Showing posts with label फिचर. Show all posts

जस्टिन बिवरसित (ऐति)हाँसिक च्याट !

Features


पहिलेपहिले फेसबुकमा विदेशीसित टुटेफुटेको अंग्रेजीमा खुब च्याट हुन्थ्यो ! नयाँ चीजलाई चलाएर ढुटो पार्ने कसैको बानी हुन्छ, त्यस्तै भयो सायद ! कतिसम्म भने एउटी विदेशी केटीसित यति च्याट भएछ कि उसले आफ्नो ब्वाईफ्रेण्डलाई समेत भुलिछ, उसका फोटाहरु, स्टाट्समा पनि मेरै कमेन्ट्स देख्दो रहेछ । त्यसपछि ब्वाईफ्रेण्डले मलाई म्यासेज लेख्यो, ‘फक यू ! आइल् किल यू !म त डराएर त्यो त्यसकेटीलाई डिलिट गरिदिए । त्यसपछि अरु केही सम्झना छैन ।

क्यालिफोर्नियाकी लिलियनसित बेहोशीमा च्याट गरियो । पहिलो रिक्वेस्ट कसले पठायो थाहा भएन । पहिलो च्याटमै त्यसले मलाई जस्टिनसित भेटाइदिई ! त्यसपछिको केही च्याट पश्चात मलाई डिलिट गरेर लापता भएकी ऊ कहिल्यै भेट भईन । सबै च्याटलाई मिलाएर एउटा कथाबनाउँछु भनेर सोचेको थिएँ, भुसुक्कै बिर्सेछु । आज पुराना फाइलहरु खोल्दा थाहा भयो त्यो ऐतिहासिक च्याटलाई सेभ गरेको रहेछु, अहिले त फेद न टुप्पाको भयो ! 

शब्दचित्रमा मिस्टर बिन

फिचर


हाँस्यकलाकार तथा पटकथा लेखक रोवन सेबास्टीयन आटकिन्सन उर्फ मिस्टर बिन (पात्रले जुराइदिएको नाम) को जन्म सन् १९५५ जनवरी ६ तारिखमा इङल्यान्डमा भयो । अहिले ५८ वर्षमा हिँड्दै गरेका उनी  किसान परिवारमा जन्मिएका थिए । मिस्टर बिनले बेलायती पूर्व प्रधानमन्त्री टोनी ब्लेयर पढेको प्राथमिक विद्यालयमा आफ्नो शिक्षा आरम्भ गरे । पछि न्यूक्यासल युर्निर्भसिटीमा इलेक्ट्रीकल इन्जिनियर पढ्नका लागि पठाइए । अन्त्यमा अक्सफोर्ड युनिर्भसिटीबाट स्नात्तकोत्तर सिध्याए । अक्सफोर्ड पढ्दाताकै उनको कला यात्रा सुरु भयो, जसका फिल्म, टेलिफिल्म, रेडियो कार्यक्रमहरू सुन्दै÷हेर्दै हामी पेट मिचिमिची हाँस्छौँ अथवा हाँसेर डल्लो पर्न बाध्य पारिन्छौँ ।

केही कालजयी प्रेम जोडीहरू

फिचर

प्रेम मानवको सबैभन्दा शक्तिशाली संवेदना हो । प्रेमले जीवनमा खुसी, ज्ञानको प्राप्ति, आफ्नोपनको अनुभूति दिन्छ । जब कोही प्रेममा छ, उसले सबैतिर खुसीयाली र प्रेमिल चमक देख्छ । यद्यपि प्रेमले हृदयको क्रन्दन तथा निराशाहरू पनि ल्याउ“छ । जब प्रेमको चित्तबुझ्दो वापसी हुँदैन  तब अनेक समस्याहरू नजिक आउ“छन् । आफूले सबैभन्दा बढी माया गर्नेसित टाढिनुपर्ने स्थिति पनि आउँछ । तर, सफल प्रेमसम्बन्धले सुरुमा दुःखदायी अवस्था काटेपनि कालान्तरमा सुखीहरूको बजार लगाउँछ । संसार प्रेमले नै भरिएको छ । संसारमा रुमानी प्रेमकथा, उदासिनताका प्रेमकथा, विचित्र प्राप्तिका प्रेमकथा छरिएर रहेका छन्, थिए । तलका केही कालजयी प्रेमकहानीहरूले प्रेमको गहिराइ बुझ्न हामीलाई निकै सहज बनाउँछन् ।

नोबेल पुरस्कारका दाबेदार राजेन्द्र र बिजयी मो यान

फिचर
अनलाइन संस्करण गार्जियनमा नोबेल पुरस्कारको दाबेदारमध्ये उत्कृष्ट दशमा नेपाली कवि डा. राजेन्द्र भण्डारीको नाम छाएपछि नेपाली साहित्यमा खुबै तहल्का मच्चियो । फेसबुक तथा ट्वीटरमा दर्जनौं टिकाटिप्पणी आए । नेपालका नेत्र एटम, नयराज पाण्डे, बिक्रम सुब्बा, मनिषा गौचन, उमा सुवेदी लगायतका साहित्यकारहरुले भण्डारीलाई बधाई दिए । सन् १९५६ मा दार्जिलिङ्गमा जन्मिएका भण्डारी नेपालीभाषी कवि भण्डारीले पनि ति बधाईहरु स–सम्मान लिए तर दूर्भाग्यको कुरा यसवर्ष साहित्यतर्फको नोबेल पुरस्कार चिनियाँ लेखक मो यानले जितेका छन् ।
डा‌. राजेन्द्र भण्डारी
पुरस्कार पाएसँगै मो यानको चर्चा सवत्र्र हुन थालेका छन् । १०१ वर्षको इतिहासमा पहिलोचोटी चीनमा बसेका लेखकले यो पुरस्कार पाएका हुन् । यद्यपि सन् २००० मा गाओ सिङजियानले नोबेल पुरस्कार पाएका थिए तर उनी अहिले फ्रान्सेली नागरिक छन् । त्यस्तै चिनियाँ किसानहरुको आदिम कथा ‘द गुड अर्थ’ उपन्यास लेखेर अमेरिकी लेखिका पर्ल एस बकले पनि यो पुरस्कार हात पारेकी थिइन् ।
यसपाली पनि पुरस्कार बिजेता विवादबाट बच्न सकेनन् । केही महिना अघिदेखि नै चिनियाँ सञ्चारमाध्यमहरुमा मो यानलाई बिजयी बनाउन, विश्वको ध्यान आकृष्ट गर्न समाचारमार्फत भीख माग्ने कार्य भएको आरोप लगाइएको थियो । यता चिनियाँ सञ्चारकर्मीहरुले एसियाका सवालमा पश्चिमेलीहरुको कर्के नजर हुने गरेको जवाफ फर्काएका थिए ।

चर्चा, विवाद र भाग्यको आँकलनबीच अन्ततः मो यानले पुरस्कार पाएरै छोडे । पुरस्कार स्थायी समितिका सचिव पिटर इङलण्ड मो यानको साहित्यिक योगदानको चर्चा गर्दै भन्छन्, “उनी कहिलेकाँही मात्र भाग्यसित जित्ने तर अक्सर हार्ने देशका किसानी जीवनबारे लेख्छन् । उनका किताबहरु बच्चाले लोककथा सुनेझैँ छन्, जादूमय यथार्थवादको उत्कृष्ट प्रयोग छ यद्यपि उनले गाब्रियल गार्सिया मार्खेजबाट केही लिएका छैनन्, जे छ उनको आफ्नै छ । कथा साधारण रुपमा बग्दछ, वास्तवमा उनी विषम कथावाचक पनि हुन् ।”
मो यानको आगामी भविष्यको बाटोको सम्भाव्यता प्रष्ट्याउँदै इम्पेरियल कलेज लण्डनका चिनियाँ प्राध्यापक तथा अनुवादक निकी हार्मन भन्छिन्, “उनी ठूला लेखक हुन् । अब सबैले चिन्नेछन् । कारण नोबेल पुरस्कारले अंग्रेजी पाठक समक्ष उनलाई अझ नजिक ल्याइदिएको छ ।” त्यस्तै अर्का चिनियाँ प्राध्यापक मिकेल होक्स मो यानको साहित्यिक उपलब्धीलाई राजनीतिसित जोडेर यस्तो प्रतिक्रिया दिन्छन्, “उनका सबै साहित्यिक कृतिहरु प्रत्येकले यथार्थमा अलौकिक घटना कोर्छन् र जुन माओवादी राजनीतिभन्दा एकदमै फरक छ ।” मो यानका अनुवादक हवार्ड गोल्डबाल्ट पनि भाषाका कारण उनलाई चाल्स डिकिन्ससित तुलना गर्छन् ।

को हुन् मो यान ? के लेख्छन् ?
मो यानको जन्म सन् १९५५ सालमा एउटा किसान परिवारमा भयो । बाह्र वर्षको हुँदा उनले साँस्कृतिक क्रान्तिको समय स्कुल छोडे र खेतिकिसानी र उद्योगमा मजदुरको रुपमा काम गर्न थाले । सन् १९७६ मा उनले सेनामा भर्ति भएर विधिवत् साहित्य लेखन र पठनको ढोका उघारे ।
सन् १९८१ मा यानको छोटो कथा साहित्यिक पत्रिकामा प्रकाशित भयो । त्यसको केही वर्षपछि उनको ‘टोउमिङ डे हङ लुउबो’ भन्ने उपन्यास प्रकाशित भयो । उनको लेखनीमा युवा अवस्थाका तमाम अनुभूतिहरु खिचिएका हुन्छन् । उनको उपन्यास ‘रेड सोरगम’मा बीसौं शताब्दीको दुःखदायी कृषकहरुका उथलपुथललाई गुँथिएको छ । निर्देशक जङ्ग यिमुले यसलाई सफलतापूर्वक फिल्लमा पनि रुपान्तरित गरेका छन् ।
त्यस्तै यानको उपन्यास ‘गार्लिक बालाड्ज’ र ‘द रिपब्लिक अभ वाइन’लाई विध्वसंक भनिएको छ । कारण, समकालीन चिनियाँ समाजलाई गतिलो प्रहार गरिएको छ ।

‘बिङ ब्रेस्ट एण्ड वाइड हिप्स’ उपन्यासले बीसौं शताब्दीको एक परिवारको इतिहासलाई गतिशील चित्रमा प्रस्तुत गर्छ । उनकै ‘लाइफ एण्ड डेथ आर वेरिङ मि आउट’ले गणतान्त्रिक युवाहरुको प्रत्येक दिनको हिंस्रक कायापलटको प्यारोडी प्रस्तुत गर्छ । त्यस्तै उनको प्रकाशित हुन लागेको ‘स्यान्डलवुड डेथ’ले कुख्यात साम्राज्यको कथा बोक्छ । भर्खरै प्रकाशित भएको उनको उपन्यस ‘वा’ले चीनको एकल सन्तान नीतिका परिणामहरुलाई प्रकाश पार्छ । यसरी उनका सबै उपन्यासहरु चीनलाई हेर्ने झ्याल भएको प्रतीत हुन्छ । उनका अरु उपन्यासहरुमा ‘फलिङ रैन अन अ स्प्रिङ नाइट’, ‘चेइन्ज’, ‘पोउ’ लगायतका रहेका छन् भने कथासंग्रहहरुमा ‘एक्सप्लोइजन्स एन्ड अदर स्टोरिज’, ‘सिफूः यूविल डु एनिथिङ फर अ लाफ’ लगायतका रहेका छन् ।

मो यान स्वैरकल्पना, यथार्थ र ऐतिहासिक सामाजिक पक्षहरुको मिश्रणबाट विलियम फल्कनर र गाब्रियल गार्सिया मार्खेजका लेख्य जटिलताहरुको विश्व समक्ष याद ताजा गराउँछन् । तर यही समय उनी परम्परागत चिनियाँ साहित्य र भाष्य परम्पराको प्रस्थानविन्दू खोज्छन् ।

मो यान अङ्ग्रेजी भाषी लेखक होइनन्, चिनियाँभाषी लेखक हुन् । मो यानका जस्तै नेपालका लेखकहरुको  साहित्यिक कृतिको सफल अनुवाद  हुन सक्यो भने आगमी दिनहरुमा नेपाली साहित्यकारलाई पनि नोबेल पुरस्कार पक्का हुन सक्छ ।

सेतो धरतीले मदन पुरस्कार पाएकोमा को के भन्छन्

फिचर
२०६८ सालको मदन पुरस्कार ‘सेतो धरती’ उपन्यासका लेखक अमर न्यौपानेलाई प्रदान गरिएको छ । ‘पानीको घाम’ कथा सङ्ग्रह प्रकाशित गरेर नेपाली साहित्यमा हस्ताक्षर सहभागिता जनाएका न्यौपानले दुई लाख राशिको सो पुरस्कार पाएका हुन् । मिडियाप्रति खासै चासो नभएको र कहिल्यै मिडियाको पछि नलागेको  बताउने न्यौपाने यतिखेर मिडियाहरु आफैँ उनलाई खोज्दै आएकोमा दङ्ग छन् । मदन पुरस्कार पाएको एक साता नबित्दै उनले दर्जनौ मिडियाहरुमा अन्र्तवार्ता दिन भ्याएको बताउँछन् ।
बाल साहित्य पाडुलिपी पुरस्कार, पदमश्री पुरस्कार, रामराज पन्त स्मृति पुरस्कार पाइसकेका न्यौपाने निकै छोटो समयमा चर्चाको शिखरमा चढ्न सफल भएका हुन् । हरेक वर्ष दर्जनौ किताब निकालेर मदन पुरस्कारको दाबेदार हुँदै आएका लेखकहरुलाई पछारेको इटहरीका कवि हेमन यात्री बताउँछन् । आफूलाई अविश्वनीय भएको मदन पुरस्कार दिइएको विषयमा उनी यस्तो प्रतिक्रिया दिन्छन्, ‘मदन पुरस्कार यति छिट्टै पाउँछु भनेर कहिल्यै सोचेको थिइनँ । सेतो धरतीको लगालभ तेस्रो संस्करण निस्किनुले निकै हर्षित थिएँ । मेरा लागि पाठकले पढ्न रुचाउनु नै सबैभन्दा ठूलो कुरा हो ।’
सानैदेखि चित्र कोर्ने र नेपाली साहित्य पढ्ने बानी बसालेका ३५ वर्षिय न्यौपाने फाइन आर्ट पढेका छन् र आफ्नै चित्र प्रर्दशनी पनि गरिसकेका छन् । उनी पुस्तक लेख्नकै निमित्त खादै आएको जागिर पनि छोडेको बताउँछन् । विशेषतः न्यौपाने अनुसन्धान गरेर स्थलगत रिपोर्टका आधारमा लेख्ने बताउँछन्, ‘मलाई पात्रसँगको जम्काभेट, उनीहरुको क्रन्दन, हाँसो, खुसी र विचारहरु आफ्नै शब्द मिसाएर लेख्दा चित्र बनाएजत्तिकै आनन्द मिल्छ ।’
 
कस्तो छ सेतो धरती :
न्यौपानेले सात वर्षमा बिहे भएकी ताराको केही समयमा नै पतिको मृत्यु भएपछि उनले वृद्धवस्थासम्म भोग्नुपरेको जीवनको विभिन्न पाटा र उमेरलाई उनले बडो जीवन्त रुपमा उतारेका छन् । वि.सं. १९९० सालमा जन्मेकी ताराको विधवा जीवनले भोगेको कष्ट र पीडालाई एकपछि अर्को गर्दै उमेरसँगै जोडेर चित्रण गरेका छन् । तारासितै कैयन बाल विधुवाहरुको पनि मुटु हल्लिने कथा उपन्यासले समेटेको छ । यता, समिक्षकहरुले भने उपन्यास मोटो भएको आरोप लगाएका छन् । उपन्यास अन्त्य हुनुपर्ने स्थितिमा नसकेर विभिन्न भावमा बहकिएको आरोप उनीहरुको छ । यता उपन्यासको व्यर्थै मोटो भएको सन्दर्भमा न्यौपाने आफ्नो मत यसरी राख्छन्, ‘उपन्यासको विषयवस्तु थाहा पाउन भूमिका पढे हुन्छ तर पात्रको अनुभूति, संवेदना र अभिव्यञजनाहरु पढ्न उपन्यासै पढ्नुपर्छ । कारण मानव अनुभूति, संवेदना र अभिव्यजनाहरु सबैका फरक–फरक तथा शब्दमा अवर्णित हुन्छ । यसलाई अक्षरको चौघेराभित्र राख्न कठिन हुन्छ । मैले उपन्यास छोट्याउन करिब १२ हजार शब्द हटाएको छु । पात्रका अनुभूतिहरु अझै किताबमा अटाएका छैनन् ।’
 
के हो मदन पुरस्कार :
मदन पुरस्कारलाई नेपालको नोबेल पुरस्कार मानिन्छ । स्व. जबरा मदनशमशेर राणाको स्मृतिमा रानी जगदम्बाबाट स्थापित मदन पुरस्कारको घोषणा २०१२ साल असोज १० गते भएको थियो । पुरस्कार प्रदान गर्ने पहिलो घोषणा २०१३ सालमा भएको हो भने यसको वितरण २०१४ सालदेखि सुरु भएको हो । गुठीको निर्णयअनुसार प्रारम्भमा पुरस्कारको रकम चार हजार रहेकोमा स्वर्ण वर्षको अवसरमा २०६१ सालदेखि यसको रकम दुई लाख भएको छ । २०१३ सालमा पहिलोपटक ‘हाम्रो लोकसंस्कृति’का लागि सत्यमोहन जोशी, ‘जनरल भीमसेन थापा’का लागि चित्तरञ्जएन नेपाली तथा ‘अधिकविभव स्थिर विद्युत उत्पादक’का लागि बलराम जोशीले मदन पुरस्कार प्राप्त गरेका थिए ।

२०३१ र २०३३ सालमा यो पुरस्कार कसैलाई प्रदान गरिएन । रानी जगदम्बाको स्वर्गारोहणपछि निजको पुण्यस्मृतिमा गुठीले २०४५ सालमा स्थापना गरेको एक लाख रुपैंयाँको पुरस्कार जगदम्बाश्री सोही सालबाट नै वितरण भएको थियो र हाल यस पुरस्कारको रकम दुई लाख रुपैंयाँ छ । २०४५ सालमा नारायण गोपाल गुरुवाचार्यले सर्वप्रथम यो पुरस्कार प्राप्त  गरेका थिए । मदन पुरस्कार एक वर्ष नेपाली भाषामा निस्किएका उत्कृष्ट कृतिहरु मध्ये एक कृतिलाई प्रदान गरिने पुरस्कार हो भने जगदम्बाश्री नेपाली भाषा, संस्कृति, साहित्यलगायतका विविध क्षेत्रमा उल्लेखनीय योगदान पु¥याउने व्यक्ति वा संस्थालाई प्रदान गरिने पुरस्कार भएको जनाइएको छ ।

मदन पुरस्कारको शाख उर्लदो भएपनि विवादबाट बच्न सकेको छैन । लेखकहरुबाटै यसको नैतिकता र पुरस्कार वितरण प्रणालीमा विभिन्न आरोप खेप्नु परेको छ । इटहरीकी साहित्यकार शर्मिला खड्का (दाहाल) मदन पुरस्कार वितरण प्रणालीमा उचित मापदण्ड नभएको बताउँछिन्, ‘सर्वप्रथम त यो पुरस्कार के कस्ता कृतिलाई दिने भन्ने कुनै कुरा प्रष्ट छैन । कहिले प्राविधिक विषयका पुस्तकलाई पनि दिइएको हुन्छ भने विशुद्ध साहित्यिक कृतिलाई दिइएको पाइन्छ । कहिले बढी चर्चा चलेको कृति पाएको देखिन्छ भने कहिले चर्चा नचलेको तर प्रयोगको हिसाबले साहित्यमा नयाँ प्रयोग गरेको कृतिलाई दिइएको हुन्छ ।’ त्यस्तै बिराटनगरका कवि सुमन पोखरेल मदन पुरस्कार सच्चिदै गएको बताउँछन्  ‘मदन पुरस्कारले पुस्तकलाई त्यसको साहित्यिक ओजभन्दा लेखकको अपाङ्गता, मृत्यु शैयामा भए–नभएको अवस्था, कुनामा बसेर लेखेको वा उज्यालोमा बसेर लेखेकोजस्ता क्राइटेरिया राखेर विगतमा पुरस्कृत गर्ने गरेबाट मदन पुरस्कार आफैँको ओज खस्किरहेको बेलामा यसपालिको छनौटले त्यो अझ तल झर्नबाट रोकिएको छ भन्ने लागेको छ ।’
मदन पुरस्कार चर्चैचर्चाबीच विवादै विवादमा फसेको छ । यता एकचोटि मदन पुरस्कार पाएपछि लेखको  उचाई स्वतः बढ्छ जसका कारण लेखकरुलाई नै यो पुरस्कार नभई हुँदैन बताउँछन् बिर्तामोड झापाका पाठक सन्दीप निरौला, ‘नेपाली साहित्यमा मदन पुरस्कार प्राप्त गरेकालाई मात्र लेखक मानिने भ्रम छ । उनीहरुले निम्नकोटीको साहित्य लेखे पनि साफी नगर्दै लगालग छापिदिने प्रकाशन संस्थाहरु छन् । नेपाली साहित्य बिस्तारै बजारमुखी हुँदै गए पनि यसको स्तर क्रमशः खस्कदै छ ।’

सेतो धरतीले यसपालीको मदन पुरस्कार पाएकोमा तपाईं के भन्नुहुन्छ ? मदन पुरस्कारप्रति तपाईंको धारणा कस्तो छ ? मैले साहित्यमा चासो राख्ने र लेख्ने व्यक्तिहरुलाई सोधेको थिएँ । प्रस्तुत छ, उनीहरुको मत जस्ताको त्यस्तै :

घिमिरे युवराज, रङ्गकर्मी :
 गज्जब, राम्रो लाग्यो । हाम्रो पुस्ताले नै पुरस्कार पाए जस्तो लाग्यो । तर संसारका कुनै पनि पुरस्कार विवाद रहित छैनन् । मदन पुरस्कार पनि त्यसबाट अछुतो छैन ।

जीबी गजल, गजलकार : 
यसपटक वास्तवमा मदनपुरस्कार गुठीले जुन ढंगले सेतो धरतीलाई पुरस्कृत गनर्् निर्णय ग¥यो अत्यन्त सही कृतिलाई छनौट गरेको छ । अमर न्यौपानेले नेपाली समाजमा विगतमा रहेको बाल विवाहको कथा लेखेरे सम्पूर्ण नारीहरुको सम्मान व्यक्त गरेका छन् । पुरस्कार गुठीलाई लाग्ने गरेको आरोपको समेत थोरै भए पनि अन्त्य भएको छ । पुरस्कार पाउनु पर्ने कृतिहरुमा ‘लू’ पनि थियो तर सेतो धरती नै पाउनको लागि उपयुक्त थियो र पायो । यसमा हामी जस्ता साहित्यका विर्यार्थीहरु खुशी भएका छौँ ।
 
रमेश कँडेल, कथाकार : 
सेतो धर्ती उपन्यासको बिषयवस्तु विधवा नारिहरुको अन्तरकथामा आधारित भएको र यसको प्रस्तुती अत्यन्त उत्कृष्ट भएकोले पनि यो कृतिले पाउनु आवश्यक थियो र पायो । एक युवा स्रष्टाले पुरस्कार पाएकोमा पनि हामी गौरान्वित छौ । मदन पुरस्कारको बारेमा कुरा गर्दा नेपालमा स्थापित सबै पुरस्कारहरु विवादरहित छैन । तर पनि यो पुरस्कार साहित्यिक क्षेत्रको लागि नेपालको नोबल पुरस्कार हो र अहिले उसले दिन लागेको पुरस्कार अत्यन्त न्यायोचित छ ।

सुमन पोखरेल, कवि : 
’सेतो धरती’ मैले यसपाली पढेमध्येमा साहित्यको दृष्टिकोणबाट सुन्दर लागेको पुस्तकमध्ये एक हो । जहाँसम्म मदन पुरस्कार वा कुनै पनि पुरस्कारको कुरो छ, त्यो कसलाई वा कस्तोलाई दिने भनेर क्राइटेरिया बनाउने पुरस्कारदाताहरुको अधिकारको विषय हो । पुरस्कार दिँदा दाताले उचित ठह¥याइएकोलाई दिने गर्दछ, सर्वोत्कृष्टलाई हैन । दाताले उचित ठानेको पुस्तक साँच्चैमा सर्वोत्कृष्ट हुन्छ भन्ने छैन । हालसम्म मदन पुरस्कार प्राप्त पुस्तकहरु मदन पुरस्कार गुठीमा पुरस्कार माग गरेर दर्ता भएका पुस्तकहरुमध्ये गुठीले पुरस्कार योग्य ठानेका पुस्तक हुन्, तिनै पुस्तकहरु नै ती वर्षहरुका सर्वोत्कृष्ट पुस्तक भने होइनन् । मदन पुरस्कारले पुस्तकलाई त्यसको साहित्यिक ओजभन्दा लेखकको अपाङ्गता, मृत्यु शैयामा भएनभएको अवस्था, कुनामा बसेर लेखेको वा उज्यालामा बसेर लेखेको जस्ता क्राइटेरिया राखेर विगतमा पुरस्कृत गर्ने गरेबाट मदन पुरस्कार आफैँको ओज खस्किरहेको बेलामा यसपालीको छनौटले त्यो अझ तल झर्नबाट रोकिएको छ भन्ने लागेको छ ।

शर्मिला खड्का दाहाल, कथाकार : 
मदन पुरस्कार नेपाली साहित्यिक पुरस्कार मध्ये एक मात्र स्थापित र प्रतिष्ठित पुरस्कार हो । यस पुरस्कारलाई साहित्यिक जगतमा निकै चर्चाका साथ र गौरवका साथ लिइन्छ । यस पटकको पुरस्कार अमर न्यौपानेले पाउनु भएको छ । यसको लागि उहाँलाई हार्दिक बधाइ छ । यो पुरस्कार पारदर्शी र निष्पक्ष हुन्छ भन्ने विषयमा बेला बेलामा यस पुरस्कारको सन्दर्भमा भएका चर्चा परिचर्चाले यसलाई विवादरहित बनाउन सकेको छैन । सर्वप्रथम त यो पुरस्कार के कस्ता कृतिलाई दिने भन्ने कुनै कुरा प्रष्ट छैन । कहिले प्राविधिक विषयका पुस्तकलाई पनि दिइएको हुन्छ भने विशुद्ध साहित्यिक कृतिलाई दिइएको पाइन्छ । कहिले बढी चर्चा चलेको कृति पाएको देखिन्छ भने कहिले चर्चा नचलेको तर प्रयोगको हिसाबले साहित्यमा नयाँ प्रयोग गरेको कृतिलाई दिइएको हुन्छ । यस पटकको सन्दर्भमा निकै चर्चामा चलेको नयनराज पान्डेको ‘लू’ ले पाउन सकेन भने समालोचकीय प्रयोगको हिसाबले उच्चकोटीको मानिएको गोविन्दराज भट्टराईको ‘सुकरातको डायरी’ थियो भने आख्यानमा नयाँ प्रयोग गरिएको शर्मिला खडका(दाहाल)को ‘क्यानभासमा कोरिएका कथाहरु’लाई पनि लिन सकिन्छ । यस्तै डायस्पोराबाट छापिएको कथासंग्रह ‘क्यासल रककी अप्सरा’ पनि निकै उच्चकोटी कथासंग्रह थियो । यी सब बाट छानिएर अमर न्यौपाने सेतो धरतीले पाउनुमा मुल्याङ्कन समितिको आफ्नै धारणा, सिद्धान्त मुल्याङ्कन होला भन्न सकिन्छ । त्यसो त सेतो धरती कृति पनि धेरै पाठकले रुचाएको नै कृति हो । त्यसैले यसले पाउनु हुन्न भन्न पनि सकिन्न । त्यसैले मदन पुरस्कारलाई हेर्न आँखा अब फरक–फरक हुँदै गएको छ । यसो हुनाको कारण पुरस्कारको एउटा निश्चित मापदण्ड नतोकिनु पनि हो ।

भैरव आङ्ला, पत्रकार :
राम्रो कुराको राम्रो मुल्याङ्कन हुनुपर्छ । सेतो धरती मैले पढन त पाएको छैन तर पनि सत्य घटनामा लेखिएको कृति हो भन्ने सुनेको छु । त्यसैले राम्रो कृतिको सही मुल्याङ्कन हुनुपर्छ भन्ने मेरो मान्यता हो । अर्काे कुरा जुझारु युवाको यो प्रयार निरन्तर जारी रहोस् ।

सिजन नयन, कवि :
 ‘सेतो धरती’ जस्तो प्रत्येक वाक्य काव्यिक भाषामा लेखिएको आख्यान नेपाली साहित्यमा मैले ज्यादै कम पढेको छु । सायद त्यस्ता कृतिहरु लेखिएकै कम भएर हुनुपर्छ । पुरानो विषयलाई पनि अत्यन्त सुन्दर र सशक्त शैलीमा लेख्न सकिँदो रहेछ भन्ने कुराको उत्कृष्ट प्रमाण हो यो कृति । कोरा कल्पनामा नअल्झिई अनुसन्धानात्मक तवरले कृति लेख्नु उनको अर्को सफलता हो । यसरी नै कुनै पनि लेखकले आफ्नो चेतनाभन्दा माथि उठेर लेख्न सक्छ, मलाई लाग्छ । अमर न्यौपाने वास्तवमै मदन पुरस्कारका हकदार थिए । पुरस्कृत उपन्यासकार अमरलाई बधाई ।