Showing posts with label Stories. Show all posts

सत्तारुढ नग्नता

Stories

बिहानै अस्कर वाइल्डको उपन्यास ‘द पिक्चर अफ डोरियन ग्रे’लाई पुनः पाठ गर्दै थिएँ । मानिसको सम्बन्ध र त्यसका प्रभावले व्यक्तिको जीवनमा के कस्तो परिवर्तन आउँछ भन्ने शोधमा  लागेको थिएँ । त्यो भन्दा बढी मलाई लर्ड हेनरीको सिद्धान्तमा डोरियन ग्रे आफूलाई कसरी समाहित गर्छ अनि उसका दैत्य स्वभावबारे मलाई खुलस्त हुनुथियो । विद्यार्थीहरुलाई उपन्यासको भावभङ्गिमा पनि बुझाउनु थियो ।

वेश्या

Stories
कथाकार, आत्मनिष्ठूर बन्दैछु म ।

म वेश्या हुँ, यसो भन्दा मलाई कुनै हिच्चकिचाहट हुँदैन । जब म एकान्तिक हुन्छु, तब विगतका अभिव्यञ्जनाहरुले मेरो घाँटी निमोठ्न थाल्दछन् । प्रश्रव वेदनामा छटपटाइरहेकी स्त्रीझैँ म छट्पटाउन थाल्छु, आफ्नै विगतप्रति । मैले यौनजस्तो नितान्त प्राकृतिक र जैविक तत्वलाई बेचेँ, यौवनलाई पैसासँग साटेँ ।

जीवनको यो प्रहरसम्म आइपुग्दा मात्र मैले थाहा पाएँ, कुनै पनि सम्बन्ध कालजयी हुने रैन’छ । सबै सम्बन्ध फिक्का र स्वार्थले लतपोतिएका हुदाँरहेछन् । जीवन सधैँ अस्तव्यस्त, दिनचर्या सबै केरमेर । सधैँको उही दौडधुप, भागमभागमाझ यौटा यान्त्रिक जीवन व्यतीत गरिरहेकी छु म । जीवनमा भाग्य, नियति र संयोग भनेका के हुन ? मलाई थाहा छैन । तर समय एकदम निकृष्ठ हुदोँरै’छ । जसले मेरो जीवन यतिविघ्न उजाड बनाइदियो । समयको यस्तो विकराल रुप यसअघि कहिल्यै अनुभूत गरेकी थिइनँ ।


१८ वर्षको ज्यादै संवेदनशील उमेर । राम्रो लाउने, मीठो खाने, रमाइलो गर्ने लगायतका इच्छा, आकांक्षाले बाँधिएको उमेर । तर मेरो त्यो उमेर ज्यादै कष्टमय बित्यो । कति सपनाहरु सजाएकी थिएँ । साकार होलान् भनेर विश्वस्त बनेकी थिएँ । तर अफसोच म हिँडेको समयले सबै त्राहीमाही पारिदियो । खोलाको बाँध फुटेझैँ चुहिएर गए ती नवजात सपनाहरु । जीवन भनेको के हो ? म परिभाषा बुझ्दिन । तर जीवन आफ्नै छनौटमा निर्मित हुने रै’छ । के मैले आफ्नो जीवन यस्तै चाहेकी हुँ त ? अहँ किञ्चित् होइन । भनिन्छ, आफ्नो विगतलाई बिर्सिएर भविष्यको पथमा हिँड्नुपर्छ रे ! तर विगत यस्तो जटिल हुने रै’छ, जसलाई भुल्नु कसैको सामथ्र्यमा रहनेरै’नछ । मान्छेले विगतलाई भूल्यो भने इतिहास रहनेछैन, सभ्यता रहनेछैन ।


पाँचथर जिल्लाको पहाडी दुर्गम गाउँ । म त्यहीँ जन्मिएँ, हुर्किएँ । आफ्ना किशोरवयका सम्पूर्ण समय त्यहीँ व्यतीत गरेँ । परिवार गरिबीको चक्रब्यूहँमा थियो । आफ्ना खेतबारीमा उत्पादित खाद्यन्नहरु वर्षभरिका लागि पुग्थेन । सधैँ सरसापट, किनबेच पर्म गरेर बाह्र जनाको परिवार कतिञ्जेल थेग्ला र ? आर्थिक दुरावस्थाले कक्षा ८ सम्मको औपचारिक शिक्षामा नै चित्त बुझाएँ ।

सुखद भविष्यको लागि श्रीमान्–श्रीमतीको अर्थ बुझ्दा–नबुझ्दै वैवाहिक सम्बन्धमा बाँधिनुपर्यो । तर सुखद भविष्यको महत्वाकांक्षा केवल दिवास्वप्न थियो । श्रीमान् पनि आर्थिक रुपले त्यति सबल थिएनन् । तीनपुस्ताका सबै परिवारहरु एकै संगोलमा बस्तथे । सबैको फरक–फरक भान्छा र आर्थिक व्यवहार हुन्थ्यो । परिवार पूर्णतः पूख्यौली खेतिकिसानीमा आश्रित थियो । घरका आसलाग्दा पुरुषहरु सबै विदेश गएका थिए, उनीहरुको अत्तोपत्तो थिएन ।

विवाह भएको वर्षदिनपछि मैले जुम्ल्याहा छोराछोरी जन्माए । खाने अरु दुई मुखहरु थपिए । जति मेहनत गरे पनि अतिरिक्त बचत गर्न सकिएन । खेतले कमाएको खाएरै सकिन्थ्यो । त्यसमाथि साहूबाट ऋण लिइरहनु पथ्र्यो । आफ्नो नियतिप्रति आजित भएका श्रीमान्ले भने, “मिग्नोन, कति दुःख गर्नु यसरी ? सधैँ साहूको ऋणले जिन्दगी थलिने भयो । अब दुई÷तीन वर्ष विदेश पो भासिनुपर्छ क्यार ! तिमी घरव्यवहार सम्हाल है । उताबाट फर्किए’सी छोराछोरी पढाउनुपर्छ । सानोतिनो व्यवसाय गर्नुपर्छ ।” उनी यौटा दूधालु बालकजसरी टाँसिएका थिए त्यो रात । यसअघि कहिल्यै गम्भीर बनेका थिएनन् । उनको त्यो सामिप्यतालाई मैले नकार्न सकिन, आफ्नो स्वीकारोक्ति दिए । तथापि हामीसँग त्यत्रो पैसाको जोगाड थिएन । गाउँमा दूई साहूबाट असी हजार सयकडा पाँच रुपैयाँका दरले ऋण खोजेर उनलाई विदेश उडाएँ ।


केही महिना फेरि उही एकान्तिकपन । उनको अनुपस्थितिमा धाराप्रवाह समय कटान हुन्थेन । विछोडको त्यो प्रश्रवक्षण एकदमै क्लिष्ट भए । म अग्नीदहमा जलिरहैँ । औडाह हुन लाग्यो । अत्याधिक यौन चाहनाले चौतर्फी तड्पिन थालेँ । २४÷२५ वर्षको उमेर हुदोँ हुँ । त्यो उमेरमा विवाह गरेका स्त्रीलाई अचाक्ली यौनचाहना हुने रै’छ । म पलापला यौनआवेगले घायल हुन्थेँ ।

दिनमा छोराछोरीको हेरचाह, घरायसी काममा व्यस्त हुन्थे तर रातमा नितान्त एक्ली हुन्थेँ । विभिन्न यौनजन्य अनुभूतिहरुले सताइरहन्थ्यो । ओछ्यानको चौघेरामा कुनैपनि पुरुषलाई स–शरीर पाउनथेँ । त्यो समय आगोले पोलेझैँ पोल्थ्यो । म छट्पटाउन थाल्थेँ । श्रीमान्को याद अचाक्ली आउँथ्यो । धेरै समय आत्मरतिमा खर्चिए तर त्यो सबै अप्राकृतिक लाग्न थाल्यो । झन् तड्पन दिन्थ्यो । जथाभावी यौनसम्पर्क राख्नु समाजमा महिलाका लागि चरित्रहीन कार्य हो । समाजले वर्जित गरेको कुरामा मैले विद्रोह गर्नु मूर्खता हुन्थ्यो । अन्ततः केहीगरी मभित्रको ज्वार शान्त हुन सकेन ।


घाँसदाउरा, पानीपँधेरो, वनजङ्गल आउँदा–जादा म सदैव यौटा मान्छेलाई देखिरहन्थेँ । ऊ ‘मधेसतीर ट्रक चलाउँछु’ भन्थ्यो । ऊ जहिल्यै चौतारीमा बसेर मलाई यन्त्रवत् हेरिरहन्थ्यो । अग्लो, श्यामवर्णको बलिष्ठ थियो ऊ ।

एकदिन, त्यसैगरी ऊ चौतारीमा सुस्ताएको थियो । म आफ्नो घाँसको भारी बिसाउने बहानामा चौतारीतर्फ गएँ । एकछिन आरामको सास फेरेँ । उसले मलाई ‘पानी खान्छौ ?’ भनेर आफ्नो हातको बोतल दियो । मैले एकै सासमा पिएँ । उसले मलाई चाउचाउको यौटा पोको पनि हातमा थमाइदियो । मैले धन्यवाद दिएँ ।

त्यतिखेर हाम्रो कुनै औपचारिक संवाद भएन । तर त्यसपछिका दिनहरुमा हामी गाढा रंगझैँ नजिकियौँ । ऊ हाम्रो घरदेखि दूई÷चारघर पछाडि आफ्नो साथीकोमा बस्थ्यो । म लुकिछिपी उसलाई भेट्न जान्थेँ । हामी प्रशस्तै ठट्टा गर्दथ्यौँ । कहिलेकाँही हामीबीच गम्भीरप्रकृतिका गफ पनि हुने गर्दथे । फुर्सद हुनासाथ बहाना बनाएर विद्यालयको मैदान, खेतबारी, भीरपाखामा भेटेर घण्टौं कुरा गर्दथ्यौँ ।

एकदिन उसले मलाई ठट्टा गर्दै जिस्कायो, “मिग्नोन, कतिञ्जेल यो बुढा नभएको घरमा एक्लै बसिरहन्छ्यौ ? न्यास्रो लागेको छैन ? मसँग जान्छ्यौ ?”

मेरो उत्तर के हुनुपर्ने ? के उसको यो दृष्टताप्रति म प्रतिकार गरुँ ? अहँ, म त्यसरी प्रस्तुत हुन सकिनँ । उसको सहवास मलाई असीम लाग्न थालिसकेको थियो । मैले हठात् भनेँ, “मलाई कहाँ लान्छ्यौ नि ?”

ऊ छिलिएर भन्यो, “तिमी जहाँ भन्छ्यौ त्यहीँ लान सक्छु । आखिर सीप भा’को ड्राइभर हुँ । जहाँ लगेर नि तिम्लाई पाल्न सक्छु ।”

“त्यसो भएँ गइदिम्ला नि !” मेरो जिब्रो चिप्लियो । तत्क्षण मलाई पश्चताप भयो । श्रीमान्सँगको त्यत्रो वाचा–कसम कसरी यति छिटो बिर्सिएँ ? म यो के गर्न खोज्दैछु ?

“अनि तिम्रा छोराछोरी नि ?” उसले हतप्रभ भएर यक्षप्रश्न गर्यो ।

मैले ठट्टा गर्दै भने, “ति कहाँ मेरा छोराछोरी हुन् र ? उनीहरुका बाउका पो हुन् त । हामी फेरि पाम्ला नि !” अब मलाई कुनै संकोच भएन । ऊसँगको ख्यालठट्टा र भाग्ने तिकडमले मलाई नूतन अनुभूति मिलेको थियो, जसलाई गुमाउनु भनेको विरासतलाई अँगाल्नु सम्झिएँ ।

त्यसपछिका हाम्रा समय भाग्ने र भगाउने ठट्टामा केन्द्रित भए । हामी अक्सर जङ्गलमा जान्थ्यौँ । म रुखमा चढेर स्याउला झार्थें ऊ भुइँमा बटुल्थ्यो ।

एकदिन, आकाश कालोनिलो भएर धुमल्लिएको थियो । गुँडतिर लागेका चराचुरुङ्गीका आवाज एकदम कर्कश सुनिन्थ्यो । जङ्गलको भित्री भाग अँध्यारो भइसकेको थियो । उसले मलाई सुस्तरी आफ्नो बाहुपासमा खिच्यो । खेलौनाजसरी म उसको काखमा बसेँ । त्यसपछि के–के भयो मलाई थाहा छैन । उसले मेरो प्रथम चरणको तिर्खा मेटाइदियो ।

अब म उसलाई छोड्नै नसक्ने भएँ । हामी एकाविहानै त्यो गाउँबाट भाग्यौँ ।


कथाकार, मानिसको जीवनमा दुःख कदापि घट्नै रै’नछ । जहाँ गए नि दुःख, मात्र स्वरुप बद्लिने । के जीवनको प्राप्ती दुःख नै हो त ? कि केहो ?

भागेर पूर्वको विर्तामोड आएपछि हाम्रा दिनरातहरु सुखपूर्वक बित्न लागे । मलाई प्यासको अनुभूति हुन्थेन, मेरै बाजुमा बडेमानको धारा थियो ।

ऊसँग भागेर विर्तामोड आए पनि मलाई घरको सम्झनाले साह्रै पिरोल्न थाल्यो । फुल्दै गरेको कोपिलालाई जो म निमोठेर आएकी थिएँ । आफ्ना छोराछोरीको सम्झनाले अत्याधिक डस्न थाल्यो । मैले तिनलाई नौं महिना गर्भमा राखेर हुर्काएकी थिएँ । जे भए नि, ती मेरा रगत थिए । आफ्नो रगतको मायाजस्तो अरु केही हुन्न रै’छ । अब म घर फर्किएर जान सक्ने कुनै अवस्था थिएन । म पोइला गएपछि श्रीमान्ले छोराछोरीको हेरचाह गर्ने व्यवस्था मिलाएछन् । साथीले भेटमा भनेकी थिई, “त्यो रण्डीलाई भेटूँ न, जिउँदै जलाइदिन्छु । त्यसले सबै बर्बाद पारी ।” उनको त्यो आवेगले मलाई झन् डर पैदा गरायो । जुन स्वभाविक पनि थियो ।

कथाकार, यदि तिम्री स्वास्नी कोही परपुरुषसँग सुतेको देख्यौ भने के गर्छौ ? भलै, तिमी नारीवादी कथाकार भएपनि तिम्रो हृदय कठोर बन्नेछ । त्यतिखेरै तिम्री श्रीमती पराई हुनेछे । तिमी उसलाई गलात्याएर घरबाट निकाल्नेछौ । कथाकार, यसमा तिम्रो दोष हुनेछैन । नारीहरु भनेका पुरुषका सम्पत्ति हुन । एउटाको सम्पत्ति अर्काको हुनै सक्दैन । नारीको धर्म भनेको पुरुषको हेरविचारमा आफूलाई समर्पित पार्नु, उसको यौनआवेगलाई शान्त पार्नु, छोराछोरी गर्भमा हुकाईदिनु र सन्तोषको सास फेर्नु हो । यही छ तिमीले बसालेको सामाजिक मान्यता, जसको परिपालना तिमीले पनि गर्नैपर्छ ।


जसरी मौसम परिवर्तन हुन्छ, त्यसरी ड्राइभर पनि परिवर्तन हुन थाल्यो । अब ऊ पहिलेजस्तो रसिक रहेन । ऊ दिनानुदिन रक्सी खाएर मसित झगडा गर्न थाल्यो । मलाई हप्काउने, तर्साउने, कुट्ने क्रियाकलाप उसका लागि किम्ती भए ।

म भन्थेँ, “म तिम्रा लागि सबै खुसी त्यागेर आएँ । मलाई यस्तो अन्याय गर्न मिल्छ ?”

ऊ भन्थ्यो, “त झिँगे मैले भन्नेबित्तिकै आउनुपर्छ ? भन, अब कोसित भाग्छेस् ?”

म चुपचाप रहन्थे । सबैभन्दा ठूलो गल्ती मैले गरेकी थिए, एकदुई दिन हेलमेल हुनेबित्तिकै यत्तिको खतरा मोल्नु हुन्थेन । अनायासै मैले आफूलाई सम्हालेँ ।

जसरी नि जीवन त चल्नुपर्छ । अब बाँकी जीवनलाई सफलतापूर्वक गन्तव्यमा पुर्याउनुपर्छ । मैले परिस्थितिसँग सम्झौता गरेँ ।

एकदिन, सानोतिनो निहुँमा ऊ रिसाएर, “जेसुकै गर है । म चैँ हिँडे ।” भनेर घरबाट निस्कियो । हप्ता बित्यो, महिना बित्यो तर ऊ फर्किएन । यता, घरबेटीले कोठा भाडा मागेर किचकिच गर्नथाल्यो । मसित भाडा तिर्ने पैसा थिएन । न त काम गर्ने कुनै सीप नै । मैले काम खोज्न थाले । यौटा होटलमा भाँडा माझ्ने काम पाएँ ।

भाडा माझेर महिनाको ८ सय हुन्थ्यो । करिब महिनादिन कामगरेपछि मेरो हातखुट्टा पानीले खायो । दिनभरी पानीमा भिज्नाले बिरामी हुदै गएँ ।

एकदिन होटल मालिकले काउण्टरमा बोलायो ।

“तिमीलाई भाडा माझ्न गाह्रो भएजस्तो छ । के तिमी वेटरको काम गर्छ्यौ ?” उसले भन्यो, “तिमी राम्री पनि छ्यौ । अझ मेहनत गर्यौ भने राम्रो पैसा कमाउछ्यौ ।”

म निशर्त तयार भएँ । मैले सोचेँ, ग्राहकले मागेको माछा, मासु, रक्सी र बियर तुरुन्त पुर्याइदिनुपर्छ होला, तब ग्राहक पनि कसो खुसी नहोला र ? तर मैले सोचेविपरित रहेछ । एकछिनमा यौटा मोटो, मातेको, घीनलाग्दो मान्छे आयो । मसित एक प्याक रम माग्यो । मैले काउण्टरबाट तुरुन्त लगिदिएँ । उसले मलाई रम खान कर गर्यो । मैले मानिनँ, कहिल्यै खाएकी थिइनँ । यतिकैमा उसले मलाई जबरजस्ती गर्न थाल्यो । त्यसपछि मेरो हातमा एक हजार राखिदिएर गयो । पछि साहूले ‘कति पैसा दियो भनेर सोध्यो ।’ मैले यथार्थ कुरा बताए । उसले मलाई पाँच सय दियो र आफू पाँच सय राख्यो ।

म महिनाको आठ सयमा भाडा माझ्न बसेकी । दिनमै पाँच सय कमाएपछि हर्षित भएँ । भाडा माझ्नुजस्तो गाह्रो काम पनि थिएन । मैले त्यही पेशालाई अँगाल्ने निधो गरेँ । तर मनको एक कुनामा डर लाग्थ्यो । जसलाई मैले महसुस नै गर्न सकिन । अन्ततः म यौनकर्मी महिलामा परिणत भएँ । वेश्या बनेँ ।


केही महिनापछि मेरो आसन्न भेट यौटा अनौठो ग्राहकसँग भयो । ऊ राजनीतिक नेताजस्तो देखिन्थ्यो । जहिल्यै आफ्ना साथीहरुसँग रक्सी खाना आउथ्यो । उनीहरुबीच राजनीतिक चर्काचर्की परिरहन्थ्यो । उनीहरु माओ, लेनिन, चे–ग्वेवाराका प्रसङ्ग निकालिरहन्थे । माक्र्सवाद र समाजवादका कुरा गरिरहन्थे ।

एकदिन, नेता एक्लै आएको थियो । उसले मलाई यौटा क्याबिनमा बोलायो । ऊ भन्थ्यो, “तिमीहरुको हितमा अब नियम/कानुन बन्नुपर्छ बुझ्यौ ? तिमीहरु यो पेशामा लाग्नु कुनै रहर हैन, बाध्यता हो । अब रेडलाइट एरिया तोकिनुपर्छ, जसबाट तिमीहरुले निर्धक्क आफ्नो व्यवसाय चलाउन सक्छौ ।” यस्ता कुरामा मलाई कुनै दिलचस्पी थिएन । म केही प्रतिउत्तर दिदैनथिएँ ।

म त्यो रात उसैसँग सुते । विहान उठेर उसले भन्यो, “मसँग हिँड । म तिमीलाई यहाँकोभन्दा डबल दिन्छु ।” म तत्क्षण जान तयार भएँ ।


नेताले मलाई इटहरी ल्यायो । इटहरी सहर विर्तामोडको तुलनामा ज्यादाँ भीडभाड थियो । धेरै विकसित पनि लाग्यो । उसले मलाई यौटा गेष्ट हाउसमा राख्यो । बजार लगेर उसले मलाई थरिथरिका फेसनदार कपडाहरु खरिद गरिदियो । ऊ भन्थ्यो, “मेरी श्रीमती विदेशमा छे । दुई छोराछोरी काठमाण्डूमा क्याम्पस पढ्छन् । तिमी मेरी सहयोगी बन । म पार्टीको कामले विभिन्न ठाउँमा गइराख्नुपर्छ, तिमी पनि मसितै हिँड । म तिम्लाई सोचेको भन्दा धेरै पैसा दिन्छु ।” मैले सहमति जनाए । मलाई लाग्यो, होटलमा दुनियाँसँग सुतेरबस्नुभन्दा त यो यौटेसँग सुत्न बेस हुन्छ ।

उसले मलाई आफ्नी स्वास्नीझैँ बनाएर राखेको थियो । मैले चाहेका, खोजेका तमाम कुराहरु मेरो अगाडि राखिदिन्थ्यो । मलाई मोटरसाइकलमा राखेर विभिन्न सहर तथा पार्कहरु घुमाउँथ्यो । उसको यौटै सर्त थियो, ऊसँग रातभरी सुत्नुपर्ने, जुन कार्य मेरो लागि गाह्रो थिएन ।

एकदिन म उठ्नमा विलम्ब भयो । म उठ्दा ऊ कोठामा थिएन । उसका सरसामानहरु पनि थिएनन् । मैले सारा वृतान्त म्यानेजरलाई सुनाएँ, उसले मलाई दया देखाएर त्यही बस्न आग्रह गर्यो ।

त्यहाँ ठूल्ठूला भुँडी भएका मान्छेहरु आउने गर्दथे । सायद ति सरकारी कर्मचारी थिए क्यार । मैले कहिल्यै सोध्ने आँट गरिन । मैले उनीहरुलाई खुसी परिदिनुपथ्र्यो, उनीहरुको यौनकामना पूरा गरिदिनुपथ्र्यो । गेष्टहाउसमा यस्ता थुप्रै गोप्य कोठाहरु थिए, जहाँ खुल्लमखुल्ला यौनजन्य कारोबार हुन्थ्यो । दिउँसै यौनसम्पर्कको काम हुन्थ्यो । त्यहाँ मजस्ता थुप्रै यौनकर्मी महिलाहरु थिए । दिनमा मेरो भागमा ३/४ जना पुरुषहरु पर्ने गर्दथे । म मूर्तीवत् सुतिदिन्थे । उनीहरु मेरो शरीरमा ताण्डव नृत्य गर्थे । यसरी नै मेरो दिनचर्या व्यतीत हुनथाल्यो । पछि कुरा बुझ्दै जाँदा थाहा पाएँ, त्यो नेता त पेशेवर दलाल पो रहेछ । यसरी जाल फिँजाएर, ऊ यौनकर्मी महिला गेष्टहाउसलाई ल्याइदिदो रहेछ ।


यहाँ मजस्तै थुप्रै दुखित बेसाहारा महिलाहरु छन् । उनीहरुका आ–आफ्नै कथाहरु छन् । कोही आफ्नै बाबु र दाजुबाट बलात्कृत भएर घर छोडेर हिँड्नेहरु छन्, कोही आफ्ना छोराछोरीको पालनपोषण/पढाइखर्च जुटाउने आमाहरु छन्, कोही धनी बाउका बिग्रेका छोरीहरु छन् । यिनिहरु सबैका कथा तिमीले लेख्नुपर्छ, कथाकार ।

हामीलाई सेना र पुलिसले अचाक्ली सताउँछन् । हाम्रो जीउधनको सुरुक्षा गर्नुपर्ने दायित्व बोकेकाहरु हामीलाई नै लुट्न पछि पर्दैनन् । उनीहरु हामीसँग सुतेर पैसा नतिरी गाली गरेर हिँड्छन् । कतिले हाम्रा थुनचोलीमा राखेका पैसाहरु जबरजस्ती खोस्छन् । कसलाई भनूँ कथाकार यो व्यथा ? – कि यसले मसँग सुतेर पैसा दिएन ! के यिनिहरुलाई कानुनीरुपमा तह लगाउने केही आधार छैन ?

कथाकार, म यौनव्यवसायमा लागेको १० वर्षभन्दा बढी हुन लाग्यो । अब त रजनोवृत्तिको अवस्थामा नि प्रवेश गर्न लागे । शरीरका सम्पूर्ण अवयवहरु खोक्रो भइसकेँ । पुरुषहरु खै के पाउँछन् कोनि यो शरीरबाट ? पहिले–पहिले म यो पेशाबाट मातिएकी थिएँ तर यो कालान्तरमा आफैँलाई घृणा लागेर आयो । तर विकल्प केही छैनन् मसित । यौन व्यवसाय कदापि रहर बन्न सक्दैन । परपुरुष र परस्त्रीगमन कहिल्यै रहर बन्न सक्दैन । यो यौटा बाध्यता हो । सरोकारवालाहरुले यौनकर्मी महिलाहरुलाई जागीरको व्यवस्था गरिदिनुपर्यो कि त अन्य उपाय दिनुपर्छ । यदि यसो गर्न सकिएन भने जसरी नि यौनकर्मी महिलाको संख्या बढ्दै जान्छ । किनकी यो परापूर्वकालदेखि चलिआएको गोप्य थिति हो । जसरी नि चल्छ, चल्छ ।


कथाकार, जीवनमा मैले कहिल्यै प्रेमको पूर्ण प्रत्याभूति पाउन सकिन । केही न केही कमि रहिरह्यो । थुप्रै पुरुषहरु मेरो शरीरमा उफ्रिए, आफ्नो विषाक्त वीर्य फ्याके । तर ती केवल यौनतृप्तीका लागि थिए, प्रेमका लागि कदाचित् थिएनन् ।

अहिले छोराछोरीको खुब याद आउँछ । उनीहरुका आमा होइन् म । आमा हुदीँ हो त उनीहरुको पालनपोषण गरेर बस्थेँ । संकटमा साहारा दिन्थेँ । मैले यौनरापमा आमाको सबै दायित्वलाई मेटाइदिए । अब आमा भन्ने छैनन् उनीहरु । उनीहरुका नजरमा गिरेकी आईमाई भएकी छु । सुन्दछु, श्रीमानले अर्की विवाह गरेका छैनन् रे । घर फर्किएर जादाँ उनले स्वीकार गर्ने सवाल नै उठ्दैन । फेरि कुन मुखले घर फर्किनु ? एउटी वेश्याले सबैलाई सन्तुष्ट पार्छे तर ऊ कदापि सन्तुष्ट हुन सक्दिन । ऊ भित्रभित्रै सीसाझैँ टुक्रिन्छे, सबैको आर्दश नजरबाट गिर्छे, नम्नकोटीको वस्तु बन्छे ।

अब त जीवनलीला पनि समाप्त हुनेबेला भयो । बेसै हुनेछ, यो समाजबाट यौटी वेश्या घट्नेछे !

रातो भोटो

Stories
“बाबा हजुरको ‘वेडिङ्ग एनिवर्सरी’मा यै सुट लगाइस्योस् है !”

“हुन्छ छोरी । बरु मम्मी पो के लगाउँछिन् नि ?”

“ह्या, उहाँको टेन्सन किन लिइसिन्छ ? मैले अघि नै चुज गरिदिएकी छु ।”

छोरी अनुकृति हाम्रो निक्कै ख्याल राख्छिन् । हरेक क्रियाकलापहरूमा हामीलाई निर्देशित गर्छिन् । जब–जब हाम्रो विवाहको वर्षगाँठ आइपुग्छ तब यिनले विगतका सम्झनाहरू ताजा गरिदिन्छिन् । विगत दोहोरिन्छ सुखान्त चलचित्र बनेर । अनि सम्झनाहरूका ओइरो लाग्छन् यी मानसपटलमा । यसकारण विगतको सान्निध्यता वर्तमानमा रहँदा विगतलाई कहिल्यै भुल्न नसकिने रहेछ ।

अनुकृति हाम्रा लागि अमूल्य उपहार, कहिल्यै नमागेको वरदान जसलाई हामीले कदापि मागेका थिएनौ । अर्थात् एउटा अमूल्य प्राप्ति अनुकृति । ईश्वरले हाम्रो हातमा थमाइदिए । मैले निःसन्देह ग्रहण गरेँ । हामीलाई के थाहा र उनीसँगै यत्रा खुशीहरू ओइरो लाग्छन् भनेर ।

म विगत सम्झिदै वर्तमानसँग समीक्षा गरिरहेको हुन्छु । उनी दराजमा पट्याएर राखिएका लुगाफाटाहरू खोतल्न थाल्छिन् । आफ्नो सबैभन्दा पुरानो रातो भोटो निकालेरे सुम्सुमाउन थाल्छिन् । त्यो रातो भोटोले हाम्रो विगत फेरि चलायमान गरिदिन्छ । फेरि नाच्न थाल्छन् मानसपटलमा सम्झनाका रिलहरू ।

–०–०–०–


बस हिँड्न थालिसकेको थियो । म हतार–हतार गर्दै बसमा चढेँ । सायद बिहानीको ४ बजेको हुनुपर्छ । अँध्यारोको साम्राज्य हटेको थिएन । बसभित्र जेरो वाटको बत्ती बलिरहेको थियो जसको प्रकाशले मान्छेको अनुहार चिन्न पनि मुश्किल पथ्र्यो । अरू केही वास्ता नगरी म आफ्नो सिट खोज्न थाले, टिकटमा सिट नं. ७ लेखिएको रहेछ ।

सिटको झ्यालपट्टि कोही गर्लाम्म मजेँत्रो ओढेर सुतेजस्तो लाग्यो । यता बसको म्यूजिक सिस्टममा पुरानो सुमधुर हिन्दी गीत ‘आ ! कहि दूर चले जाए हम...’ झङ्कृत भइरहेको थियो । मेरो प्रिय गीत जसलाई धेरै समयपछि सुनेको थिएँ, किशोरअवस्थामा खुब गुन्गुनाउने गर्दथेँ । म सुस्तरी बसको सीटमा बसेँ । छेऊको मान्छेको निद्रा खल्बलाउन चाहिनँ ।

–०–०–०–


बस लहानमा रोक्यो यात्रीहरूलाई खाजा र चियापान गराउन । मेरो तन्द्रा खुलिसकेको थियो । कतिखेरै भुसुक्कै भएछु गीतको ध्वनिसँगै । अघि सीटमा देखेको मान्छेलाई हेरेँ । छोटो मिनिस्कर्ट र कालो लेगीज लगाएकी सायद १८ वर्ष नकटेकी युवती एउटा नवजात् शिशूलाई कोक्रोजस्तो ब्यागमा राखेर सुतिरहेकी थिई । बच्चा पनि उसको छातीमा टाँसिएर मस्तसँग निदाइरहेको थियो । मैले उसलाई अझ गहिरिएर हेरेँ । गोरो अनुहार, आँखीभौँ उखेलेर मसिनो बनाइएको, कानमा ठूला–ठूला टल्कने ‘इयररिङ्ग’ लगाएकी थिई । गालामा बेस्सरी दलिएको पाउडर र क्रिमको टाटो प्रस्टै देखिन्थ्यो ।

“लौ है ! खाजा खान सबैजना उत्रिऔं ।” खलासीको आवाजसँगै ऊ पनि जागी । मलाईँ अचम्म मान्दै एकटकले हेरी । मैले उसको बच्चातिर नजर लम्काएँ । मैले त्यसरी नियालेको देखेर ऊ मतिर हेर्दै मुसुक्क हाँसी । अनि लख काटेँ, “यो बच्चा यसकै रहेछ ।” ऊ ब्यागबाट दुधको बट्टा झिक्दै थिई । मचाहिँ बाहिर निस्किए खाजापान गर्न ।

–०–०–०–

“दाई, एकछिन यसलाई समाइदिनु न । म खाजा खाएर आउँछु, सार्है भोक लाग्या छ ।”

“ए, भैहाल्छ नि ।”

“थ्याङ्क यू”

“हैन ठिकै छ ।”

म खाजा खाएर बसभित्र छिर्नासाथ उसले यस्तो अनुरोध गरेकी थिई । मैले उसको बच्चा बोकेँ । ऊ हिल बजाउँदै बस बाहिर गई ।

बच्चा चिम्सा आँखाले मलाई निशब्द हेर्दै थियो । मैले टाउँको हल्लाउँदै उसलाई बोलाउन खोजेँ । सायद उसलाई बोक्न जानिन होला । मसिनो आवाज निकाल्दै रुन थाल्यो । मैले तत्कालै दूधको बोतल उसको मुखमा हालीदिएँ । ऊ चुप लागेर दूध पिउन थाल्यो ।

–०–०–०–


ऊ बसभित्र छिरेर आफ्नो बच्चालाई दूध खुवाउँदै थिई । बस जङ्गलको बाटो भएर दौडिरहेको थियो । बसका केही यात्रुहरू दिउँसै मस्त निद्रामा थिए । कोही–कोही झ्यालबाट चियाउँदै बाहिरको दृश्य हेरिरहेका थिए ।

“यो तपाईकै बच्चा हो ?”

“मेरो नभएर कस्को हुन्छ त ?”

“अनि यति सानो उमेरमा बच्चा ?”

“के सानो उमेरमा बिहे गर्नुहुँदैन भनेर कुनै शास्त्रमा लेख्या छ र ?”

“हैन त्यस्तो । स्वास्थ्यको हिसाबले जोखिम हुन्छ नि !”

“खै म हेल्दी नै छु त ।”

“मेरो प्रेम विवाह भएको हो । श्रीमान् काठमाण्डुमा हुनुहुन्छ । अहिले उहाँलाई भेट्न जान लाग्या ।”

“ए ठिकै छ । छोरा हो कि छोरी ?”

“छोरी हो ।”

ऊसँग अरू थप कुरा गर्न मन लागेन । उसको रुखोपनाले मलाई बोल्न विकर्षित गरायो । यस्तो सोचेँ, सबैलाई गोपनीयताको अधिकार हुन्छ, म किन त्यसलाई खोसूँ ? म एकाधिकारी मनस्थितिको मान्छे होइन । सबैको आफ्नै जीवन हुन्छ, त्यसै अनुकूल सबैलै जिउँछ पनि । मलाई किन चासो ? बरु औपचारिकतामा मात्र सीमित रहनु बेस ।

त्यसो त म एक विद्यार्थी थिए एउटा एनजिओको डाइरेक्टर भएर काम गर्दै आइरहेको थिएँ । बहिनीको विवाहको लागि आफ्नो घर आएको थिएँ । अफिसमा धेरै काम भएकोले मलाई काठमाण्डू जान दौडाहा भएको थियो ।

–०–०–०–


हाम्रो अन्तिम गन्तव्य काठमाण्डौं बसपार्कमा बस बिसायो । सबै यात्रुहरू उत्रिन लागे । एक त पुसको महिना, एकदमै जाडो थियो । ५ बजे नै अँध्यारो भइसकेको थियो । ऊ पनि बसबाट उत्रिन लागी । मैले उसको लगेज बोकिदिएर सहयोग गरेँ । एकदमै भारी थियो, खै के थियो कुन्नी ? सायद दाल, चामल हुदोँ हो । ऊ पनि बच्चालाई समातेर बसबाट झरी ।

“एकछिन बच्चीलाई समातिदिनुहोस् न प्लिज ?”

“फेरि किन नि ! मलाई हतार छ ।”

“प्लिज ! म यसको बाबालाई फोन गरेर आइहाल्छु । हामीलाई लिन आउनुहुन्छ ।”

“त्यसो भए छिटो पुगेर आऊ ।”

“खै त्यो लगेज दिनु त । एकजना आफन्तको हो, अब पुर्‍याइ दिनुपर्छ । अनि त्यहीँबाटै हजबन्डलाई फोन गर्छु ।”

–०–०–०–


साँझको साढे ७ बज्यो तर ऊ फर्किन । म बसस्ट्याण्डको विश्रामलयमा बसिरहेको थिएँ । पर्खदा–पर्खदा १० बज्यो तर पनि ऊ फर्किन । मेरो मन चिसिन थालिसकेको थियो । एउटा अनौठो घटना जस्तो लाग्दै थियो । मैले उसको हाते ब्याग खानतलासी गरेँ । ब्यागभित्र सिँगारपटारका समाग्रीहरू रहेछन् । ब्यागको भित्री गोजीमा एउटा पत्र रैछ । पत्रमा यसो भनेर लेखिएको थियो–


अपरिचित महोदय,

मलाई थाहा छैन म कस्तो पाइला चाल्न आँटिरहेकी छु । तपार्इँको काखमा रहेको बच्चा मेरो नाजायज सम्बन्धको परिणाम हो जसबाट म सधैँको लागि छुट्कारा पाउन चाहन्छु । अब म पढ्नको लागि टाढा जाँदैछु । त्यसैपनि म स्वतन्त्र हुनुपर्छ । यो बच्चीलाई जे गर्नुहुन्छ, अब तपाईको मर्जी । मेरो पापी श्रीमानको कहिल्यै भलो हुनेछैन जसले मलाई यत्रो दुःख झेल्न बाध्य गरायो । मेरो पापकर्मप्रति म लज्जित छु । कृपया मलाई खोज्ने कोशिस नगर्नुहोला ।

उही अपरिचित केटी


पत्र पढ्नासाथ म पसिनै पसिनाले भिजेँ । मेरो हृदयको धड्कन एक्कासि बढ्यो । म एक अविवाहित पुरुष, यसलाई कसरी पाल्न सक्छु ? म यसको को हुँ र ? मलाई के दायित्व ? म दोबाटोमा अल्मलिएको बटुवा जस्तो भएँ । आजकलका तन्नेरीहरू साँच्चै उत्तरआधुनिक भईसकेछन् । यो युगमा अब माया, ममता भन्ने पनि परिवर्तित भइसकेछ । अब अमर प्रेम रहेनछ, सम्झौताले डसेछ । ममता त केवल तिर्खा मेटुञ्जेलका लागि जीवित भएछ । वर्तमान र भविष्यका तीखा काँडाहरूले ममताको आकारलाई, मूल्यलाई, अस्तित्वलाई कुरुप बनाई सकेछ । मान्छे अब साँच्चै मशिन नै बनिसकेछ । चेतनालाई बोतलमा हालेर समुद्रमा बगाइदिएछ । नौं महिनासम्म गर्भमा बोकेर आखिर अन्त्यमा चट्क्कै छोडेर लापत्ता हुनु थियो भने किन पहिल्यै उसले भ्रुणहत्या गर्न सकिन ? यसरी नाटकीय रूपमा बच्चा छोड्ने योजना बनाउन सक्नेले किन यसलाई कर्म दिन सोचिन ? रोमान्सको नशाले यिनीहरूलाई अन्धो नै बनाएछ, कस्तो षड्कोणात्मक मगज । म पूर्णतः थाकेँ छद्मभेषी नियतप्रति । मेरो हृदय अग्नीकुण्डमा जलिरह्यो । यस्तो पापकर्मको भागीदार किन यो बच्ची हुने ?

–०–०–०–


“के गदै हो बाउ छोरी ? लिनुहोस् चिया”

कोठामा श्रद्धाको प्रवेश हुन्छ । उनको त्यागप्रति म सदैव कृतज्ञ छु । यदि उनी नभैदिएको भए परिवेश अर्कै हुने थियो । म त समस्या सिर्जना गर्ने पुरुष थिएँ तर उनी समस्या दूर गराउने नारी थिइन् । यिनको देन र मप्रतिको प्रेमलाई कहिल्यै भुल्नुहुँदैन ।

श्रद्धा मेरी आराध्यदेवी हुन् जसलाई म सदैव पूजा गर्छु किनकी अनुकृतिको फूलजस्तो मुस्कान रोप्ने उनी नै हुन् । ती कलिला ओठहरूमा तोतेबोलीको ध्वनि प्रसारण गराउने, मलाई जीवनको मूल्य सिकाउने, रहरहरूका बिरुवा उमाने, जीवन यात्राको लागि सपनाहरू बुन्न सिकाउने, अव्यवस्थित तृषित हृदयलाई तृप्त गराउने उनी नै हुन् अनि मायालु स्पर्शहरूद्वारा मेरो जीवन सुखमय बनाउने उनी नै हुन् । हे ! देवी तिमीसँग जन्म–जन्म सँगै रहन पाऊँ । म यही प्रार्थना गर्छु ईश्वरसँग ।

–०–०–०–


त्यसरात करिब ११ बजेसम्म उसलाई कुरेर बसिरहेँ तर ऊ अझै पनि आइन । सडकमा मान्छेहरू पातलिँदा थिए । त्यसपछि म ट्याक्सी चढेर आफ्नो डेरा बसुन्धारा आईपुगेँ बच्चीलाई साथैमा लिएर ।

अनिर्णयका घण्टीहरूले मेरो सुक्ष्म मगजलाई भ्राइब्रेट दिइरहेका थिएँ । मैले अर्थपूर्ण निर्णय लिनै सकिरहेको थिइन । कोठामा पुगेर बच्चीलाई कसरी सुताउने केही ज्ञान थिएन । सायद् अप्ठ्यारो भयो होला रुन थालिन् । मेरो चिया खाने बानी पनि थिएन, दूध राख्दिनथेँ । अझ घरबाट भर्खर आएको थिएँ यो सम्भव पनि थिएन । बच्चा रोएको सुनेर श्रद्धा मेरो कोठामा आईपुगिन् । उनले मेरो हातमा बच्चा देखेर तीनछक्क परिन् । उनी गोरखाको पालुङ्गटारबाट पढ्न भनेर काठमाण्डौं आएकी थिइन । भर्खरै स्नातक तहमा पढ्दै थिइन् । मैले सबै घटनाक्रमहरू उनलाई बताए । उनले निसंकोच मेरो विश्वास गरिन । म निकै नै हड्बडाएको थिएँ । अनि आफ्नो कोठाबाट दूध ल्याएर बच्चीलाई तताएर दिइन् । बच्ची दूध खाएर सन्तोकले सुतिन् ।

–०–०–०–


मान्छे जन्मिदा शून्य हुन्छ । समयका गतिहरूले मान्छेलाई समस्या दिन्छ अनि त्यही समस्याहरूबाट मान्छे प्रशिक्षित हुने रहेछ । मसँग नि त्यस्तै भयो । बच्चीलाई सफा गरिदिन, नुहाइदिन, तेल लगाईदिन र लिटो बनाएर खुवाउन आफैँ सिकेँ । नजानेका कुरा श्रद्धाले सिकाइन् । बच्चीको आगमनले मेरो कोठाको स्वरुप पनि परिवर्तित भयो । कोठामा कोक्रो आईपुग्यो, हर्लिक्स र स्यार्लेक्सका बट्टाहरू थपिए, सर्वोत्तम लिटोका बट्टाहरू आईपुगे । बच्चीका लागि जामा, भोटाहरू आईपुगेँ । कुनामा दराज र सोकेस ठिङ्ग भएर उभियो, ठूलो लोबेड भित्रियो । सायद श्रद्धाको गैर हाजिरीमा यस्तो परिवर्तन सम्भव थिएन होला । उनी बच्चीको लागि सपिङ गर्न जान्थिन् । म पढाई र अफिस गएको बेला ढुक्कै उनैले अनुकृतिको ख्याल राख्थिन् । मेरो लागि खाना उनलै बनाउथिन् । बच्चीलाई समयमा लिटो र स्यार्लेक्स खुवाउथिन् । आँची गरेका थाङ्नाहरू धुन्थिन्, यसरी नै उनको दिनचर्या व्यतित हुने गर्दथ्यो ।

–०–०–०–


हामी त्यो दिन असाध्यै खुशी भएका थियौ । जुनदिन अनुकृतिले मलाई बाबा र श्रद्धालाई मम्मी भनेर उच्चारण गरेकी थिइन । ममताले भरिएर हामीले अनुकृतिलाई चुमेका थियौँ । त्यसपछि म एकदमै लजाएको थिएँ किनकी यो सबै सिकाउने श्रद्धा नै थिइन् । हामी त्यो क्षणलाई जिन्दगीमा कहिल्यै पनि भुल्ने छैनौं । मलाई पहिलोपल्ट आफुले गरेको निर्णयप्रति गर्व लागेको थियो । मान्छे खुसीको लागि भौतारिहन्छ तर खुसी त हाम्रो नजिकै दौडिरहेको हुने रहेछ । बस् त्यसलाई बटुल्न जान्नुपर्‍यो।

श्रद्धा एकछिन पनि अनुकृतिलाई एक्लो छोड्न सक्दिनन् थिइन् । हरपल उसैको सामीप्यमा रहन चाहन्थिन् । विदामा घर भएका बेला पनि पटक–पटक फोन गरेर छोरीको हालचाल बुझ्थिन् । म शब्दहीन हुन्थेँ उनको ममता देखेर । श्रद्धा र उसको निर्दयी आमालाई सँगै राखेर तुलना गर्थे आकाश र जमिनको फरक पाउँथे । अनि घण्टौ सोचिरहन्थेँ उसले चालेका गलत पाइलाहरूको । एउटी चरीले पनि आफ्नो अण्डाहरूलाई लुकाएर राख्छे । हरपल ती अण्डाहरूलाई आद्र्रतामा राख्छे र त्यसबाट सुन्दर बचेराहरू निकाल्छे । अनि तिनीहरूमा पखेटा नआउञ्जेल मरिमेटेर हेरचाहमा लागीरहन्छे । मुखमा चारोहरू च्यापेर ल्याएर तिनीहरूको पेट भरिहरन्छे । तर ऊ त मान्छे थिई नि ! सृष्टिमा सबैभन्दा चेतनशील प्राणी । किन ऊ एउटी चरी बन्न सकिन ? मेरो एक्कासि रिसले पारो चढ्ने गथ्र्यो । आवेगका लप्काहरूले पोल्न थाल्थे ।

–०–०–०–


मैले कहिल्यै श्रद्धालाई प्रस्ताव राखिनँ । उनीले पनि त्यसबारेमा कहिल्यै खुलेर कुरा गरिनन् । अनायासै हाम्रा भावनाहरू एक भए । हाम्रा भावनाहरूले नै एकअर्कालाई प्रस्ताव गरे, एकअर्कालाई मञ्जुरी दिए, एकअर्काको प्रेमलाई स्वीकृत गरे । हामी दुवै एकअर्काको ख्याल राख्थ्यौ । हामीले यो चालै पाएनौँ, कति खेर हाम्रा प्रेमका आँकुराहरू लागिसकेछन् ।

त्यसपश्चातः हामी त्यो कोठा छोडेर अर्कै कोठामा सर्‍यौ । हाम्रा दुई मनहरू एक भए, हाम्रा दुई तनहरू एक भए, हाम्रा दुई ओछ्यानहरू एक भए । हामी सँगसँगै बस्न थाल्यौं । हाम्रो सम्बन्ध स्वर्गमै जोडिएको थियो क्यार, आफैँ कस्सिलो भएर गाँसियो । अतः परिवारलाई सबै तथ्य कुरा बतायौँ । परिवारले हामी दुवैलाई समर्थन पनि गर्‍यो । भोलि हाम्रो विवाह भएको पाँच औँ वर्षगाँठ हुँदैछ अर्थात हाम्रो ‘वेडिङ्ग एनिवर्सरी’ ।

“एई, किन यसरी एकोहोरो हेर्नुभाको मलाई ?”

“हैर्दछु कि तिमी कति राम्री भनेर ।”

“ह्या, नजिस्काउनु न ।”

“साँच्चै नत्र मरी नै जाऊँ ।”

उनले एक्कासि मेरो मुख थुनिन् । अनि आलिंगनमा बाँधिदै मसँग समर्पित भइन् । मैले उनको सुगन्धित केशराशी सुम्सुमाउँदै छोरी अनुकृतिलाई हेरिरहेँ ।