सेतो धरतीले मदन पुरस्कार पाएकोमा को के भन्छन्

1:29:00 AM 1 Comments

२०६८ सालको मदन पुरस्कार ‘सेतो धरती’ उपन्यासका लेखक अमर न्यौपानेलाई प्रदान गरिएको छ । ‘पानीको घाम’ कथा सङ्ग्रह प्रकाशित गरेर नेपाली साहित्यमा हस्ताक्षर सहभागिता जनाएका न्यौपानले दुई लाख राशिको सो पुरस्कार पाएका हुन् । मिडियाप्रति खासै चासो नभएको र कहिल्यै मिडियाको पछि नलागेको  बताउने न्यौपाने यतिखेर मिडियाहरु आफैँ उनलाई खोज्दै आएकोमा दङ्ग छन् । मदन पुरस्कार पाएको एक साता नबित्दै उनले दर्जनौ मिडियाहरुमा अन्र्तवार्ता दिन भ्याएको बताउँछन् ।
बाल साहित्य पाडुलिपी पुरस्कार, पदमश्री पुरस्कार, रामराज पन्त स्मृति पुरस्कार पाइसकेका न्यौपाने निकै छोटो समयमा चर्चाको शिखरमा चढ्न सफल भएका हुन् । हरेक वर्ष दर्जनौ किताब निकालेर मदन पुरस्कारको दाबेदार हुँदै आएका लेखकहरुलाई पछारेको इटहरीका कवि हेमन यात्री बताउँछन् । आफूलाई अविश्वनीय भएको मदन पुरस्कार दिइएको विषयमा उनी यस्तो प्रतिक्रिया दिन्छन्, ‘मदन पुरस्कार यति छिट्टै पाउँछु भनेर कहिल्यै सोचेको थिइनँ । सेतो धरतीको लगालभ तेस्रो संस्करण निस्किनुले निकै हर्षित थिएँ । मेरा लागि पाठकले पढ्न रुचाउनु नै सबैभन्दा ठूलो कुरा हो ।’
सानैदेखि चित्र कोर्ने र नेपाली साहित्य पढ्ने बानी बसालेका ३५ वर्षिय न्यौपाने फाइन आर्ट पढेका छन् र आफ्नै चित्र प्रर्दशनी पनि गरिसकेका छन् । उनी पुस्तक लेख्नकै निमित्त खादै आएको जागिर पनि छोडेको बताउँछन् । विशेषतः न्यौपाने अनुसन्धान गरेर स्थलगत रिपोर्टका आधारमा लेख्ने बताउँछन्, ‘मलाई पात्रसँगको जम्काभेट, उनीहरुको क्रन्दन, हाँसो, खुसी र विचारहरु आफ्नै शब्द मिसाएर लेख्दा चित्र बनाएजत्तिकै आनन्द मिल्छ ।’
 
कस्तो छ सेतो धरती :
न्यौपानेले सात वर्षमा बिहे भएकी ताराको केही समयमा नै पतिको मृत्यु भएपछि उनले वृद्धवस्थासम्म भोग्नुपरेको जीवनको विभिन्न पाटा र उमेरलाई उनले बडो जीवन्त रुपमा उतारेका छन् । वि.सं. १९९० सालमा जन्मेकी ताराको विधवा जीवनले भोगेको कष्ट र पीडालाई एकपछि अर्को गर्दै उमेरसँगै जोडेर चित्रण गरेका छन् । तारासितै कैयन बाल विधुवाहरुको पनि मुटु हल्लिने कथा उपन्यासले समेटेको छ । यता, समिक्षकहरुले भने उपन्यास मोटो भएको आरोप लगाएका छन् । उपन्यास अन्त्य हुनुपर्ने स्थितिमा नसकेर विभिन्न भावमा बहकिएको आरोप उनीहरुको छ । यता उपन्यासको व्यर्थै मोटो भएको सन्दर्भमा न्यौपाने आफ्नो मत यसरी राख्छन्, ‘उपन्यासको विषयवस्तु थाहा पाउन भूमिका पढे हुन्छ तर पात्रको अनुभूति, संवेदना र अभिव्यञजनाहरु पढ्न उपन्यासै पढ्नुपर्छ । कारण मानव अनुभूति, संवेदना र अभिव्यजनाहरु सबैका फरक–फरक तथा शब्दमा अवर्णित हुन्छ । यसलाई अक्षरको चौघेराभित्र राख्न कठिन हुन्छ । मैले उपन्यास छोट्याउन करिब १२ हजार शब्द हटाएको छु । पात्रका अनुभूतिहरु अझै किताबमा अटाएका छैनन् ।’
 
के हो मदन पुरस्कार :
मदन पुरस्कारलाई नेपालको नोबेल पुरस्कार मानिन्छ । स्व. जबरा मदनशमशेर राणाको स्मृतिमा रानी जगदम्बाबाट स्थापित मदन पुरस्कारको घोषणा २०१२ साल असोज १० गते भएको थियो । पुरस्कार प्रदान गर्ने पहिलो घोषणा २०१३ सालमा भएको हो भने यसको वितरण २०१४ सालदेखि सुरु भएको हो । गुठीको निर्णयअनुसार प्रारम्भमा पुरस्कारको रकम चार हजार रहेकोमा स्वर्ण वर्षको अवसरमा २०६१ सालदेखि यसको रकम दुई लाख भएको छ । २०१३ सालमा पहिलोपटक ‘हाम्रो लोकसंस्कृति’का लागि सत्यमोहन जोशी, ‘जनरल भीमसेन थापा’का लागि चित्तरञ्जएन नेपाली तथा ‘अधिकविभव स्थिर विद्युत उत्पादक’का लागि बलराम जोशीले मदन पुरस्कार प्राप्त गरेका थिए ।

२०३१ र २०३३ सालमा यो पुरस्कार कसैलाई प्रदान गरिएन । रानी जगदम्बाको स्वर्गारोहणपछि निजको पुण्यस्मृतिमा गुठीले २०४५ सालमा स्थापना गरेको एक लाख रुपैंयाँको पुरस्कार जगदम्बाश्री सोही सालबाट नै वितरण भएको थियो र हाल यस पुरस्कारको रकम दुई लाख रुपैंयाँ छ । २०४५ सालमा नारायण गोपाल गुरुवाचार्यले सर्वप्रथम यो पुरस्कार प्राप्त  गरेका थिए । मदन पुरस्कार एक वर्ष नेपाली भाषामा निस्किएका उत्कृष्ट कृतिहरु मध्ये एक कृतिलाई प्रदान गरिने पुरस्कार हो भने जगदम्बाश्री नेपाली भाषा, संस्कृति, साहित्यलगायतका विविध क्षेत्रमा उल्लेखनीय योगदान पु¥याउने व्यक्ति वा संस्थालाई प्रदान गरिने पुरस्कार भएको जनाइएको छ ।

मदन पुरस्कारको शाख उर्लदो भएपनि विवादबाट बच्न सकेको छैन । लेखकहरुबाटै यसको नैतिकता र पुरस्कार वितरण प्रणालीमा विभिन्न आरोप खेप्नु परेको छ । इटहरीकी साहित्यकार शर्मिला खड्का (दाहाल) मदन पुरस्कार वितरण प्रणालीमा उचित मापदण्ड नभएको बताउँछिन्, ‘सर्वप्रथम त यो पुरस्कार के कस्ता कृतिलाई दिने भन्ने कुनै कुरा प्रष्ट छैन । कहिले प्राविधिक विषयका पुस्तकलाई पनि दिइएको हुन्छ भने विशुद्ध साहित्यिक कृतिलाई दिइएको पाइन्छ । कहिले बढी चर्चा चलेको कृति पाएको देखिन्छ भने कहिले चर्चा नचलेको तर प्रयोगको हिसाबले साहित्यमा नयाँ प्रयोग गरेको कृतिलाई दिइएको हुन्छ ।’ त्यस्तै बिराटनगरका कवि सुमन पोखरेल मदन पुरस्कार सच्चिदै गएको बताउँछन्  ‘मदन पुरस्कारले पुस्तकलाई त्यसको साहित्यिक ओजभन्दा लेखकको अपाङ्गता, मृत्यु शैयामा भए–नभएको अवस्था, कुनामा बसेर लेखेको वा उज्यालोमा बसेर लेखेकोजस्ता क्राइटेरिया राखेर विगतमा पुरस्कृत गर्ने गरेबाट मदन पुरस्कार आफैँको ओज खस्किरहेको बेलामा यसपालिको छनौटले त्यो अझ तल झर्नबाट रोकिएको छ भन्ने लागेको छ ।’
मदन पुरस्कार चर्चैचर्चाबीच विवादै विवादमा फसेको छ । यता एकचोटि मदन पुरस्कार पाएपछि लेखको  उचाई स्वतः बढ्छ जसका कारण लेखकरुलाई नै यो पुरस्कार नभई हुँदैन बताउँछन् बिर्तामोड झापाका पाठक सन्दीप निरौला, ‘नेपाली साहित्यमा मदन पुरस्कार प्राप्त गरेकालाई मात्र लेखक मानिने भ्रम छ । उनीहरुले निम्नकोटीको साहित्य लेखे पनि साफी नगर्दै लगालग छापिदिने प्रकाशन संस्थाहरु छन् । नेपाली साहित्य बिस्तारै बजारमुखी हुँदै गए पनि यसको स्तर क्रमशः खस्कदै छ ।’

सेतो धरतीले यसपालीको मदन पुरस्कार पाएकोमा तपाईं के भन्नुहुन्छ ? मदन पुरस्कारप्रति तपाईंको धारणा कस्तो छ ? मैले साहित्यमा चासो राख्ने र लेख्ने व्यक्तिहरुलाई सोधेको थिएँ । प्रस्तुत छ, उनीहरुको मत जस्ताको त्यस्तै :

घिमिरे युवराज, रङ्गकर्मी :
 गज्जब, राम्रो लाग्यो । हाम्रो पुस्ताले नै पुरस्कार पाए जस्तो लाग्यो । तर संसारका कुनै पनि पुरस्कार विवाद रहित छैनन् । मदन पुरस्कार पनि त्यसबाट अछुतो छैन ।

जीबी गजल, गजलकार : 
यसपटक वास्तवमा मदनपुरस्कार गुठीले जुन ढंगले सेतो धरतीलाई पुरस्कृत गनर्् निर्णय ग¥यो अत्यन्त सही कृतिलाई छनौट गरेको छ । अमर न्यौपानेले नेपाली समाजमा विगतमा रहेको बाल विवाहको कथा लेखेरे सम्पूर्ण नारीहरुको सम्मान व्यक्त गरेका छन् । पुरस्कार गुठीलाई लाग्ने गरेको आरोपको समेत थोरै भए पनि अन्त्य भएको छ । पुरस्कार पाउनु पर्ने कृतिहरुमा ‘लू’ पनि थियो तर सेतो धरती नै पाउनको लागि उपयुक्त थियो र पायो । यसमा हामी जस्ता साहित्यका विर्यार्थीहरु खुशी भएका छौँ ।
 
रमेश कँडेल, कथाकार : 
सेतो धर्ती उपन्यासको बिषयवस्तु विधवा नारिहरुको अन्तरकथामा आधारित भएको र यसको प्रस्तुती अत्यन्त उत्कृष्ट भएकोले पनि यो कृतिले पाउनु आवश्यक थियो र पायो । एक युवा स्रष्टाले पुरस्कार पाएकोमा पनि हामी गौरान्वित छौ । मदन पुरस्कारको बारेमा कुरा गर्दा नेपालमा स्थापित सबै पुरस्कारहरु विवादरहित छैन । तर पनि यो पुरस्कार साहित्यिक क्षेत्रको लागि नेपालको नोबल पुरस्कार हो र अहिले उसले दिन लागेको पुरस्कार अत्यन्त न्यायोचित छ ।

सुमन पोखरेल, कवि : 
’सेतो धरती’ मैले यसपाली पढेमध्येमा साहित्यको दृष्टिकोणबाट सुन्दर लागेको पुस्तकमध्ये एक हो । जहाँसम्म मदन पुरस्कार वा कुनै पनि पुरस्कारको कुरो छ, त्यो कसलाई वा कस्तोलाई दिने भनेर क्राइटेरिया बनाउने पुरस्कारदाताहरुको अधिकारको विषय हो । पुरस्कार दिँदा दाताले उचित ठह¥याइएकोलाई दिने गर्दछ, सर्वोत्कृष्टलाई हैन । दाताले उचित ठानेको पुस्तक साँच्चैमा सर्वोत्कृष्ट हुन्छ भन्ने छैन । हालसम्म मदन पुरस्कार प्राप्त पुस्तकहरु मदन पुरस्कार गुठीमा पुरस्कार माग गरेर दर्ता भएका पुस्तकहरुमध्ये गुठीले पुरस्कार योग्य ठानेका पुस्तक हुन्, तिनै पुस्तकहरु नै ती वर्षहरुका सर्वोत्कृष्ट पुस्तक भने होइनन् । मदन पुरस्कारले पुस्तकलाई त्यसको साहित्यिक ओजभन्दा लेखकको अपाङ्गता, मृत्यु शैयामा भएनभएको अवस्था, कुनामा बसेर लेखेको वा उज्यालामा बसेर लेखेको जस्ता क्राइटेरिया राखेर विगतमा पुरस्कृत गर्ने गरेबाट मदन पुरस्कार आफैँको ओज खस्किरहेको बेलामा यसपालीको छनौटले त्यो अझ तल झर्नबाट रोकिएको छ भन्ने लागेको छ ।

शर्मिला खड्का दाहाल, कथाकार : 
मदन पुरस्कार नेपाली साहित्यिक पुरस्कार मध्ये एक मात्र स्थापित र प्रतिष्ठित पुरस्कार हो । यस पुरस्कारलाई साहित्यिक जगतमा निकै चर्चाका साथ र गौरवका साथ लिइन्छ । यस पटकको पुरस्कार अमर न्यौपानेले पाउनु भएको छ । यसको लागि उहाँलाई हार्दिक बधाइ छ । यो पुरस्कार पारदर्शी र निष्पक्ष हुन्छ भन्ने विषयमा बेला बेलामा यस पुरस्कारको सन्दर्भमा भएका चर्चा परिचर्चाले यसलाई विवादरहित बनाउन सकेको छैन । सर्वप्रथम त यो पुरस्कार के कस्ता कृतिलाई दिने भन्ने कुनै कुरा प्रष्ट छैन । कहिले प्राविधिक विषयका पुस्तकलाई पनि दिइएको हुन्छ भने विशुद्ध साहित्यिक कृतिलाई दिइएको पाइन्छ । कहिले बढी चर्चा चलेको कृति पाएको देखिन्छ भने कहिले चर्चा नचलेको तर प्रयोगको हिसाबले साहित्यमा नयाँ प्रयोग गरेको कृतिलाई दिइएको हुन्छ । यस पटकको सन्दर्भमा निकै चर्चामा चलेको नयनराज पान्डेको ‘लू’ ले पाउन सकेन भने समालोचकीय प्रयोगको हिसाबले उच्चकोटीको मानिएको गोविन्दराज भट्टराईको ‘सुकरातको डायरी’ थियो भने आख्यानमा नयाँ प्रयोग गरिएको शर्मिला खडका(दाहाल)को ‘क्यानभासमा कोरिएका कथाहरु’लाई पनि लिन सकिन्छ । यस्तै डायस्पोराबाट छापिएको कथासंग्रह ‘क्यासल रककी अप्सरा’ पनि निकै उच्चकोटी कथासंग्रह थियो । यी सब बाट छानिएर अमर न्यौपाने सेतो धरतीले पाउनुमा मुल्याङ्कन समितिको आफ्नै धारणा, सिद्धान्त मुल्याङ्कन होला भन्न सकिन्छ । त्यसो त सेतो धरती कृति पनि धेरै पाठकले रुचाएको नै कृति हो । त्यसैले यसले पाउनु हुन्न भन्न पनि सकिन्न । त्यसैले मदन पुरस्कारलाई हेर्न आँखा अब फरक–फरक हुँदै गएको छ । यसो हुनाको कारण पुरस्कारको एउटा निश्चित मापदण्ड नतोकिनु पनि हो ।

भैरव आङ्ला, पत्रकार :
राम्रो कुराको राम्रो मुल्याङ्कन हुनुपर्छ । सेतो धरती मैले पढन त पाएको छैन तर पनि सत्य घटनामा लेखिएको कृति हो भन्ने सुनेको छु । त्यसैले राम्रो कृतिको सही मुल्याङ्कन हुनुपर्छ भन्ने मेरो मान्यता हो । अर्काे कुरा जुझारु युवाको यो प्रयार निरन्तर जारी रहोस् ।

सिजन नयन, कवि :
 ‘सेतो धरती’ जस्तो प्रत्येक वाक्य काव्यिक भाषामा लेखिएको आख्यान नेपाली साहित्यमा मैले ज्यादै कम पढेको छु । सायद त्यस्ता कृतिहरु लेखिएकै कम भएर हुनुपर्छ । पुरानो विषयलाई पनि अत्यन्त सुन्दर र सशक्त शैलीमा लेख्न सकिँदो रहेछ भन्ने कुराको उत्कृष्ट प्रमाण हो यो कृति । कोरा कल्पनामा नअल्झिई अनुसन्धानात्मक तवरले कृति लेख्नु उनको अर्को सफलता हो । यसरी नै कुनै पनि लेखकले आफ्नो चेतनाभन्दा माथि उठेर लेख्न सक्छ, मलाई लाग्छ । अमर न्यौपाने वास्तवमै मदन पुरस्कारका हकदार थिए । पुरस्कृत उपन्यासकार अमरलाई बधाई ।

नयाँ पुस्तक, पत्रपत्रिका पढ्न, फिल्म हेर्न अब्सेसिभ छु । केही क्रियटिभ कुरा फुर्यो भने ब्लग लेख्ने गरेको छु । तपाईजस्तै म पनि आफ्नो पहिचान र स्पेश खोज्ने योद्धा हुँ ।

1 comment: