो र साथै ज्यादै फिताले पनि ।”
उपन्यास उत्पादक विजय मल्लद्वारा उत्पादित नारी सौन्दर्य र अहमको उपन्यास हो – अनुराधा । परिवारदेखि टाढा एकान्तिक जीवन बिताउँदै हुन्छ, कोमलमान । सानै उमेरमा आफ्नी आमाको वात्सल्यबाट टाढिएको कोमलमान स्त्रीदेखि नि टाढै रहन मनपराउँछ । दाजु, भाउजुले विवाह गरिदिनका लागि काठमाण्डौं बोलाउँछन् तर ऊ किञ्चित् टसमस गर्दैन, बेखर भएर बसिरहन्छ । आईमाईप्रति वितृष्णा छ ऊसित, “एकप्रकारको बिहेप्रति नै त्यसबखत, मेरो मनमा अत्यन्त उदासीन र विमुखता थियो । या यसो भनूँ, ममा नारीहरु, युवतीप्रति नै एक किसिमको आन्तरिक रुपले अवहेँलना भाव थियो । मेरा आमाको देहान्त भएपछि यस किसिमको भावनाले मलाई लखेटेको थियो । मेरो बाको मृत्युपछि, म आमासँगसँगै कहिल्यै नअलग्गिई हुर्केको थिएँ । आमा नै मेरो सबकुछ हुनुहुन्थ्यो । उमेरपुगेपछि पनि म आमाबाट कहिल्यै पृथक भएको थिइनँ । तर जब उहाँको देहावसन भयो, म एकलिएँ । मलाई व्यापक शून्यता र रिक्तताले छोप्यो र आईमाईसँग म त्यसबखतदेखि केही अंशमा भयभीत हुन थालेँ ।”

यद्यपी जब उसले ट्रेनमा अचेत भएकी अनुराधालाई मृत्यूको मुखबाट थुतेर बचाउँछ, आफ्नै घरमा लगेर औषधी उपचार गराउँछ । उसमा अनुराधाप्रति आर्कषण पैदा हुन्छ । उसको सौन्दर्य र मुस्कानबाट घायल हुन्छ, उसलाई एकप्रकारले एकलौटी प्रेम गर्न थाल्छ, “मैले अकस्मात्, उनको अनुहारको बायाँ भागमा फेरि त्यहीँ भयानक मुस्कान देखेँ । त्यो मेरो भ्रम थिएन, फेरि हेरेँ । उनी उही प्रकारले हाँसिरहेकी थिइन् । मेरो निष्प्राण, अविचल, सुषुप्त मन एकदम व्यग्र भयो । म रन्थनिएँ । मानौँ जङ्गलको बीचमा अचानक पानीको मूल फुट्छ, पानी बग्न थाल्छ र वरपरका तृषित मुर्झाएका रुखहरु पल्हाउन थाल्छन् । ममा यस्तै भयो । म आफैँसँग विस्मित् थिएँ ।”

अनुराधा यौटी ‘एबनर्मल’ अर्थात पागल प्रकृतिकी महिला हुन्छिन् । विभिन्न पारिवारिक प्रपञ्चमा परेर उनको छलवश विवाह भएको हुन्छ । उनका आमा र दिदीभिनाजुले उनको मञ्जुरविना सुटुक्क विवाह गरिदिएका हुन्छन्, जुन कुरा उसलाई थाहा हुँदैन । उनी आफ्ना सम्पूर्ण परिवारलाई स्वार्थी ठान्छिन्, एकप्रकारको नाता तोड्छिन् । आमासँग उनी रोष पोख्छिन्, “आमाले एकमात्र सन्तुष्टि, मेरो बाबाट वर्षौ अलग्गिएर काठमाडौंमा बस्नुपर्दा घरको एकाधिकार शासन र व्यवस्थाबाट पाइरहनुभएको थियो ! यही कारण छ, उहाँको सर्वेसर्वा सत्तामा कसैले प्रहार गरेको उहाँलाई सह्य थिएन । यसको साथै मप्रति उहाँको मनको गहिर्याइमा इष्र्या र प्रतिद्वन्द्विता पनि थियो, किनकी म बाबुसँग साथसाथै मधेसतिर सँगै रहिरहेकी थिएँ र बाबुको प्यार पाइरहेकी थिएँ बाबुको प्यार खोसुवाझैँ उहाँको मनमा मप्रति अप्रकट रुपले विद्वेष वर्तमान रहन रक्तछ । र आफ्नो लोग्नेसँग रमाइलो गरी बस्न नपाउँदा यस्तो प्रतिक्रिया कुन स्वास्नीमानिसमा पैदा हुँदैन र ! यही प्रतिक्रियाले गर्दा उहाँको चरित्रमा सुक्खापन, कठोरता, विक्षोम थियो । मप्रति, त्यस्तो प्रतिहिंसाको भावना उहाँमा रहनुको कारणै यहीँ हुन सक्तथ्यो । नत्र जेसुकै भए पनि म उहाँकी छोरी थिएँ । छोरी ! ईष्र्याकी पात्री ! गजब हैन ?”

अनेक तीकडमपछि अनुराधा पति रत्नमानको घरलाई अँगाल्छिन्, उनको एकमात्र अभीष्ट भनेको बदला लिनुहुन्छ । सामाजिक रुपमा रत्नमानलाई पति स्वीकार गरेपनि उनीहरु यौटै ओछ्यानका पतिपत्नी हुँदैनन् । उनी आफ्नो पतिको अनुहार नै घृणाको दृष्टिले हेर्छिन् । उनी पतिको हत्याका गर्नाका लागि पोल्टामा छुरी राखेर बस्छिन्, उपयुक्त मौका पर्खिरहन्छिन् तर उनी हत्या गर्न सफल हुदिनन् ।

त्यसपछि रत्नमानको भाइलाई नै पतिका विरुद्ध उभ्याउँछिन् । रत्नमानको अगाडि उनको भाइको हेरचाह गर्छिन्, लुगाफाटा धोइदिने, विछ्यौनाको तन्ना मिलाइदिने धाराप्रवाह गर्छिन् । यहाँ सम्मकी भाइका तन्नामा मेहनतले बुटा काटिदिने, ‘आई लभ यू’ लेखिदिने, आफ्ना तस्वीरहरु भाइको कोठामा सजाइदिने गर्छिन् । यसबाट परिवार र स्वयम् रत्नमान पनि आजित हुन्छ । भाउजु र देवरलाई शंकाको दृष्टिले हेर्न थाल्छ । दाजु र भाइबीच दिनहुँ झगडा हुन थाल्छ । अनुराधाले गर्दा पारिवारिक कलह सिर्जना हुन्छ । त्यसपछि भाइ घर छोडेर व्यवसाय गर्ने हेतुले बिराटनगर गएर बस्छ । त्यहाँ ऊ विभिन्न केटीसँग लाग्छ । आफ्नो चरित्रलाई धूमिल पार्छ । यस्तै प्रकारको बदलाको क्रियाकलापले अन्ततः अनुराधाको मानसिक सन्तुलन गुम्छ । ऊ रत्नमानलाई यसरी गाली गर्छे, “शान्ति चाहनुहुन्छ भने मलाई छोडिदिनुहोस् । नत्र म तपाईंको योभन्दा बढी हानी पुर्याउन सक्छु । म तपाईंलाई कुनै हालतमा पनि प्रेम सक्तिनँ, बुझ्नुभयो ? म वेश्या हुँ ।”

अनुराधाले नारीसौन्दर्य, प्रेम र त्यसबाट उब्जिने अहम् र रवाफको घनाकार बोध गर्छ । नारी शक्ति र अराजकतालाई प्रदर्शित गर्छ । कोमलमान अनुराधाको जीवन विश्लेषण गर्छ, “सौन्दर्य मात्र नारीबाट प्रथक भइदिए, त्यसमा कुनै मानसिक भावनाहरुको उपेक्षा नभए, के यस्तो अनावश्यक घटनाहरु घट्तो होला ? सौन्दर्यले किन पागल तुल्याउँछ । किन सौन्दर्यलाई पाउने लोभमा नारीलाई नष्ट गर्नतिर मनुष्यहरु लम्कन्छन् ? अनुराधा राम्री, रुपवती भइदिइन् । रत्नमानले सौन्दर्य मात्र देख्यो, नारी देखेन । समुन्द्रमानले भाउजुमात्र देख्यो, तर नारीको सौन्दर्य देखेन । समाजले उनलाई कसैसँग पत्नी बनाउन खोज्यो, हृदयलाई वास्ता गरेन । पतन–पतनको जरामा कोही पनि गएनन् । त्यसैले पतनको केही अर्थै रहेन । अनुराधा बदलाको आवेगमा झम्टेर दौडिन्, तर आफ्नो मनको शत्रुलाई देखिनन् । उनको भएको शत्रु मानवताले उनलाई धोका दिइहाल्यो, छेकिहाल्यो यसरी उनी बौउलाइन् ।”

कोमलमानको अनुराधाप्रति मोहभङ्ग भएको छैन । ऊ अनुराधाको इच्छाअनुसार रत्नमानलाई उनको लाससम्म पनि छुन दिन्न भनेर कबूल गर्छ । उसले अनुराधाको उपचार देश/विदेशमा गराउँछ । उनका सपना पूरा गर्न बङ्गलाको चारैतिर आँपका रुखहरु रोप्छ । हर्दम फूलहरु फुल्ने बगैँचा बनाउँछ । ऊ अनुराधालाई ‘म तिमीलाई प्रेम गर्छु’ भन्न व्याकुल हुन्छ । तर अनुराधाको चेतना फिर्दैन् ताकि उसका भावनाहरु बुझ्न सकोस् । अन्तिममा ऊ भन्छ, “म उनको सपना पूरा गर्नको खातिर जीवनभर यस्तै रीतले पर्खन सक्छु, अनन्तकालसम्म पर्खन सक्छु, अनन्त कालसम्म ।”

अनुराधा (उपन्यास)
लेखक : विजय मल्ल
मूल्य : रू. ५५/–
प्रकाशक : साझा प्रकाशन

नयाँ पुस्तक, पत्रपत्रिका पढ्न, फिल्म हेर्न अब्सेसिभ छु । केही क्रियटिभ कुरा फुर्यो भने ब्लग लेख्ने गरेको छु । तपाईजस्तै म पनि आफ्नो पहिचान र स्पेश खोज्ने योद्धा हुँ ।

0 comments: