Showing posts with label कथा. Show all posts

सत्तारुढ नग्नता

Stories

बिहानै अस्कर वाइल्डको उपन्यास ‘द पिक्चर अफ डोरियन ग्रे’लाई पुनः पाठ गर्दै थिएँ । मानिसको सम्बन्ध र त्यसका प्रभावले व्यक्तिको जीवनमा के कस्तो परिवर्तन आउँछ भन्ने शोधमा  लागेको थिएँ । त्यो भन्दा बढी मलाई लर्ड हेनरीको सिद्धान्तमा डोरियन ग्रे आफूलाई कसरी समाहित गर्छ अनि उसका दैत्य स्वभावबारे मलाई खुलस्त हुनुथियो । विद्यार्थीहरुलाई उपन्यासको भावभङ्गिमा पनि बुझाउनु थियो ।

आसन्न मृत्यु

कथा
मर्नु
एक कला हो, हरेक किसिमका कलाझैँ
अपवादले मैले यसलाई निर्वाह गर्न सकेँ ।
                                                       —सिल्भिया प्लाथ

सप्तकोशीको यो गर्तले मलाई बोलाइरहेछ, "डब् मेरो शरीरमा र सम्पूर्ण जीवनलाई विर्सजन गरी दे ! तेँरो क्षणभङ्गर शरीर के का लागि ? आत्मनिष्ठूर बनेर किन बाँच्छस् ? फाल हान् जीवनमा कुनै कैफियत नरहोस् ।"

मेरा हात काँपिरहेका छन् । मानौ, म केही लेख्न सकिरहेको छैन । जीवनको यो अन्तिम खण्डमा कहिल्यै उर्तीण नहुने परीक्षा दिइरहेछु ।

०००

"छ्या ! दाह्री त काट्नू ! अलिकति सफाचट भएर बस्न कहिल्यै सिक्नुभएन है ? कस्तो आदिम भीक्षुजस्तो !" सुशीला हत्प्रभ मेरो प्रेमालिङ्गनबाट छुटेर आफ्ना फुस्किएका लुगा बटुल्दै भान्छातिर लागिन् ।

म विगत केही सप्ताहदेखि निकै व्यस्त भैरहेको छु । पत्रिकाले सुनसरी विशेषाङ्कका लागि मलाई खटाएको थियो । समाचार, अन्तरवार्ता र विज्ञापनका लागि दौडाहमा थिएँ । त्यसकारण आफ्नो सरसफाईमा तन्मयताका साथ लागिरहेको थिइनँ । कहाँ सजिलो छ र ? एउटा जिल्ला समातेर बसेपछि चौतर्फी कुरामा अद्यावधिक रहनुपर्छ । फुर्सद त विरानो भैसकेको थियो ।

"बाबा फोन आयो !" छोरी सुप्रियाले तथाकथित शून्यतालाई भङ्ग गरिदिइन् ।

–"हेल्लो पे्रम जी ! गुड मर्निङ ! तपाईंका लागि समाचार छ है ?"

"गुड मर्निङ इन्सपेक्टर सा'ब ! के भयो सर ?"

–"एउटा नरेले आत्महत्या गरेछ । उसका लुगाफाटा, चप्पल र `सुसाइट नोट' मसितै छन् । तपाईं झट्टै याँ आउनुपर्यो । सप्तकोशीमा गोताखोरहरुले उसका शरीर खोज्दैछन् ।"

फेरि अर्को आत्महत्या ? एक साता यता जिल्लामा एकाएक आत्महत्याका श्रृंखला मौरीका गोलोझैँ फैलिरहेका छन् । मानौं, आत्महत्या एउटा संस्कृति बनिरहेको छ । कति सजिलो भएको आफूलाई मार्न ?

०००


"राडीको छोरा ! मलाई हिस्टेरिया रोग लाग्या छ रे डाक्टरले भनेको ! छोरीमान्छेमा लाग्ने असाध्यै नराम्रो रोग हो रे ! छिटो पैसा पठा ! त्यहाँ रण्डीहरुसित मस्ती गरेर नबस् ?"

म परदेशमा रहँदा ऊ यस्तै निम्नस्तरको कुरा गर्थी । उसको अपाच्य दोषारोपण सुनेर बोझिल हुन्थेँ ।

तीन छोराछोरी, असल सासु–ससुरा र खानपुग्ने जमिन हुँदा पनि ऊ अझै सन्तुष्ट हुन सकिरहेकी छैन । उसले म र विद्यमान समस्त परिस्थितिलाई बुझ्न सकिरहेकी छैन । मानौं, म परचक्री हुँ । मैले नै उसको जीवन यतिविघ्न जटिल बनाईदिएँ ।

देशमा व्याप्त बेरोजगारीमा पिल्सिएर परिवार र छोराछोरीको भविष्य विनिर्माण गर्नका लागि म विदेशिएको थिएँ । खाडी मुलुकको फलाम पग्लने प्रचण्ड घाममा डढेर उसलाई पैसा पठाइरहेको थिएँ । तर खै के पुगेन ऊ यतिविघ्न कठोर बन्दैछे ? म दिनरात कल्पिएर बस्तथेँ ।

परदेशबाट परिवारको याद आएर म उसलाई र छोराछोरीलाई फोन गर्थेँ तर उताबाट जहिल्यै कचकच सुन्नपथ्र्यो । मैले समस्याको जडविन्दू किञ्चित् फेला पार्न सकिनँ । के चाहन्थी ऊ सो खुट्याउन असमर्थ थिएँ । मभित्रको जमोठ अभिव्यक्ति उनीसँग राख्दा बेवास्ता गरिदिन्थी । जस्तो कि म पशु हुँ । बाँधेर घाँस हालिदिए पुग्छ । उसले कहिल्यै मेरा अभिव्यजनाहरुको सम्मान गरिन ।

यता, ममा असामयिक देखिएको हर्साले म दिनानुदिन खिइँदै थिएँ । शरीरमा रगतको कमी हुँदै गएको थियो । मलाई भीमकाय अनाकोण्डाले निलेजस्तो भान हुन्थ्यो । म दिनहुँ ध्वस्त हुँदै थिएँ ।

अन्ततः म जल्दै गरेको गृहस्थीलाई निभाउन नेपाल फर्किएँ ।

स्वेदश फर्किएपछि कमाएको पैसाले दुई तल्ला घर बनाएँ । मुनिको एकतल्ला भाँडामा लगाएँ । छोराछोरीलाई सरकारी स्कुलबाट निकालेर राम्रो बोर्डिङ स्कूलमा हालेँ । तर पनि उसको ताडना कम भएन । अझ तीखो सुँइरो बनेर मुटुमा घोचिरह्यो । म दुलैदुलो भएँ ।

मैले उसको कामुकतालाई सम्हाल्न सकिनँ । ऊ मलाई यौनका लागि आग्रह गर्थी तर म विकलाङ्गजस्तो थकित हुन्थेँ । शरीरका सम्पूर्ण अवयवहरुबाट शक्ति हराउँथे । पूर्णतः परास्त हुन्थेँ । बुख्याँचाजस्तो मूर्तिवत् हुन्थेँ । ऊ मलाई सघन पीडा दिन्थी । डरले मेरा समस्त शरीर कम्पायमान भैरहन्थे ।

ऊ ममाथि गालीगलौजको पहिरो खन्याउँथी । आफ्नो गुप्ताङ्ग देखाउँदै मुखमा जे आयो त्यहीँ बोल्ने गर्थी । नानीहरुलाई पनि नानाभाँतिको छाडा बोल्न सिकाउँथी । गाउँकी दिदीबहिनीहरुसँग म बोलेँ भने चिच्याउँथी, "त्यो रण्डीसँग लागिस् है ?" मान्छेको मुखेन्जी भन्थी, "त्यो झिँगेसँग आजै भाग् ! पर्दैन यो घरमा बस्न !" स्वास्नीको यसप्रकारको क्रियाकलापले मलाई छरछिमेकमा कतै हिँड्न मुस्किल पर्ने गथ्र्यो ।

उसले मेरा सम्पूर्ण पैसा र मोबाइल दराजमा राखेर चाबी आफूसँग बोक्थी । खैनि खाने पाँच रुपैयाँ माग्दा ऊ भन्थी, "भाग् ! तेँरो बाउको कमाई छ मसँग ? साले गधा तँ त मरे पनि हुन्थ्यो !"

कसैले उसलाई सम्झाउन सकेनन् । केही महिनापछि ऊ झन् उग्र भई । मलाई प्रातडना दिन झन् उद्धत भई । कोठाभित्र थुनेर मलाई चाबी लगाएर हिँड्न थाली । दिसापिसाब गर्न पनि रात पर्खनुपथ्र्यो ।

आज दिउँसो ! केटाकेटी सबै स्कूल भएका थिएँ । उसले मलाई सुत्ने कोठामा लगेर आफू सर्वाङ्ग नाङ्गो भई र यौनका लागि जबरजस्ती गरी । मैले आफूले सक्नेजति गरेँ तर अन्ततः म फेरि हारेँ । उसको चरम प्यासलाई मेटाउन सकिनँ । त्यसपछि उसले मलाई भुत्लाई, लात्तैलात्ताले हानेर गाली गरि, "तँ रण्डा ! यत्ति गर्न सक्दिनस् ? मरि'जा तँ" उसले आफैँले गरेको पिसाबको भाँडो मेरो जिउँमा खन्याईदिई । म उसको पिसाबले पूर्णतः भिजेँ ।

म कमजोर थिएँ केही गर्न सकिनँ । उसले मलाई कोठाभित्र चाबी लगाएर कतै गई । संयोगले मेरो मोबाइल भित्रै रहेछ । भाडामा बस्नेलाई चाबी फुटाउन लगाएँ र त्यहाँबाट आफूलाई बचाउँदै भागेँ ।

पुरुषत्व अब ममा रहेन । एउटी स्वास्नीलाई कज्याएर राख्न सक्ने हुर्मत मसित छैन । म हरुवा हुँ । म कायर हुँ । मैले कहीँ पनि निकास देखिनँ । कसलाई गएर भनूँ यस्तो पीडा ? के विश्वासले मेरा कुरा सुन्लान् ? के गर्न सक्लान् ? म प्रश्नैप्रश्नबीच रुमलिएको छु । आफ्नो नपुंसकता कसैलाई पनि भन्न सक्दिनँ । अन्ततः म यस संसार छोड्दैछु । अब बाँच्नू छैन मलाई । छेऊको तथाकथित शिवजीले मेरो जीवनको कालो बादल हटाइदिएन । जीवन रहुञ्जेल मात्र पूजीरहेँ । अब आफ्नो आसन्न मृत्यू नै प्यारो छ, "यो पत्र मेरा परिवार र समाजको हात लागोस् र मेरी श्रीमतिजस्ती आईमाई कसैको नहोस् !"

०००


"कस्ती बाइफाला श्रीमति रै'छे ! आफ्नै लोग्नेको ज्यानै लिई ?" सुसाइट नोट पढिसकेपछि श्रीमतिसँग भलाकुसारीमा लागेँ । मैले सतही अभिव्यक्ति दिएको थिएँ । छोरी सुप्रिया अघि नै सुतिसकेकी थिइन् ।

–"कसरी भन्न सक्नुभएको ? यसमा स्वास्नीको के दोष र ?" तपाईंको पुरुषोचित धारणाले मात्र यो मुद्दालाई नहेर्नुहोस् ।" उनले कथोपकथनलाई अघि बढाउँदै मलाई अँगालोमा बाँधिन् ।

"होइन आफ्नो लोग्नेलाई पनि त्यस्तो ताड्ना दिन मिल्छ ?" मैले तीव्र प्रश्न फ्याकेँ ।

–"मैले मिल्छ भनेको छु र ?" उनी अचम्मित भइन् ।

"त्यसो भए दोष कसको भयो ?"

"कुरा दोषको होइन प्रेम ! उनीहरुले समयको गाम्भीर्य उपस्थितिलाई चिन्न सकेनन् । ती दम्पति नियतिको शिकार भएँ ।" उनले मेरो केश सुमसुमाउँदै यन्त्रवत् परिवेशको विश्लेषण गर्न थालिन्, "स्वास्नी आत्मरतिमा रमाई र समयलाई बुझ्न सकिनँ । त्यो भन्दाबढी आफूलाई सम्हाल्न सकिन जसरी स्वास्नीमान्छेहरु आफू शताब्दीऔं देखि सम्हालिदै आएका छन् । यता लोग्नेले आफ्ना अगाडि उपस्थित दारुण अवस्थाको आत्मभत्र्सना मात्र गरीरह्यो ।"

"यो घटनालाई सतही हेरेर हुँदैन । हाम्रो समाजको प्रतिनिधि घटना हो जो धेरै अघिदेखि लुकाइँदै थियो !" मैले सहमतिको विन्दू खोजेँ ।

–"मेरो आशय त्यहीँ हो ! स्वास्नी मानिस भनेका अरक्षिता हुन्छन् । उनीहरुलाई लोग्नेको साथ चाहिन्छ । लोग्नेले आफूलाई संरक्षण दिओस् भन्ने चाहन्छन् । सायद् आफू जन्मिएको वातावरण, परिवेश र विश्वासले हुनसक्छ हामी स्वास्नीहरु लोग्नेबाट असीम प्रेमको आश राख्छौँ । यो घटनामा त्यो स्वास्नीले सबै गुमाई जतिखेर उसको लोग्ने विदेशियो । अनि आफू दारुण भई ।"

"के देख्यौ तिमीले समस्याको जरो ?" मैले उनको प्रष्ट अभिव्यक्ति सुन्न चाहेँ ।

–"समस्याको जरो छर्लङ्ग छ । परस्पर साथ विना दाम्पत्य जीवन किञ्चित् सफल हुन सक्दैन । नत्र ढिँकीमा धान कुटेझैँ दाम्पत्य जीवन भुस र चामल एकै ठाउँमा हुन्छ । यसकारण हावाले जता लग्यो त्यतै उडेको बेलुन होइन दाम्पत्य जीवन । दाम्पत्यलाई समान्तर गति चाहिन्छ जसरी हामी अभ्यासरत छौं परस्परमा । अनि मात्र दाम्पत्यमा प्रेमको पारलौकिक आनन्द प्राप्त हुन्छ ।"

समाजशास्त्र पढाउने सुशीलाको पावन अभिव्यक्ति सुनेर म विगतको गर्तमा फेरि डुब्न थाल्छु तब आफ्नो जीवनप्रति असाध्यै प्रेम जागृत हुन्छ । कहिलेकाँही डरको कालो बादलले मलाई छोप्ने गर्छन् । मेरो शेषपछि मेरा परिवारको भविष्य कस्तो होला ? यात्रामा परिवारको तस्बीर बोकेर हिँडीरहन्छु, दूर्घटनामा मरेँ भने के हुन्छ ? राति सुतेको म बिहान मरेको भेँट्टाइए भने के हुन्छ ? यस्तै अदृश्य डरले मेरो शरीर कम्पायमान हुने गर्छ । जीवनमा एउटै इच्छा छ– जीवनको यो भयावह सप्तकोशीबाट आफ्ना परिवारलाई सुरक्षित तारेर मर्न पाऊँ । ताज्जुब लाग्छ, आत्महत्यालाई कला मान्नेहरुले एक थोँपो बाँच्न सिकेको भए हुन्थ्यो । बुझे हुन्छ ती सिल्भियाहरुले —यात्रामा खाल्टाखुल्टी हुन्छ र लडे पनि उठेर हिँड्न सक्नुपर्छ ।

काली र कुमारित्वको मूल्य

कथा
कालीले कोठाभित्र पसेर चुकुल लगाई र पूर्णतः नग्न भई । संयोवश त्यतिखेर उसको घरमा कोही थिएनन् । अनि ऐनाअगाडि बसेर आफ्नो सम्पूर्ण नग्न शरीरलाई यन्त्रवत् नियाली । उसका शरीरमा नङ्गले चिथोरेका खतहरु थिए । ती खतहरुमा उसले मलम लेपन गरी । चूकअमिलो खन्याएझैँ उसको घाउ चहर्यायो । अनायासै उसको अनुहारमा अँध्यारो पोखियो । आफ्नो शरीर देखेर उसलाई एकदमै घीन लागेर आयो । एक्कासी उसलाई टाउको दुखेको अनुभूति भयो । आफ्नो टाउकोलाई उसले स्थिर राख्न सकिन । कन्पारो पछाडिबाट कुनै ठटेउरोले ठोकेझै अनुभूति भयो ।

कालीलाई केटा र केटीबीचको सम्बन्ध, प्रेम र यौनबारे थाहा छैन । तर पनि ऊ कुनै सम्बन्धमा गाँसिएकी छे । उसलाई ख्याल छैन प्रेमको सीमा अनि पुरुषको अहम् । यही कारणले होला ऊ कुनै लोकमा बन्दी भएकी छे । ऊ त्यो बन्दीगृहबाट किञ्चित् आजाद हुनसक्दिन । अब त आदत नै भैसक्यो । लागूऔषधको लतजस्तो अब ऊ त्यही चौघेरामा रुमलिन चाहन्छे ।

यदि सक्दी हो त ऊ आफैँलाई जलाएर ‘फिनिक्स’चरीझैँ त्यही खरानीबाट पूर्नजन्म प्राप्त गर्थी । यदि सम्भव भए ऊ वर्तमानमा बजिरहेको प्रलयका सिम्फोनिक ध्वनीहरुलाई शान्त पार्थी । तर विवश छे ऊ । किनारालाई हिर्काएर पहाडको असख्य वेदना बोकीहिँड्ने नदीझै ऊ निस्सार भा’की छे र समाजको अक्टोपसीय आँखाबाट दिनहुँ खिइदैछे । यसबाट उन्मुक्ति पाउन अब उसलाई हम्मे–हम्मे पर्नेछ ।


कालीको बा रिक्सा चलाउँछन् । कालीकी आमा भवन निर्माण साइटमा मजदुरी गर्छिन् । उनको समय दिनभरी इँट्टा र सिमेन्टी बोक्दैमा व्यतीत हुन्छ । कालीको दाजु भिमे १४ वर्षको हुदाँ उसलाई अर्काको घरमा काम गर्न राखिदिएका थिए । ऊ अहिले त्यही बसेर काम गर्छ ।

कालीको बा अत्याधिक रक्सी खान्छन् । उनी मातेर आएको कालीकी आमालाई मनपर्दैन । त्यो बेला उनी कालीकी आमालाई छुन पनि सक्दैनन् । यसो कोट्याउन खोज्यो, झर्किन्छिन् । कत्तिपनि प्रतिकारमा उत्रिन सक्दैनन् उनी । उनलाई आफ्नी श्रीमतीको अजङ्ग–शरीरदेखि एकप्रकारको डर लाग्छ । विचरा बुढा, अन्ततः भुइँमा सुत्न विवश हुन्छन् ।

एकरात,

उनले रक्सी खाएनन् । नेपाल बन्द भएकोले उनले रिक्सा चलाएर दुई हजार रुपैयाँ कमाएका थिए । अक्सर नेपाल बन्द हुदाँ उनलाई मनग्य मुनाफा हुनेगर्छ । तसर्थ त्यो रात उनले रक्सी नपिई घर जाने निधो गरे । मासु पसलबाट उनले एक किलो खसीको मासु किने । नजिकैको पसलबाट एउटा रक्सी पनि किने । त्यसलाई उनले आफ्नो रिक्साको डिक्कीभित्र राखे ।

त्यसपछि मानौँ कुनै मर्सिडिजमा चढे झैँ गरी उनी शानले रिक्सामा चढे । रातको उन्मादको कल्पना गर्दै अनि मदमस्त भएर उनी रिक्सा कुदाउन थाले ।

घरमा कालीकी आमा साइटबाट फर्किएर भात पकाउने सुरसारमा लागेकी रहिछन् । उनी आफ्नो श्रीमान् रक्सी नपिईकन आएको देखेर खुसी भइन् । अनि लोग्नेलाई प्रेमपूर्वक खाटमा बस्न आग्रह गरिन् । बजारबाट उनले पाकेका आँप किनेर ल्याएकी थिइन्, त्यो काटेर दिईन् । कालीका बाले मासुको झोला दिँदै भने, “ला मासु पका ! भुटुवा बना ।”

उनी मासुको परिकार बनाउन लागिन् । कालीका बा खाटमा पल्टिएर पुरानो टिभी हेर्न थाले । करिब रातिको आठ बजेपछि खानाको परिकार तयार भयो । उनले बुढालाई बोलाइन् । दुवैजना मिलेर मासु, चिउरा र रक्सी खाए ।

केही समयपछि उनी घरधन्दा सकेर ओछ्यानमा आईन् । लोग्ने चैँ अघिनै ओछ्यानमै ढल्किरहेका रहेछन् । उनले आफ्नी श्रीमतीलाई अँगालो मारे । उनले पनि मौन समर्थन गरिन् । एकैछिनमा तूफान आयो र सेलायो ।


केही हप्तापछि आफ्नो नियमित महिनावारी रोकिएकोले उनलाई शंका लाग्यो । उनी डाक्टरकहाँ गइन् । आफू गर्भवती भएको थाहा पाएर उनी छाँगाबाट खसेझै भइन्, किनकी उनी बच्चा जन्माउने मनस्थितिमा थिइनन् । बेलुका उनले लोग्नेलाई सुनाइन्, “ए...बुढा मैले पेट बोकेछु ।”

उनले फिस्स हाँसेर भने, “भिमे अब यो घरमा आउँदैन क्यार । अब यौटा सन्तान त चाहिन्छ । अब छोड् दे न, एउटा जन्माउनुपर्छ ।”


केही महिनापछि कालीकी आमाको दिनचर्या पूर्ववत् हुन थाल्यो ।

एकदिन,

कालीकी आमा बालुवा चाल्दै थिइन् । उनलाई रिँगटा लागेजस्तो अनुभूति भयो । अचानक उनको ठुलो पेट दुख्न थाल्यो । उनले कर्नीले भुइँ कोतार्न थालिन् । उनको गोडा लुला भए । उनी उठ्न सकिनन् । अचानक उनको तल्लो पेट पनि चर्किन थाल्यो । उनको वेदनामिश्रित आवाज निस्कन थाल्यो, “आइयाऽऽऽ”

वरिपरिका महिला लेबरहरु कराउन थाले, “एई ! भिमेकी आमालाई बेथा लाग्या जस्तो छ है ।”

सबै मिलेर उनलाई स्टोर रुममा लगे । लोग्ने मान्छेलाई त्यहाँ छेऊमा पर्न दिएनन् । उनी व्यथित भइरहेकी थिईन् । उनको सास छिटो–छिटो चल्न थालेको थियो । उनी बेहोशीमा बटारिन थालिन् । उनका शरीरका छाला अचानक तन्किन थाले, आँखाको कुनाबाट आँसु खस्न थाले । उनको हात मुठ्ठी पर्यो, ठुलो चीत्कार निकालिन् ।

त्यसपछि काली जन्मिई ।

एउटी लिम्बूनीले कालीकी बालाई फोन गरिन्, “ए साँठ्ठा कहाँ छस् । आईजा तेँरो बुढीले छोरी पाई । रेक्सा लिएर सीधै साइटमा आइजा ।”

–०–०–०–

बाल्यकालमा काली निकै काली थिई । सबैजनाले उसलाई ‘काली’ भनेर बोलाउन थाले । जब ऊ किशोरावस्थामा प्रवेश गरी तब ऊसमा अकल्पनीय परिवर्तनहरु देखिए । उसको शरीर स्निग्ध र अझ चम्किन थाल्यो । शरीरमा वैँशका कोपिलाहरु लाग्न थाले । छाती लोभलाग्दो भएर उचालिए । स्वर अझै तीखो हुदै गयो । उसलाई एकप्रकारको अनौठो लाजले छोप्दै लग्यो ।

ऊप्रति मान्छेका हेराईहरु पनि परिवर्तन भए । प्रेम र करुणाले ओतप्रोत भएका आँखाहरु त्यसपछि कामवासना लत्पोतिए । गाउँका किशोरहरुले उसका छातीमा आँखा पुर्याउन थाले । उसलाई यौटा अनौठो किसिमको लज्जाबोध हुनथाल्यो, साथै एउटा नूतन खुसी पनि । आमाले उसलाई ‘वर्जित फल’झै चेतावनी दिएकी थिइन् “कुनै पनि केटाको विश्वास नगर्नू । नत्र थाङ्ग्नामा सुताउलान् ।”

कालीले तीन कक्षाभन्दा माथि पढ्न सकिन । सधैंको घरधन्दा, कुच्चो, कोदालोबाट उसलाई स्कूल भ्याउन मुस्किल पथ्र्यो । झन् विमल सरको लठ्ठीदेखि ऊ अचाक्ली डराउँथी । त्यसैले उसले स्कूलबाट पूर्णकालीन अवकाश लिई । स्कूल जानै छोडिदिई ।

घरधन्दा सकेपश्चात् ऊ एकदमै फुर्सदमा हुन्थी । ऊसले गाउँका केटीहरुसँग गफ गरेर समय बिताउन थाली । गीता, मीना र बन्दना उसको मनमिल्ने साथीहरु थिए । तर सबैको विवाह भइसकेको थियो । दिउँसो उनीहरुका श्रीमान्हरु काममा जाने गर्दथे । उनीहरु दिनभरी गफ गर्दै समय काट्थे ।

कालीलाई गीताले मेकअप गरेको निकै मनपथ्र्यो । उसलाई अचाक्ली सुहाउथ्यो पनि । ऊ कालीलाई मेकअप गर्ने तरिका सिकाइरहन्थी । गीताको कपाल लामा थिए, ऊ ‘कण्ड्सिनर’यूक्त स्याम्पूले दिनहुँ नुहाउने गर्थी, अनुहार ‘फेसवास’ले धुन्थी, आँखामा कोहिनुर गाँजल, ओठमा गुलाबी लिप्सस्टिक लगाउथी । उसको शरीरबाट वासनादार ‘परफ्यूम’ जहिल्यै सुवासित हुन्थ्यो । कालीलाई पनि चाह हुन्थ्यो त्यस्तो श्रृँगारको तर उसको त्यत्रो आर्थिक सामथ्र्यता थिएन । उसले त्यसै मन बुझाएकी थिई ।

एकदिन, गीता घरमा थिइन । कालीले उसका सम्पूर्ण सौन्दर्य प्रशाधनका सामाग्रीहरु यौटा मजेँत्रोमा लुकाएर आफ्नो घर ल्याई । ऐनाअगाडि बसेर गीतालेझै ‘मेकअप’ गर्नथाली । उसलाई त्यो समय आफू अप्सराझैँ राम्री लाग्यो । काली इत्रिएर घरमै बसी, कहीँ गइन । गीताले आफ्नो सौन्दर्य सामाग्रीहरु हरायो भनेर गाउँभरी हल्ला फिजाइछे । पछि उसले ती सामाग्रीहरु कालीले चोरेको थाहा पाई । ऊ सिधै कालीको घरमा गई अनि उसको आमाकै अगाडि कालीलाई तथानाम गाली गरी र आफ्ना सम्पूर्ण सामानहरु फर्काएर ल्याई ।

कालीकी आमा उसको निम्नकोटीको चर्तिकता देखेर छक्क परिन् । पिट्दा समस्याको समाधान हुने थिएन, किनकी छोरी बढिसकेकी थिई । ती चीजबस्तुहरु उसको उमेरले मागेका थिए । उनले परास्त मुद्रामा भनिन्, “भोलिदेखि घरको काम सकेर धने ठेकेदारकोमा काम गर्न जानू र आफूलाई जे चाहिन्छ, त्यै किन्नू । अबदेखि यस्तो कुरा सुन्न नपरोस् ।”

–०–०–०–


कालीले अल्छीगर्दै लुगा लगाई । उसको मुठ्ठीमा भएको दशहजार टेबलमा राखी । उसलाई केही गर्ने जोश, जाँगर भएन । यौटै घटनाबाट उसका दिनचर्यामा तुषारापात भएका छन् । तसर्थ समाजको कौतूकमय नजरबाट आफूलाई केहीछिन् लुकाएकी छे ।

उसले एकाएक धनेलाई सम्झिई । धनेले नै उसको जीवन विषम बनाइदियो, जसलाई ऊ अहिलेसम्म पुर्नरुथान गर्न सकेकी छैन । धनेको स्मृतिले अनायस उसका अनुहारमा चन्द्रग्रहण लाग्छ, अँध्यारो हुन्छ ।

धने अन्दाजी २५/२६ वर्षको विवाहित मतुवाली केटो हो । उसकी एउटी ५ वर्षिया छोरी पनि छे । ऊ ठेकेदार हो, भवन निर्माणको काम ठेक्कामा लिन्छ । धनेले पहिलो चोटी कालीलाई देख्ता होषह्वास गुमाएको थियो । कालीजस्ता तरुणी र राम्री केटी उसका हेल्परहरु थिएनन् । उसले मनमनै सोच्यो, “यस्तो माल त अहिलेसम्म देख्या थिइनँ ।” उसले घुटुक्क थुँक निल्यो । आँखा विस्फारित पारेर यन्त्रवत् कालीको सम्पूर्ण शरीर नियाल्न थाल्यो । छातीमा एकाग्र हेरेको देखेर काली अत्यन्तै विचलित बनेकी थिई । उसको शिकारी नियतिदेखि कालीलाई असाध्यै रिस उठ्यो ।

धनेलाई पनि अनार्कषक भन्न मिल्दैन । हृष्टपुष्ट शारीरिक बनावटले ऊ आर्कषित देखिन्थ्यो, बलिष्ठ थियो । उसको मुहारमा मुस्कान लपक्कै टाँसिएको हुन्थ्यो । सधैँ हाँसिरहन्थ्यो । त्यसकारणले होला सबै केटीले मनपराउँथे ।

धनेले कालीलाई प्रथम हेराइमै आफूतिर आर्कषित गर्न खोज्यो । उसले कालीलाई सजिलो, सरल कामहरु लगायो । कालीलाई सीतलमा बसेर बालुवा चाल्ने अनि मसला तयार भएपछि ऊ भएतिर बोकेर ल्याउन अह्रायो । काली निक्कै हर्षित भई । उसको हाँसोले ऊ पनि रसिक बन्यो । फूर्तीको साथ इँट्टाहरुको जोडाई गर्न थाल्यो । काली उसको कार्यकुशलता देखेर विस्मयमा पर्थी । ऊ रौसिदै गयो ।

प्रत्येक दिन उसलाई काम गर्नुअघि चाउचाउ, चियाबिस्केट, थुक्पा खुवाउन थाल्यो । अब कालीले धनेको व्यक्तित्व मनपराउन थाली । ऊ धने नजिक हुँदा आफूलाई सर्वजयी भएको महसुस गर्न थाली ।

केही महिनाको अन्तरालमा उनीहरु असीम नजिकिए । अब दुइबीच जिस्कने, चल्ने, छुने, ठट्टा गर्ने कामहरु सामान्य भए । धने चाल मारेर कालीलाई जिस्काउने गथ्र्यो । उसका छाती मुसार्ने गथ्र्यो । ऊ ‘क्लोरोफर्म’ सुँघाएझैँ बेहोश बनिदिन्थी, खितिति हाँस्थी । अझै त्यसो गर्न मौन प्रेरित गर्थी । धनेलाई एकप्रकारको युद्ध जितेको भान हुन्थ्यो । ऊ आफूलाई यौटा प्रागऐतिहासिक योद्धा ठान्थ्यो ।


बुधबारको दिन सबैलाई विदा हुन्थ्यो । मजदुरहरु आ–आफ्नो हप्ताभरिको कमाई लिन आएका थिए । धनेले सबैलाई ज्याला बाँड्न थाल्यो । काली सबैभन्दा पछाडि बसेकी थिई । ज्याला लिएर सबै घर गए । अन्त्यमा कालीको पालो आयो । उसले कालीलाई डब्बल ज्याला दियो । अर्थात् कालीले दुईहप्ताको ज्याला एकैचोटि पाई । ऊ मुसुक्क हाँसी । त्यसबेला धनेले उसलाई अचाक्ली राम्री देख्यो । उसको गुलाबी ओठले धनेको हृदयलाई तृषित बनायो, वाचाल बनायो । समातेर मुखैमा चुम्बन गरुँझैँ लाग्यो । तर आफूलाई सम्हाल्यो उसले । काली कुर्ता सुरुवालमा सिँगार–पटार गरेर आएकी थिई ।

“फिल्म हेर्न जान्छ्यौ काली ?” धनेले एक्कासी प्रस्ताव राख्यो ।

– “लाने भए, जान्छु नि !” कालीले सहर्ष स्वीकार गरी ।


दुवैजना बस चढेर फिल्महलतिर गए । फिल्म हल अँध्यारो थियो । उनीहरुले भित्ता छेऊमा आफ्नो सीट पाए । फिल्मको दृश्य सुरु भइसकेको थियो तर धनेको ध्यान फिल्मतिर थिएन । ऊ कालीलाई हेरिरहेको थियो । उसले आँट गरेर कालीको हात समात्यो । कालीले सजिलै आफ्नो हात लुलो पारिदिई । उसले हात मुसार्न थाल्यो । त्यसपछि उसले हठात् आफ्नो हात कालीको छातीमा पुर्यायो । कालीले केही प्रतिकार गरिन् । निर्विकार छोडिदिई । त्यसपछि धनेले कालीसँग कानेखुसी गर्यो, “ह्या, फिल्म राम्रो रैन’छ । बाहिर जाऔँ ।”

दुवैजना फिल्महलबाट बारिर निस्किए । धनेले उसलाई यौटा गेष्ट हाउसमा लग्यो । केही मिठाईको परिकार र हल्का चीसो पेयपदार्थ खुवायो । काली प्रशन्न देखिन्थी । त्यसपछि उसले कालीलाई एउटा कोठामा लग्यो । दुवैजना कोठाभित्र पसे । ढोका थुनेर कामात्तुर ऊ कालीलाई बाघले झम्टिएझैँ झम्टियो । काली शिकारमा परेकी मृगणीझैँ परास्त भई । केहीछिनको घमाशान युद्धपछि धने पूर्णतः थकित भयो । उसले कालीको अस्मीता लुट्यो ।

बल्ल काली धनेको कुनियतसँग परिचित भई । उसलाई आफैँदेखि घीन लागेर आयो । तर समय बितिसकेको थियो । उसले धनेलाई परचक्रीजस्तो देखी । तत्क्षण उसलाई आमाको वर्जित वाक्य याद आयो, “कुनै पनि केटाको विश्वास नगर्नू । नत्र थाङ्ग्नामा सुताउलान् ।”

काली पारिजातको पात्र सकम्बरीजस्तो तार्किक थिइन । उसले धनेलाई हठात् प्रश्न गरी–

“के तिमी मलाई प्रेम चाहिँ गर्दैनौ ?”

– “नगर्ने भए, यो केहो त ?”

“यो तिम्रो प्रेम होइन । मेरो शरीरप्रतिको लोभ हो ।”

– “लोभमा पनि प्रेम हुन्छ नि !”

“तिमी प्रेमको नाममा मलाई भोग्न मात्र चाहन्छौ !”

– “हैन काली, म तिमीलाई सीमाहीन प्रेम गर्छु ।”

“त्यसो भए मलाई बिहा गर !”

– “म विवाहित छु ।”

“तोडिदेऊ त्यो विवाह ।”

– “मलाई पाप लाग्छ ।”

“मलाई बर्बाद गरेको’चै पाप लाग्दैन ?”

धने नाजवाफ भयो । काली चुपचाप आफ्ना लुगा बटुलेर बाहिर निस्किई । धने मूर्तीवत् ढोकातर्फ हेरिरह्यो ।


कालीले अझै बिर्सन सकेकी छैन त्यो कालरात्रि । जुन रातपछि उसको दिनचर्यामा फेरबदल ल्याइदियो । उसको सम्पूर्ण जीवनलाई विक्षिप्त तुल्याइदियो । उसको नाममा कालो धब्बा पोतियो ।

गाउँमा काली धनेसँग फिल्म हेर्न गएको कुरा कतिखेर धनेकी श्रीमतीले थाहा पाइछे । बेलाबेलामा गाउँलेहरुको मुखबाट सुनेका हल्लाहरु त्यसबेला सत्य सावित भएका थिए । धनेकी श्रीमतीले राति कोही नभएको बेला कालीलाई बोलाई । उसले ढोका थुनेर “मेरो बुढासँग लाग्छेस् झिँगे । सौता हुन खोजेकी ?” भन्दै तथानाम गाली गरी । उसले कालीको शरीर ढ्याङ्ग्रो ठटाएझैँ ठटाउन थाली । मुक्कैमुक्का प्रहारी गरी । उसले लगाएको कुर्ता ध्वार्रध्वारी च्यातिदिई र कालीलाई भुत्लाउन थाली । काली एकशब्द पनि बोल्न सकिन । त्यसपछि कालीलाई ढोकाबाहिर धकेलिदिई । काली त्यहाँबाट रुदै, कराउँदै घर पुगी ।

संयोगवश त्यो रात उसको घरमा कोही थिएन । काली त्यही अवस्थामा खाटमा आएर ढली । कतिखेर भुसुक्कै निदाइ, पत्तै पाइन ।

विहानै कालीको दारुण अवस्था देखेर आमाले केरकार गरिन् । उसले धनेकी श्रीमतीले कुटेको भन्ने थाहा पाइन् । कालीकी आमाले समाज डाकिन् । टोलका गन्यमान्य मान्छेहरु उपस्थित भए । दोष धनेकी श्रीमतीकै भएको निश्कर्ष सबैले निकाले । सत्यताको जाँचबुझ नगरीकन कुटेको आरोपमा कालीसँग माफी माग्न लगाइयो । धनेकी स्वास्नीले उसलाई उपचारखर्च स्वरुप दशहजार रुपैयाँ क्षतिपूर्ति दिनुपर्यो ।

त्यतिखेर धने निशब्द थियो । काली पनि केही बोल्न सकिरहेकी थिइन । गाउँलेले कालीको हातमा दशहजार राखिदिए, उसको कुमारित्वको मूल्य थियो त्यो शायद ।

आँधी

कथा
ल्यापटपमा मेरो नजर केन्द्रीत थियो । कोठा एकदमै अँध्यारो थियो । ट्यूबलाइट थिएन, सायद जलेको हुनुपर्छ । म त्यहाँ इन्टरनेटको प्रयोग गर्न बसेको थिएँ । अफिसका सम्पूर्ण कामहरु सकेर म फेसबुकमा रमिरहेको थिएँ । दुईजना मित्रहरु अनलाइनमा गफिरहेका थिएँ । मलाई कोठाको अँध्यारोम महसुस हुन्थेन, ल्यापटपका किबोर्डहरुमा मेरा औला सल्बलाइरहेका थिए ।

"हेल्लो कथाकार ज्यू ! ज्यूदै हुनुहुन्छ ?"

–"अहिलेसम्म त मरेको छैन ।"

"खाजा हाम गर्नुभयो त ?"

–"भर्खर सिध्याएँ ।"

"के खानुभयो नि ?"

–"बफ मम"

च्याटमा सधैँ यस्तै अनौपचारिक कुराकानी हुन्छन् मेरा । कहिलेकाँही राम्रो वक्ता भेटिन्छ । ऊसँग साहित्यको विविध चरणहरुको बारेमा गफिन मजा हुन्छ । सिक्ने र सिकाउने प्रक्रिया चलिरहन्छ ।

–०–०–०–


टाउँकोमा घनले ठोकिरहेको अनुभूत हुन्छ । सकेण्ड–सेकेण्डको अन्तरालमा सोला हानिरहेको छ । शरीरमा हनहनी ज्वरो आइरहेको छ । झ्यालबाट चिसो हावाले जिस्क्याउँछ । पहेँलो टिसर्ट लगाउँछु, अघि कालो गन्जीमा मात्र थिएँ ।

पानीले कपाल निथु्रक्क भिजेको छ । अघि यौटा ठुलो आँधीको सामना गरेर घर फर्किएको छु । म यौटा सामान्य घटनाको शिकार भएँ । वास्तवमा घटनाहरु सामान्य नै हुन्छ तर त्यसलाई कसरी लिने भन्ने पद्धतिमा निर्भर रहन्छ । सायद किशोर मस्तिष्क भएर होला, त्यो घटनाले मेरो अन्तस्करण छोएको छ ।

म नानाभाँतिको आत्मरतिमा बहकिदै उही आदिबासी टेबलमा बसेर यौटा भावना उत्खनन् गर्दैछु । अनायासै, मेरो आँखा टेबलमा मिलाएर राखिएका किताबहरुमा ठोकिन्छ । देख्छु, स्नातक प्रथमवर्षका कोर्षबुकहरु बिजनेस स्टाटिस्टिक्स, बिजनेस इकोनोमिक्स, फ्ल्याग्स गोल्डेन टेल्स, प्रिन्सिपल अफ म्यानेजमेन्ट लगायत छन् । कत्ति न ब्यापारीजस्तो ! यिनिहरुलाई आज पढ्नुथियो तर स्वास्थ्यले साथ दिइरहेको छैन ।


–०–०–०–

केहीसमयअघि मेरो स्थिति भिजेको बिरालोको जस्तो भएको थियो । साथीको घरबाट सामान्य साक्षात्कारपछि फर्कदै थिएँ । भयङ्कर हावा चल्न थाल्यो । बाटो छेऊका बिजुलीका तारहरु हल्लिन थाले । वरीपरि कच्ची घरका छानो हावाले उधिन्न थाल्यो । साइन्स फिक्सनमा आधारित कुनै प्रकोपको फिल्म हेरेँझै अनुभूति हुन थाल्यो । साँच्चै मान्छे उडाउला कि भन्ने ससुप्त स्थिति थियो ।

तत्क्षण चट्याङ पर्दै मेघगर्जन सहित पानी दर्किन थाल्यो । म घरतर्फ दौडिदै थिएँ । टाउकोमा घन बज्रन रोकिएको थिएन । पासमा भएको लुखुरे छाताले के छेल्थो र त्यो आँधीलाई । घुटुमुटु पारेर त्यसलाई ब्यागमा खादेँ । अनि आँधीबाट सुरक्षित हुन यौटा स्मारकजस्तो अभूतपूर्व घरमा छिरेँ ।

–०–०–०–

"दाई, औषधी ल्याइदेऊ भनेको होइन ?" बहिनीले सोध्छे ।

–"अँ हो ।" म टेबलबाट निस्किएर पर्स खोज्छु । पर्सबाट सयको नोट निस्कन्छ ।

"हेल्थपोष्टबाटै ल्याइदिन्छु है । किराना पसलमा पाइने औषधी भरपर्दो हुन्न ।" ऊ यसो भन्दै निस्कन्छे ।

म त्यही दृश्यमा तारो चढाउन पुग्छु, जुन यसअघि मैले देखेको थिएँ ।

घरको डाटाभाटा दिनहुँ मक्किदै गएको प्रतीत हुन्थ्यो । यसअघि पनि कुनै ठुलै आँधी आएर थुप्रै विनाश गरेजस्तो देखिन्थ्यो घर । बाँसका भाटामा भर्खरै गोबरले लिपिएको प्रष्ट देखिन्थ्यो ।

"दादा, तपाईलाई कहिलेदेखि बिरामी हुनुभा’को रे ?" बहिनी कोठाभित्र पसेर सोध्छे ।

–"अस्तिदेखि हो ।" म भन्छु ।

"एकचोटी जचाउनु रे गोपाल डाक्टरले भन्नुभा’को ।" बहिनी मलाई सम्झाउँछे, "अहिले निमोनियाको प्रकोप छ रे ।"

–"हुन्छ । एक ग्लास पानी तताइदेऊ न ।" म भन्छु । ऊ कोठाबाट बाहिर निस्कन्छे ।

–०–०–०–


म सेल्टर हुन त्यो घरमा छिर्नासाथ त्यसघरमा मान्छेहरु पनि बाहिर सिकुवामा आएँ । पानीले सिकुवामा बाछिट्टा हान्न थाल्यो । आफूलाई जमुना नाम बताउने ति दिदीले भनिन्, "भाइ, भित्रै छिर्नु न ।"

म जुत्ता लगाएरै भित्र छिरेँ । भित्रबाट बाहिर छ्याङछ्याङी देखिन्थ्यो । बाँसमा लिपिएको गोबर यतिखेर पानीले झारीसकेको थियो । माटोहरु बुर्बुती भुइँमा क्रमशः खस्दै थिए । उनी टाँटी छेऊको खाटमा रहेका लुगाहरु अर्को कोठामा सार्न थालिन् । म ग्यास पानीले भिजेको देखेर हठात् भनेँ, "ओ ! ग्यास भिज्यो, भित्रै कोठामा सार्नु न ।" उनले हठात् ग्यासचूल्हालाई अर्को कोठामा सारिन् ।

म बलो छेऊको नाङ्गो खाटमा बसेँ । खाटमा भाँडाकुडा सजाएर राखिएका थिए । ढोकाबाट कोठाभित्र पानी पस्न थाल्यो । उनले हठात् दैलो लगाइन् । यौटा फलामको रडलाई दैलोमा छेस्किनी बनाइन् ।

आँधीले टिनलाई ठटाउँदै थियो । लिपिएका माटाहरु सोत्तर लाग्न थालेका थिए । मैले जमुना दिदीतर्फ हेर्दै भने, "यो घरमा यौटा दाई हुनुहुन्थ्यो नि ?"

–"ऊ ट्रक चलाउन गा’को छ ।"

"उसले यसरी ट्रक चला’को कति वर्ष भयो ?"

–"छ वर्ष पूरा भयो ।"

"घर मर्मत गर्ने बेला भएछ नि !"

–"यो घर यस्तै हो भाइ, त्यो टाँटी १ महिनामात्र भयो फेरेको । कतिछिटो मक्किन थालिसकेको छ ।"

"बाँसको टाँटीको क्यै भर हुन्न । यसरी नै फेरिहनुपर्छ ।"

–"हो, नयाँ घर बनाउनुपर्ने भएको छ । मेरो भाइ विदेश जान्छु भनेको छ । उताबाट कमाएर आएपछि हामी पनि सिमेन्टको घर बनाउँछौं ।" उनको प्रत्यूत्तरमा एउटा आशा जमोठ थियो । मैले उनको अनुहार र शरीर नियालेँ । उनले आफ्नो शरीरमा फेसनएवल टप्स र लेगिङ्स किञ्चित् लगाएकी थिइनन्, न त जिन्स पेन्ट र भेष्ट नै । रातो कुर्थामा थिइन् उनी । कुर्थामा काँती मयल ढाडिएका थिए । त्यै पनि ठाउँठाउँमा च्यातिएर सिलाइएका थिए । धुलैधूलो थियो उनको शरीरभरि । भर्खरै यौटी बालिका धुलोमा खेलेर घर फर्किएकी जस्तो । अनुहार कालो थियो, दाँत सेता ।

छेऊकी एउटी बालिकाले मेरो हातको रुमाल खोसेर हठात् आफ्नो भिजेको मुख पुस्छे । फेरि त्यो रुमाल मेरो हातमा थमाइदिन्छे ।

मैले सोधेँ, "यी बच्चीहरु तपाईंका हुन् ?"

–"हैन, काँ मेरो त बिहे नै भएको छै नि ! यि बच्चा मेरी बहिनीका हुन् ।"

"खोई त बहिनी ?"

–"कुवेतमा छिन् ।"

"अनि ज्वाइँ नि ?"

–"एउटी आइमाइलाई टिपेर भाग्यो ।"

"किन भागेको रे ?"

–"खोई, हाम्लाई थाह भएन ।"

"अनि तपाईले चाहीँ किन बिहे नगर्नु भाको नि ?"

–"फुर्सद भए पो गर्नु !"

"बिहे गर्नलाई कति दिन लाग्छ र ?"

–"होइन, यिनीहरुलाई हेर्नुपर्छ नि !"

"यिनीहरुका लागि आफ्ना इच्छा पनि त्याग्नुहुन्छ त ?"

–"के गर्नु त केटा नै भेटिदैन ।"

"किन भेटिएन ?"

–"हामीजस्ता गरिबलाई कसले बिहे गर्छ र ?"

उनको यो प्रश्नसँगै म बोझिल हुन्छु । उनको अनुहार मलीन देखिन्छ । उनलाई सर्लक्क हेरिसकेर मेरो नजर फेरि घरतर्फ दौडिन्छ । त्यो घरले उनको यौवन र जीवनप्रति भीमकाय व्यङग्य गरेकोजस्तो लाग्छ ।

"निराश नहुनुहोस् । बिस्तारै सब ठिक हुन्छ । खुशी निमेषभरका लागि हुन्छ तर त्यसको अनुभूति चीरस्थायी हुन्छ ।" उनलाई यसोभन्दा आफ्नै प्रष्टभूमीले मलाई व्यङ्ग्य गरेको जस्तो लाग्छ । मभित्रको यौटा मान्छे फुत्रुक्क निस्किएर कराएजस्तो गर्छ, "खुब, अरुलाई सम्झाउँदै हिँड्छस् । एकचोटी आफैँलाई नियाल त !" मेरो हृदय फेरि भारी हुन्छ । अनि आफ्ना सपनाका बिस्तारा लगाएर आशाको खोल ओढेर सुत्छु ।

फेरि एउटी छेऊकी बच्चीले मेरो हातको रुमाल खोसेर आफ्नो काँती अनुहार पुच्छे । म उसलाई अनुमति दिन्छु ।

अचानक, घरको टिन हावाले उडाउन थाल्छ । वेगवान आँधी घरभित्र पस्छ । ती बच्चाहरुलाई उनी अर्को कोठामा छिराउँछिन् । म तार माग्दै ती टिनलाई च्याप्न थाल्छु । उनी तार दिएर सहयोग गर्छिन । मलाई पानीले ल्याफ्फ चुट्छ । आज भर्खर लगाएको चेकसर्ट सबै भिज्छ । त्यसमाथि ज्वरो, टाउको दुखेको अनि पानीले भिजेको शरीरले मलाई कम्पामायन गराउँछ । सम्भावित् विकराल स्थितिको अड्कलले मन चिसो हुन्छ ।

म टिनलाई सफलतापूर्वक च्याप्न सफल हुन्छु । उनी टावलले शरीर पुछ्न आग्रह गर्छिन । टावल हेर्छु, मयल ढाडिएर अस्तित्वहीन बनेको छ । "भो, पर्दैन् ।"

"भाइ, तपाईं गाउँकै असल हुनुहुन्छ । भाङ, धतुरो, गाँजा, चुरोट खाएर अहिलेसम्म हिँडेको देखेको छैन मैले ।" उनी कथोपकथनको प्रसङ्ग मोड्छिन् । उनको यो वाक्यांशले मेरो पृष्ठभूमी पल्टिन्छ । एकदिन पूजाले भनेकी थिइन्, "रेसम तिम्रो कथा एउटा पत्रिकामा पढेकी थिएँ । तिमी त साहित्यकार भएछौं यार । बधाई छ ।"

"लेखेजस्तो मात्र गर्छु ।" मैले उत्तर दिएको थिएँ ।

फेरि दुई व्यक्तित्व मेरो दिमागमा बग्न थाल्छन् । अनिल दाई जो फिदोर दोस्तोवस्कीको उपन्यास ‘क्र्याम एण्ड पनिसमेन्ट’मा थेसिस तयार पार्दैछन् । उनले मलाई पटक–पटकको भेटमा विश्व साहित्यका सिद्धान्तहरु अर्थाइरहन्छन् । म चाख लिएर सुनिरहन्छु ।

एकदिन उनको घर गएको थिएँ । उनले भित्ताभरी प्रमाणपत्रहरु टाँसेका रहेछन् । मैले त्यो देखेर यौटा अहम पालेको थिएँ ।

"दाई, तपाई प्राध्यापनको लागि इटहरी आउँदा मलाई अंग्रेजी पढाइदिनु है ।"

–"हुन्छ भाइ"

"म राम्रो पेइमेन्ट गर्छु ।"

"अहँ ! क्यै दिनुपर्दैन ।"

उनको कण्ठबाट यस्तो वाक्यांश सुनेर म अत्याधिक खुशी भएको थिए । उनको खुट्टामा आँशु खसाएर रोहुँजस्तो लागेको थियो ।


‘जून’सँग मेरो बोलचाल भर्खरै भएको हो । दुईवर्षको देखादेखपछि हामी भर्खर परिचयको सूत्रमा बाँधिएका थियौं । उनी मेरो यौटा कथा पढेर नजिकिएकी थिईन् । उनी पनि स्नातक प्रथमवर्षमा मेजर इङ्गलिस लिएर अध्ययन गर्दै थिइन् । उनलाई देख्नासाथ म कृतज्ञताले भरिन्छु । उनको विदूषीपनालाई म एकप्रकारले प्रेम गर्छु । तर अचेल हाम्रो आशिंक मात्र भेट हुन्छ । उनले क्याम्पस टप गरेको सुनेर म उनीप्रति नतमस्तक भएको थिएँ ।

यी दुई व्यक्तित्वहरु मेरा प्रेरणाको स्रोतहरु हुन् । पलापला यो मानसपटलमा यिनीहरु देखा पर्छन् । किशोरवस्थाको प्रारम्भिक चरण भएर होला सायद । हजार सपनाको बस्तीहरुभित्र अनायासै हराइरहन्छु । अनायासै लज्जाबोध हुनेगर्छ ।

एकदिन, विश्वप्रसिद्ध किशोर गायक जस्टीन वीवरलाई आफूसँग तौलिन पुगेको थिएँ । गायक बन्न तम्सिएको थिएँ । अनि असम्भव टाँकुरा देखेर आफूलाई सरापेको थिएँ । यस्ता छिमलका सपनाहरु प्रत्येक पल देखिरहन्छु । लाग्छ, म स्वप्नदर्शी हु क्यार ! हे प्रभू, मलाई छिट्टै वयस्क बनाऊ ।


"पछि श्रीमती ल्याएपछि आफ्नी आमालाई परोक्ष रुपमा भएपनि गाली नगर्नु है । उनले भनिन् । उनलाई मेरो पारिवारिक पृष्ठभूमी थाहा थियो । आमाको प्रसङ्ग निस्किएर म क्षतविक्षत हुन्छु । किशोरावस्थाको यो चरणमा आइपुग्दा पनि मैले भरपर्दो सहयोग गर्न सकेको छैन । उहाँ अनवरत संघर्ष गरिहरनु भएको छ । बुवाको भर छैन, बूढा भएका छन् । आफ्नो नोकरी र अध्ययनको चिन्ताले मलाइ पलापला डसिरहन्छ । हाम्रा खलकमा कसैले उच्च शिक्षा हासिल गरेनन् । यस्तै कारणले अहिलेको दारुण नियति भोग्नुपरेको हो । सायद !

केही महिनाअघि मैले कुमार नगरकोटीको ‘निकास’ कथा पढेको थिएँ । तिनताका म कथाको पात्रसँगै हराएको थिएँ । कथामा आर्थिक संकटले जकटिएको यौटा पुरुष पात्र एउटा वृद्धलाई हेरचाह गर्ने काम पाउँछ । उसको काम वृद्धलाई विश्वप्रसिद्ध उपन्यासहरु पढेर सुनाउनुपर्ने हुन्छ । यो कथाले मलाई भित्रैसम्म छोएको थियो । आफूलाई पनि त्यै पात्रझै हुन मन लागेको थियो । तर यी कोरा अक्षरहरु कहाँ सत्य हुन्छन् र ! बस् कल्पना मात्र त गर्ने हो !


"राँडीलाई ढुङ्गै–ढुङ्गाले हानेर मार न ।" बुढीआमा आफ्नी नातिनी कपडा लगाएर नुहाउँदै गरेको देखेर कराइन् ।

–"त्यै त अवासिनी ! अलच्छिनी राँडी ! हेर त लुगा लगाएरै नुहाएकी !" जमुना दिदीले भनिन् ।

मेरो ध्यान त्यो दृश्यमा गएन । मेरो हृदय आत्ममूल्याकंन गर्नमा अभ्यस्त थियो । किन म यसरी महिलाहरुप्रति संवेदनशील हुन्छु ? जसरी मैले जमुना दिदीसँग दुखान्त वार्तालाप गरेँ । सायद् आफ्नी आमाको दारुण नियति देखेर होला अक्सर यस्ता महिलाहरुको भेटमा म व्यथित हुनपुग्छु । उनिहरुप्रति मेरा नकारात्मक सोच कहिल्यै हुँदैनन् ।

अनायासै पानी थामिएर, सिमसिम पर्न थाल्छ । म छाता ओढेर आफ्नो घरतर्फ निस्किए ।

"जमुना दिदी, हजुरसँग गफ गर्न पाउँदा खुशी लागेको छ । कहीँ भेट्दा यसो बोल्नुहोला । म खुशी हुनेछु ।" मैले भनेँ । उनको अनुहारमा हल्का मुस्कान देखियो ।

कोठाबाट निस्कदा ती बूढीआमै । यौटा बिर्को नभाको ‘टुथपेस्ट’ पानीमा खसेकोले, त्यो टिप्दै थिइन् । म बाटा बाटोमा निस्किसकेको थिएँ । ती दुई बालिका हावाले झारेका आँपका चिचिलाहरु टिपेर आउँदैरहेछन् ।

"आँप खाने दाई ?" एउटी फुच्चीले भनि ।

–"नाइँ, खानुहुँदैन चिचिला आँप । रगतमासी पर्छ ।" मैले भनेँ । तिनीहरु दगुर्दै आफ्नो घरतर्फ लागे । मैले पछाडी फर्किएर हेरेँ । ती बुढीआमैले भनिन्, "ले त्यो आँप, भरे बेलुकी अचार बनाउनुपर्छ ।"

–०–०–०–

बाटोमा हिलो टेक्दै म घर फर्किएँ । बहिनी बार्दलीमा परेको पानी पुछ्दै रहिछे । म आफ्नो कोठाभित्र छिरेँ । धन्य, मेरा किताबहरु पानीले भिजाएका रहेनछन् ।

बिजुली आयो । यो लोडसेडिङ्गले हामी विद्यार्थीहरुको भविष्य डामाडोल पारेको छ । यस्तो अवस्थामा कसरी परीक्षामा राम्रो सक्नु हामीजस्तो निम्नस्तरको विद्यार्थीले ।

जसरी मैनबत्तीको शीखा पग्लिएर बग्छ, त्यसरी नै मेरो हृदयभित्र चलेको आँधी यतिखेर शान्त भएको छ । त्यो आँधी फेरि आउँनेछ, कुनै समय !

उजेली थारू

कथा
जीवनको यो उत्तराद्र्धमा आइपुग्दा मलाई खुशीका स–साना बुँदहरुले पनि पारलौकिक आनन्द प्रदान गरेका छन् । बाल्यावस्थामा जब म ताते–ताते गर्दै पिताजीको हात समाउँदै हिँड्ने गर्थेँ, पिताजीले मलाई अक्सर काँधमा बोक्ने गर्नुहुन्थ्यो अनि बडहरको घुम्ती पसलमा लगेर सुन्तला चकलेट किनिदिनुहुन्थ्यो तब मलाई परम खुशी अनुभूत हुने गर्दथ्यो ।

जब म यौवनावस्थामा प्रवेश गरेँ । मेरा शरीरका सम्पूर्ण अवयवहरुमा यौवन झ्यागिँन थाल्यो तब म प्रियसीको समीप्यमा चरम आनन्दको महसुस गर्न थाले । उसले आफ्नो प्रेमालिङ्गनमा कसेर मेरो अनुहारमा चुम्बन बर्साउँथी । तब म आफूलाई एउटा प्रागऐतिहासिक युगको नायक सम्झन्थेँ ।

जब समयका कलरव ध्वनीहरु मेरा जीवनमा गुञ्जदै गए । मेरो विश्वविद्यालयको अध्ययन सकियो । फेरि उही प्रियसीसँग भव्य विवाह भयो । त्यसपछि झन् अभूतपूर्व खुशीका बजार लाग्न थाले । म धनाढ्य भएँ, जीवनबाट मैले मनग्य मुनाफा लिएँ ।

अहिले म दुई छोराछोरीका बाबु छु । जब अफिसबाट फर्किएर उनीहरुसँग समय व्यतित गर्छु तब मलाई एउटा परमसन्तुष्टि प्राप्त हुन्छ । उनीहरुसँग बच्चा बन्दै खेल्दा ती मेरा बाल्यकालका आदिबासी सम्झनाहरु मानसपटलमा नाच्न थाल्छन् । ब्याडमिन्टन, क्रिकेट र फुटबलका कोरा सम्झनाहरु झलझली देखिन्छन् । हामी घाममा तात्तिएर बेहद खेल्ने गर्दथ्यौँ ।


जब सानी छोरी प्रेरणा `बाबा !' भन्दै मसँग झ्याम्मिन्छे तब मेरा दिनभरिका थकान र आलस्य निमेषभरमा निर्मूल हुन्छन् । जब छोरा प्रसन्न आफ्नो अध्ययनका लागि चाहिने सामग्रीहरुका सूची मेरो हातमा थमाउँछ । तब म व्यग्र भएर उसका आवश्यकताहरु पूरा गरिदिन्छु । यौटा नूतन खुशी प्राप्त हुन्छ । छोराछोरीका इच्छा आकांक्षाहरु पूरा गरिदिएर उनीहरुको अनुहारमा कोरिने सन्तुष्टि कैद गर्ने कुनै यन्त्र भएको भए म तपाईलाई देखाइदिने थिएँ ।


जीवनको यो परिधिभित्र मिलेका, मेरा सुक्ष्म अनुभूतिहरु यिनै हुन् । मैले अहिलेसम्म भोगेको अनि देखेको जीवन यही हो । यही काफी छ मलाई ।

प्रसन्नबाट बालसुलभ आदेश आयो, "बाबा ! मलाई जस्टिनको जस्तै साइकल ल्यादिस्यो । मलाई साइकल कुदाउन आउँछ ।"

–"हुन्छ बाबु ! भरे अफिसबाट फिर्दा साइकल पसल छिरूँला ।" म भन्छु ।

"मलाई नि टेडी बियर ल्यादिस्यो है बाबा हजुर !" काखकी छोरी आफ्नो माग राख्छे ।

–"हुन्छ छोरी ! अनि तिमीचाहिँ साइकल सिक्दिनौ ?" म भन्छु ।

"नाइँ ! मलाई त डर लाग्छ ।" ऊ भन्छे ।

उनीहरुको बालमनोविज्ञान बुझेर म बोझिल हुन्छु । नारी र पुरुष बराबरी भनेर जति नै निर्विकार विचार राखिए पनि प्रकृतिले नै उनीहरुलाई अलग गरिदिने रहेछ । नारी–पुरुषोचित व्यवहार निमिट्यान्न पार्न नसकिने रहेछ । हामीले यिनीहरुका बीचमा असमनताका बीजहरु रोपिदिएका छैनौँ । यिनीहरुले गर्ने काम, कर्तव्य, अधिकार र दायित्व समानरुपले प्रतिस्थापन गरेका छौँ । तर खै कहाँ कैफियत रह्यो ?छोरो प्रसन्न ल्यापटप बोकेर अफिस गएजस्तो नक्कल गर्छ । छोरी प्रेरणा आमाको पछ्यौरीलाई साडी बनाएर भन्छे, "बाबा मलाई कस्ती देखियो नि ?"


साँझ साइकल पसलमा छिरेको थिएँ । प्रसन्नले आदेश दिएको थियो, "मलाई जस्टिनको जस्तै साइकल ल्याइदिस्यो है !"

साइकल पसलको अगाडि हरियो चोली, हल्का आकाशे रंगको खुइलिएको साडी लगाएर उनी एउटा बाकसमा तम्तयार भएर बसेकी थिइन् । उनका हातमा टायर रिमुभर र पिलास थियो । उनको अनुहार हेरेँ, चाउरिँदै गएका गाला अनि ओठको छेउमा कालो कोठी । हेर्दा ३५/३६ नाघेकी जस्ती देखिन्थिन् ।

साँझ चर्को घाम लागेको थियो, लाग्थ्यो आगाका लप्काहरु जमिनमा बर्सिएका छन् । सायद `ग्लोबल वार्मिङ'को दुष्चक्र हुनुपर्छ । वातावरण सबै उजाडिएका छन् । प्रदूषित वातावरण अनि धुलो, धुवाँले सेरोफेरो विकृत, दुर्गन्धित भएको छ । जमिनमा गगनचुम्बी महलहरु ठडिएका छन् । सम्पूर्ण मानिसहरु भौतिकवादी भएका छन् । वातावरण सम्बद्र्धनमा को चाहिँ लाग्ला र ? दाताहरुले डलर पठाइहाल्छन्, सहयोगी हातहरु मनग्य छन्, कसलाई चिन्ता छ र !


उनले साडीको आँचलले आफ्नो शिर ढाकेकी छिन् । मेरो आँखा उनको शरीरभरी दौडियो । शरीरमा मांसको प्रतिशत दिनानुदिन घट्दो देखिन्थ्यो । सार्है कमजोरजस्ती देखिन्थिन् । उनले मलाई एकोहोरो हेरेको देखेर हठात् भनिन्, "के भयो भाइ ?"

–"यो बास्केट साइकलमा जोडिदिनुपर्यो ।" आफूलाई सन्तुलनमा राख्दै मैले भनेँ ।

उनी स्क्रु ड्राइभर लिएर साइकलमा बास्केट जोड्न थालिन् । मैले उनको शरीरलाई एकचोटी सर्सर्ती नियालेँ । दिनहुँ साइकल मर्मत गर्न घाममा बसेर डढ्दै गएका काला छाला देखिन्थे । सुकेका वक्षमा कुनै आर्कषण थिएन । मानौं, उनका वक्षका उभारलाई घामका विकिरणले चुसेका छन् ।

म उनको यस्तो परिस्थिती देखेर व्यथित हुन्छु । मभित्रको मानवीय संवेदना नराम्ररी हुँडलिन्छ । कहाँ–कहाँ भित्री मुटुको कुनामा स्नेह पलाएर आउँछ । सोच्छु, पक्कै उनको जीवनमा ठुलै घटना घटेको हुनुपर्छ । उनको जीवनको कथा सुन्न व्यग्र हुन्छु । आफूले गर्न सक्ने सहयोग गर्न मनलाग्छ । उनको त्यो भयावह स्थिति देखेर मेरो हृदय बोझिल हुन्छ । अनि फेरि सोध्छु–

"दिदी तपाईंको नाम के हो ?"

–"किन नि ?"

"त्यसै सोध्या । तपाई महिला भएर पनि साइकल मेकानिक हुनुहुन्छ नि ! मलाई साँच्चै उदाहरणीय लाग्यो ।"

–"के महिला साइकल मेकानिक हुन सक्दैनन् र ?"

"सक्छन् नि ! किन तपार्इंले सक्नुभएको छैन र ?" मेरो प्रतिप्रश्न थियो ।

–"तपाईं पत्रकार हो ?"

"होइन । म एउटा एनजिओमा काम गर्छु ।"

–".............................."

"मेरो कोठा नजिकै छ । केही सहयोग चाहिए मलाई भेट्नु होला ।"

–"आश्वासनको लागि धन्यवाद !"

०–०–०

विहान १० बजे उही बासी घाम लागेको थियो । बाहिर निस्कन सक्ने अवस्था थिएन । त्यसो त शनिबार अफिस विदा थियो । म विदाको दिन अध्ययन गर्न रुचाउँछु । अरु दिन 'प्रोजेक्ट प्रिपरेसन' गरेरै समय बित्ने गर्छ । भर्खरै बजारबाट आएको बहुचर्चित नोरा रोबर्टस्को उपन्यास 'चेजिङ फायर'लाई सिनित्त पारेर, म ‘मेरी हिगिन्स क्लार्क'को उपन्यास 'आई विल् वाक अलोन' पढ्न सुरुवात गरेको थिएँ । कथा अपराध र अपहरणको सेरोफेरोमा घुमेको थियो । अहिलेको वर्तमान परिस्थितीसँग ठ्याक्कै मेलखाने कथावस्तु लाग्यो ।

अचानक, श्रीमतीजीको भान्साबाट आवाज आयो, "हजुरलाई कोही भेट्न आउनुभएको छ !"

म अध्ययन कक्षबाट बाहिर निस्किएँ । भित्री शयनकक्षतर्फ लम्किएँ । मेरो एकाग्रता भंग भएकोमा रीस उठ्यो ।

शयनकक्षमा उही `नोस्टाल्जिक' अनुहार थियो । साँझमा भेटिएकी साइकल मर्मत गर्ने दिदी । उनी उही पोशाकमा मकहाँ आएकी थिइन् । मैले उनलाई सोफामा बस्न भनेँ । श्रीमतीजी चिया/चमेनामा लाग्नुभयो ।

उनले गला साफ गर्दै भनिन्, "सुनेकी छु, तपाईँको संस्थाले एकल महिलालाई आर्थिक सहयोग गर्दैछ रे । मलाई नि सहयोग गर्नुपर्यो है सर !"

–"हाम्रो प्रोजेक्ट भनेको एकल महिलाहरुको चौतर्फी विकासका लागि हो । त्यसका निम्ति तपाईंले आफ्ना बारेमा मलाई बताउनुपर्ने हुन्छ । यसै अनुरुप 'केस–स्टडी' तयार भएर हेडअफिस पुयाइन्छ । अनि सहयोगबारे निर्णय हुन्छ ।" मैले प्रक्रियागत शैलीमा भनेँ ।

"हवस्, म सबै कुरा भन्छु ।" उनले स्वीकारोक्ति जनाइन् ।

–०–०–०


"मेरो कस्तो पन्क्चर जिन्दगी जसलाई मैले टाल्नै सकिनँ । जीवनमा दिनप्रतिदिन ठुला भ्वाङ परिरहे । साइकलको टायर–ट्युब टालेर पोख्त भएकी म आफ्नो जिन्दगीलाई किञ्चित् टाल्न सकिन । रिस, द्वेष, पीर, वेदनाले टालेँ, तर टालिएन । आशा, भरोसा अनि प्रेमले टाल्न खोजेँ, अहँ टाल्न सकिनँ । दिनानुदिन फाट्दै गए जीवनका धाँजाहरु । जीवन विकृत बन्यो । कस्तो दारुण नियतिको सामना गर्नुपर्यो मैले । लाग्थ्यो, भावीले छैठीका दिन यही नियति कोरिदिएका रहेछन् ।"


पढ्ने काम छोडेर मैले ठिकै गरेछु । म उनको कण्ठबाट एउटा बीभत्स जीवन पढ्दै थिएँ । तपाईंले पक्कै थाहा पाउनुभयो होला उनी कति शक्तिशाली कथाकार रहिछन् । उनले आफ्नो यथार्थ जीवन–कथा मलाई भन्दै थिइन् । उनी जीवनको रणभूमिमा अनायासै परास्त भएकी एउटी अरक्षित महिला थिइन् जसलाई म व्यथित हुदैँ सुन्दै गएँ–


–"म सानैदेखी फुपुसँग हुर्किएकी एउटी थारू केटी हुँ । म पाँच वर्षको हुँदा मेरा बाबा क्षयरोगले ग्रस्त भएर बित्नुभयो । उहाँ अचाक्ली रिक्सा कुदाउने गर्नुहुन्थ्यो । नकुदाएर पनि के चाहिँ गर्नु र ? बुवाको मृत्युपछि आमा एक्ली हुनुभयो । घरका सम्पूर्ण जिम्मेबारीहरु उहाँमाथि थोपरिए । घरमा आर्थिक संकट आएपछि उहाँ घर निर्माण व्यवसायको कुल्ली काममा जान थाल्नुभयो । एकदिन उहाँ इट्टाहरु बोकेर ५ तलामाथि जाँदै हुनुहुन्थ्यो । अचानक बाँसको भ¥याङबाट चिप्लिएर उहाँ लड्नुभयो । माथिबाट झरेका इट्टाहरु उहाँका टाउकोमा बजारिए । उहाँको घटनास्थलमै ज्यान गयो ।

आमाबाबाको मृत्युपछि म नितान्त एक्ली भएँ । मेरी एकमात्र सहारा, मेरी फुपूको घरमा बस्न थालेँ । मैले बाल्यकालका धेरै समय फुपूसँगै बिताएँ ।

ममा यौवनावस्था चढ्दै थियो । मलाई फुपूले सात कक्षासम्म मात्र पढाउन सक्नुभयो । उहाँको जीवन पनि गरिबीले ग्रस्त थियो । उहाँ आफैँ निर्धो हुनुहुन्थ्यो । फुपाजु गाउँकी एउटी थरूनीलाई टिपेर भारत भासिएका थिए । उनलाई फुपूको कहिल्यै चिन्ता भएन र थिएन पनि । फुपू आफ्ना साना दुई छोराछोरीलाई पाल्दै हुनुहुन्थ्यो । उहाँ पनि गाउँकी अन्य महिलाजस्तै घर निर्माणमा काम गर्नुहुन्थ्यो ।

गाउँका सबै तरुनी केटीहरु घर निर्माणमा काम गर्दथे । म पनि काम गर्न हौसिएँ । म फुपूले काम गरेतिर जान थालेँ । हामी गाउँका १०/१५ जना केटीहरु मिलेर साइकलमा साइटतिर जाने गर्दथ्यौँ ।


केलाल ठाकुरलाई मैले पहिलोचोटि यौटा साइकल पसलमा देखेकी थिएँ । ऊ त्यहीँ साइकल मेकानिक थियो । हामी दिनहुँ उसको पसलमा पम्प हालेर साइटतर्फ लाग्थ्यौँ । । केलाल खालि पान चपाइरहन्थ्यो । उसका दाँत पानले गर्दा राता भएका थिए । उसको अनुहार विरुप थियो । शरीरमा मयल ढाडिएको देखिन्थ्यो । महिनादिन ननुहाएकोजस्तो देखिन्थ्यो । कपाल जिङग्रिङ्ग थियो, मानौ उसको कपालले लामो समयदेखि काइँयो र तेलको सामिप्यता पाएको थिएन । मलाई झट्ट हेर्दा उसको अनुहार घीन लाग्थ्यो ।


कहिलेकाँही उसले मेरो साइकल मर्मत गर्दा पैसा लिदैथ्यो । ऊ भन्थ्यो, "तुम मेरी सहेली हो । सहेली से पैसा लेना पाप है ।"

अक्सर म एक्लै हुदाँ ऊ मलाई पानीपुरी अनि आलुनिम्की खुवाउँथ्यो । कुल्फी, आइसक्रिम खान नमान्दा हदैसम्म गर्दथ्यो । मेरो साइकलमा चाबी लगाएर आफ्नो गोजीमा राख्थ्यो । खोस्न पनि सक्दिन थिएँ । ऊ सयका पाँचवटा हरिया नोट निकाल्दै भन्थ्यो, "तुम बहुत सुन्दर हो । यिसे अपनी पास रखना । जरुरत पडे तोह खर्च करना ।"

उसले जे भन्छ मैले त्यो मान्नुको विकल्प थिएन । म एकप्रकारले थिचिएकी/किचिएकी थिएँ तर मलाई यौटा नूतन अनुभूति हुन्थ्यो । एउटा प्राप्ती ! खै कहाँ के नपुगेको !


एकदिन त अनौठो भयो ।

मलाई फुपूले आफ्नो कोठामा बोलाउनुभयो । म फुपूको कोठामा गएँ । ताज्जुब लाग्यो । ऊ फुपूको छेऊ बसेको रहेछ । फुपूले मलाई कुर्सीमा बस्न इसारा गर्नुभयो । उहाँले भन्नुभयो, "यिनले तँलाई मन पराउँछन् रे ! तँलाई सुखसँग राख्छु भन्छन् । मलाई नि तेरो जीवन सुखी भएको हेर्न मन छ । यस्तो श्रमजीवी कहीँ पनि पाइँदैन । तेरो जीन्दगी हाँसखेल गर्दै बित्छ । के भन्छेस् तँ ?"

फुपूको त्यो प्रश्नमा यौटा अभिभावक दायित्वको पृष्ठभूमि मिसिएको थियो । मैले स्वीकारोक्तीमा टाउँको हल्लाए । ऊ खुशीले ओतप्रोत भएर भन्यो, "मैँ तुमको खुश रखुँगा । तुमको जिन्दगीभर साथ दुङ्गा ।"


उनको दारुण कथाले म विष्फोटित भएँ । म टुक्रा–टुक्रामा विभाजित भए । जसरी एउटा सीसा ढुङ्गामा परेर टुक्रिन्छ । मैले जीवनभर नदेखेको/नभोगेको दुःख उनले भोगेकी रहिछिन् । म अद्र्धमुच्र्छित हुन्छु, मेरो चेतना गुम्छ । उनलाई हेर्छु, उनी पसिनाले भिजेकी छिन् । उनी साडीको आँचलले आफ्नो गाम्भीर्य अनुहार पुस्छिन् । उनको अनुहार मरुभूमिको बालुवाजस्तो सुख्खा प्रतीत हुन्छ । निस्सार !


–”विवाहपछिका हाम्रा दिनहरु सुखपूर्वक बित्न थाले । हाम्रो प्रेम बढ्ता भएर पोखिएको थियो । उनी विहान खाना खाएर साइकल पसल जान्थे । म कोठामा एक्लै बस्थेँ । सधैजसो काममा काम गरिरहने म, काम नगर्दा कस्तो अनुभूति हुन्छ भन्ने कुरा तपाईलाई थाह होला । उनका कोही आफन्त थिएनन् । जससँग म गफ गर्न सकूँ । उनि भारतबाट काम सिकेर नेपाल छिरेको बताउँथे ।

मेरो न्यास्रोपना मेट्न म पनि उनिसँग पसल जान थाले । आफूलाई काम सिकाउन आग्रह गरेँ । उनले मलाई सिकाए । केही महिनाको दौरानमा मैले टायर/ट्यूब/पन्चर टाल्न सिकेँ । पाङ्ग्राका भाँचिएका स्पोक बदल्न, साइकलको ब्रेक कस्न/बदल्न मैले सिकेँ । लगातार ६ महिनाको कठोर परिश्रमबाट म निपूर्ण मेकानिक बनेँ ।

अब हामी दुवैजनाई सजिलो भयो । दुवैजना मिलेर कमाउन थाल्यौँ । सबै ग्राहकहरु हामीतिर सोहरिए ।


तर जीवन कहाँ धाराप्रवाह बग्दो रहेछ र ! तेरो जीवनको पाङ्ग्रामा ठुलो दुलो पर्यो, टाल्नै नसकिने गरी । उनि रक्सी खाइरहन्थे । मैले नखान स्वास्थ्यलाई हानी गर्छ भनेकी थिएँ । तर उनि मबाट लुकेर रक्सीको शोखी नै बनेछन् ।

एकदिन उनि विषम बिरामीमा परे । डाक्टरलाई देखाउँदा उनलाई क्षयरोग भएको रहेछ । अझै उनले रक्सी खान छोडेनन् । क्षयरोगको उपचार गराएँ । उनलाई अलि बिसेक हुदैथियो । लगत्तै उनलाई जण्डिस् लाग्यो । क्षयरोग र जण्डिस्ले उनि कामै गर्न नसक्ने भए । त्यसपछि उनको शरीरमा पत्थरी पनि देखा पर्यो । क्रमैसँग पत्थरीपछि उनको पेटमा पानी जम्यो । मैले चन्दा उठाएर इलाज गरेँ । त्यैपनि उनलाई सन्चो भएन । हस्पीटलबाट उनलाई घरमा ल्याएर राखेँ । घरको आर्थिक संकट् र उनको उपचारको लागि म साइकल मर्मत गर्न निस्किए । उनलाई मैले पूर्ण हेरचाह गर्न सकिनँ । म काममा दौडिनुपथ्र्यो । त्यतिखेर मलाई आफन्त नभएको पीडा महसुस भएको थियो । मैले कसैको आड, भरोसा पाइन त्यसबेला ।

त्यसलगत्तैको उनको पेटमा पानी जम्यो । मैले केही पैसा खोजखाज गरेर उनको अप्रेसन गराएँ । अप्रेसन पछाडि उनको जीउ पूरै सुन्नियो । मसँग एकपैसा थिएन । त्यसपछि आफ्ना सम्पूर्ण गरगहना, मंगलसुत्र बेचेर हस्पीटलमा उनलाई आकस्मिक कक्षमा राखेर उपचार गराएँ । त्यतिखेर हस्पीटलमा मलाई औषधी किन्ने समेत पैसा भएन । सार्है लाचारीको नियति भोग्नुपर्यो मैले । अन्तः एक विहानी उनले मलाई एक्लै छोडी यस संसारबाट गए ।


म तिनताका एकदमै विव्हल भएँ । भेट्नो चुडिएको फल जसरी खस्दै गएँ । नियतिले मेरो लागि हृदयमा पुर्न नसकिने खाडल पारिदियो । उनको देहान्तपछि म पुनः काममा फर्किए । काखको सानी छोरी रेखाको पालनपोषण समय व्यतित थर्न थाले ।

के गर्नु भाइ ! जतिसुकै ठुलो व्यथा भए पनि हामी नारीले थामिनुपर्ने रहेछ । अहिले रेखा १० वर्षकी भइसकेकी छे । अब यसलाई गतिलो शिक्षा प्रदान गरेर मेरो जीवनलीला समाप्त पार्ने निष्ठुर रहर छ । मलाई दिनप्रतिदिन बुढ्यौलीले छुदैछ । पहिलाजस्तो काम गर्न पनि सक्दिन । श्रीमान्को उपचारका लागि लिएको ऋण अझै ५० हजार तिर्न बाँकी छ । तपाईंको आड पाएँ भने यौटा किराना पसल खोलेर अबको जीवन काट्ने थिएँ ।


म उनको दारुण कथा सुनेर पूर्णतः व्यथित हुन पुग्छु । मेरा आँखाबाट बलीन्द्र आँसुका धारा टलपल गदै बग्न थाल्छन् । श्रीमतीजी टाउको निहुँर्याएर सुकसुकाउन थालिछन् । उनी कतिखेर आइन्, थाहै पाइनँ । अनि म वाष्पकण्ठले उनको लागि फारम भर्न थालेँ–

"तपाईंको नाम ?"

–"उजेली थारु ।"

फ्रन्टपेजको तस्बीर

कथा
तस्बीर फ्रेन्टपेजमै छापिएछ । मेरो नजर अन्तै मोडिएको रहेछ । आकल्पचाहिँ क्यामरातर्फ नै हेरिरहेको देखिन्छ । ऊ दौरा सुरूवालमा सजिएको छ । भादगाउँले टोपी र सेतो चस्माले उसलाई असाध्यै सुहाएको छ । ऊ निक्कै नर्भस देखिन्छ । म रातो बनारसी साडीमा सजिएकी छु । टल्कने घुम्टोले मेरो शीर ढाकिएको छ । गला र हातमा प्रशस्तै गहनाहरू सजिएका छन् । यो तस्बीर हो मेरो दोश्रो विवाहको । अर्थात मेरो पुर्नजन्मको । म दोश्रोपल्ट जन्मिएँ । तस्वीरको क्याप्सन पढ्छु । यसो लेखिएको छ, – "आकल्प दाहाल उनकी बाल्यकालकी साथी आँचल श्रेष्ठसँग सोमबार वैवाहिक सम्बन्धमा गाँसिदै । आँचल १० महिना अघि विधवा बनेकी थिइन् । हिन्दू वैवाहिक परम्पराअनुसार उनीहरूको विवाह सम्पन्न भएको छ ।"


फेरि एकचोटी मेरो सिउँदो रङ्गियो । फेरि एकचोटी म रातो साडीमा बेहुली बन्न पुगेँ । मेरा हातमा काँचका राता चुराहरू बज्न थाले । हत्केलामा फेरि एक पटक मेहन्दी छापिए । म त्यसलाई गौर गरेर हेरिरहन्छु । असाध्यै चहकिलो देखिन्छ । हत्केलाका भाग्यरेखा हेर्छु । चलिरहेको चलचित्रझैँ प्रतीत हुन्छ । कस्तो लेखान्त हो यो ? म आफैलाई प्रश्न गर्छु । जीवन कस्तो लिपी हो, बुझ्नै नसकिने । पढ्नै नसकिने । एकाएक प्रश्नहरू खेल्न थाल्छन् । जीवनको रचनाकारलाई कतै भेट्टाएँ भने सोध्ने थिएँ, "आखिर किन लेख्यौ मेरै जीवन यस्तो ?"


म बस्तुसरह प्रयोग भएँ । नारी परिवर्तनको बहनामा बस्तुसरह प्रयोग भएका छन् । उनीहरूको भाग्य कसैमा निहित रहेछ । जीवनमा एउटी स्त्रीलाई पुरूषको खाँचो पर्छ या एउटा पुरूषलाई एउटी स्त्रीको । जसरी नि स्त्रीहरू प्रयोग भएका रहेछन् यो पुरूषवादी समाजमा । मेरो जीवन पनि एउटा प्रयोग हो । म नजानिदो तरीकाले प्रयोग भएछु । म एउटी प्रयोगसिद्ध आईमाई हुँ । म विगत र आगतलाई तुलना गर्छु । घना जंगलमा निशा लागेर बाटो भुलेको फकीर जस्तो लाग्छ आफूलाई । मेरो जीवनका बाटाहरू अनायासै मोडिए । मेरो जीवन यसरी कायापलट भयो–

जीवनको पहिलो अनुच्छेदमा म एकदमै खुसी थिएँ । प्रारब्धमा सुखान्त वाक्यांशहरू लेखिएका रहेछन् । विधान मेरो समग्र जीवनकै परिचालक थिए । उनी नै थिए मेरो जीवनको प्रारम्भ अनि अन्त्य पनि । हामी भर्खरै वैवाहिक सम्बन्धमा गाँसिएका थियौँ । विवाह भएको एक वर्ष पनि भएको थिएन । हामी विवाहपछि प्रेममा गुलाफझैँ फक्रिएका थियौँ । आकाशजस्तो निलो र कञ्चन थियो हाम्रो सम्बन्ध । हामीले देख्ने प्रत्येक दिनलाई हामीले प्रेमरसले भिजाएका थियौँ । विधान हरपल मेरै समीपमा रहन्थे ।


उनी सानै छदाँ उनका बाबा–आमा एउटा अकल्पनीय सवारी दूर्घटनामा परि निधन भएका थिए । उनी सानै उमेरमा पिताको साहारा र मातृस्नेहबाट बञ्चित हुन पुगे । आफ्नै काका–काकीले उनलाई एउटा अभिभावकको प्रेम दिए । काका–काकीको लालन–पालन बाटै उनी हुर्किए ।

उनी तृप्त देखिन्थे । मैले उनलाई समग्र प्रेम दिएकी थिएँ । म पनि उनीबाट तृप्त भएकी थिएँ । किनकी एउटी नारीको लागि सबैभन्दा ठूलो कुरा उसलाई प्रेम गर्ने पुरूष नै हुदोँ रहेछ ।

हामी हरसमय प्रेमलापमा लिप्त रहन्थ्यौँ । समय कसरी काटिन्छ हामीलाई थाहा हुदैनथ्यो । उनी मेरो सौन्दर्यको खुलेर प्रशंसा गरिरहन्थे । मलाई कताकता काउकुती लाग्ने गर्दथ्यो । उनी प्रत्येक समय मेरो मुहारमा आफ्ना आँखाहरू नचाइरहन्थे । त्यस्तरी हेरेको देखेर मलाई लज्जाबोध हुन्थ्यो । एउटा फरक अनुभूति हुन्थ्यो । यो भन्दा ठूलो ऐश्वर्य मेरो लागि के नै होला र ?

एकविहान मैले आफूलाई ऐनाको अगाडि राखेर सजाइरहेकी थिएँ । उनले सोफामा बस्दै भनेका थिए–

–"आँचल, तिम्लाई गाजलले अचाक्ली सुहाउँछ ! तिम्रा आँखाहरू हेरिरहन मन लाग्छ ।"

"म निक्कै भग्यमानी रहेछु विधान ।"

–"कसरी ?"

"म प्रत्येक विहानी यी आँखाहरूमा हजुरको प्रेमको गाजल पोत्छु । हजुर विनाको मेरो सौन्दर्य पूर्ण हुन सक्दैन विधान ।"

उनले मेरो मुहार यन्त्रवत् हेरिरहे । मलाई आफ्नो आलिङ्गनमा कस्दै उनले भने, "आँचल, तिमी मेरी जीवन हौ ।" उनको आँखामा अनायासै देखिएको आँसु पुछ्दै मैले भनेँ, "तपाईं मेरो जीउने आधार हुनुहुन्छ । जीवन जीउने अधार विना सार्थक छैन विधान ।"


अहिले म कोठामा एक्लै छु । कोठा व्यवस्थित रूपले सुसञ्जित छ । झ्यालबाट आएको प्रकाश र हावा सिधैँ मेरो शरीरमा ठोकिन्छ । शरीरका सम्पूर्ण अवयवहरूलाई त्यसले तरङ्गित पार्छ । अनायासै मेरो नजर पर्खालमा टाँसिएको फोटोमा केन्द्रित हुन्छ । विगतको एउटा पाना पल्टिन्छ, किताबका पानाहरू पल्टिए जसरी–

हामीले विश्वविद्यालयको पढाइ सक्नै लागेका थियौ । घरमा मेरो विवाहको कुराहरू उठ्तै थिए । मैले कलेजको चउरमा बस्दै आकल्पलाई सबै कुरा सुनाइरहेकी थिएँ । ऊ निक्कै भावुक देखिन्थ्यो । त्यसपछि उसले मलाई अँगालो मारेर यो तस्वीर खिच्दै भनेको थियो, "आँचल, तिम्रो विवाहपछि हाम्रो भेट नहुन सक्छ । हाम्रो सम्झना स्वरूप यो तस्वीर साक्षी बस्नेछ । यसलाई म हृदयको भित्तामा टाँस्नेछु ।"


म स्तब्ध बनेकी थिएँ । त्यहीँ तस्वीर अहिले भित्तामा सजिएको छ । तस्वीर मोबाइलबाट लिइएको हुनाले स्पष्ट देखिदैन । यद्यपी उसको आँखामा खिचिएको मप्रतिको प्रेम प्रष्टै देख्न सक्छु ।

हाम्रा परिवारका मान्छे शिक्षित भए पनि उनीहरूको हृदय गरिब थियो । अहिले देखिदै गरेको परिवर्तनगामी सोच पनि त्यतिखेर थिएन । म कथित तल्लोजातकी नेवार्नी केटी ऊ ब्राह्मण समुदायको केटो । समाजमा हाम्रो सम्बन्ध पाच्य थिएन । घरमा आऊ–जाऊ गर्न त्यस्तो केही थिएन तर सम्बन्धमा गाँसिन हामीलाई जातीय पर्खालले छेकेको थियो ।

हामी भागेर पनि विवाह गर्न सक्थ्यौँ । तर मैले नै मानिनँ । म उसको भविष्य सुखपूर्वक बितेको हेर्न चाहन्थेँ । उसले स्नातकोत्तर गर्न काठमाण्डौं जाने सोच बनाएको थियो । ऊ अझै पढ्न चाहन्थ्यो ।

म पनि आकल्पसँगै काठमाण्डौं गएर पढ्न चाहन्थे । ऊ सँग बसेर अध्ययन गर्ने लत बसेको थियो मेरो । तर चिताएको सबै कुरा कहाँ पुग्दो रहेछ र ? घरमा विवाहको कुरा उठ्तै थियो । मान्छेहरू दिनहुँ विभिन्न सम्बन्धहरू ल्याएर आइरहन्थे । पद, पैसा र हैसियतको बहस चलिरहथ्यो । यता, बाबालाई म विवाह गर्दिन, केही वर्ष पढ्छु भनेकी थिएँ । उहाँले भन्नुभएको थियो, "यस्तो केटा फेरि पाइदैन । विवाह गरेर नि पढ्न सकिन्छ !"

मैले भनेकी थिएँ, "अर्काको घरमा गएपछि मेरो कुरा कस्ले सुन्छ र ?"

उहाँले मेरो प्रश्नको बेवास्ता गर्दै भन्नुभएको थियो, "राम्रो घरानाबाट कुरा आ’छ । चाडैँ निर्णय गरेस् । अरू म केही जान्दिनँ ।"


मेरो विवाह हुने निर्णयले आकल्प स्तब्ध देखिन्थ्यो । ऊ कहाँ–कहाँ हराइरहन्थ्यो । अनायासै केहीमा टोलाइरहन्थ्यो । हामी हिँडिरहेका थियौ । म निःशब्द थिएँ । हामीसँग कुराको कुनै प्रसंगै थएन । हामी पूर्णतः मौन थियौ । भोटेपूल आएपछि उसले मुहारमा बनावटी हाँसो ल्याउँदै भनेको थियो–

–"विहे गर्न लागेकी छ्यौ । कस्तो भैरहेको छ त ?"

"रमाइलो लागिरहेको छ ।"

–"कस्तो रमाइलो ?"

"कस्तो भन्नु ! अब श्रीमान हुने भए त्यसपछि बिस्तारै छोराछोरी पनि हुने भए ।"

–"ए, तिमीलाई यस्तो पो रहर थियो ?"

"यस्तो रहर त सबै नारीहरूलाई भैहाल्छ नि ?"

–"त्यसो भए ११ जनाको फुटबल टिम बन्ने भयो अब ?"

"बनाए नहुने क्यै छैन"

ऊ खितिति हाँसेजस्तो गर्यो । अनि एकैछिनमा चुप रह्यो । उसको हाँसो पलभरमै गायब भयो । हामी फेरि त्यहीँ मौनताको शिकार भयौ । फेरि कुनै पनि कुराको प्रयोजन निस्किएन ।

आकाश धुम्म भइरहेको थियो । हामी बस छोडेर हिँड्दै घर जाँदै थियौँ । अकस्मात् पानीका छिटाहरू हाम्रा शरीरमा बर्सिन थाले । केहीछिनमै मेघ गर्जिएर पानी दर्किन थाल्यो । हामी ल्याफ्फ पानीले भिज्यौँ । पानीका प्रत्येक थोपाहरूले हाम्रा सम्पूर्ण सम्बन्धहरू पखालिए । हाम्रा तमाम यादहरू एउटा भेल भएर शरीरबाट बग्न थाले । हामी मूर्तिवत् टोलाइरह्यौँ दूर क्षितिजमा । एक्कासी ऊ जोडले करायो–

"कोरिदै थियो एउटा तस्बीर

हृदयका भित्ताहरूमा

जब,

चोरीदिन्छ नियतिले

प्रेमका फाइलहरूबाट

मेरो प्रिय जूनलाई

आज,

हराएका छन् जीवन–कथाका

तमाम प्लटहरू"


कानमा मोटरसाइकलको आवाज ठोकिन्छ । सायद आकल्प आएको होला । मोटरसाइकलको आवाज मेरो कानमा गुञ्जिन कम हुँदैन । त्यो कर्कस आवाजले मलाई प्रताडना दिइरहन्छ । म फेरि विगतमा पौडिन्छु –

विधान राजधानीकै एक प्रतिष्ठित बैकको म्यानेजर थिए । एकाविहानी उनी मसँग सहाचार्यको आनन्द नलिई अफिसतर्फ हानिएका थिए । बैंकमा शेयरधनीहरूका बीचमा आपत्कालीन बैठक रहेछ । म सखारै मन्दिरतिर गएकी थिएँ ।

–"हेल्लो, आँचल के गर्दै छ्यौ ?"

"क्यै गर्या छैन । यतिकै बसेकी ।"

–"आज तिमीलाई देख्न पाइएन । मिटिङ्ग सकेर घर फर्कदैछु ।"

"अनि बाइक चलाउँदै फोन गर्नुपर्छ त ?"

–"ह्या, के हुन्छ ? ओई सुन न !"

"भन्नोस् न ।"

–"एक किस देऊ न फोनबाटै ।"

म काका–काकीसँग बसेर टिभी हेर्दै थिएँ । मैले लजाउँदै इन्कार गरेँ, "ह्या, के भन्नुभाको ?"

उनी जिद्दी गर्दै थिएँ, "छिटो गर न"

एक्कासी कानमा घड्याप्पको आवाज सुनियो । म आत्तिएँ । सम्भावित दूर्घटनाको आशंकाले चिच्याएछु । काका–काकी पनि के भयो भन्दै आत्तिनु भयो । काकाले फोन सुन्दै दौडिएर घटनास्थलतर्फ हान्निुभयो । काकी र म एकदमै भयभीत भयौँ । मेरो आशंका साँचो भएको थियो ।

विधान रोकिराखेको ट्रकको पाङ्ग्रामूनि पसेछन् । एउटा स्कुटरलाई साइड दिँदा बतासिएर सो घटना घटेको रहेछ । उनको हेल्मेट उछिट्टिएर टाउकोमा गहिरो चोट लागेछ । उनलाई अस्पताल लग्दै गर्दा बीच बाटैमा उनको प्राणपखेरू उडेछ ।


मेरो हृदय एक्कासि गह्रौ भयो । एउटा अङ्ग नै छुटेझैँ महसुस भयो । म सलाई निख्रिएको खोलझैँ रिक्त भएँ । अनायासै आँसुका भलहरू बग्न थाले । मैले आफूलाई थाम्नै सकिनँ । दौडिदै गएर एक्कासि उनको मृत्त शरीरलाई अगाल्न पुगेँ । उनको मुहारभरी चुम्बन बर्साउन थाले । मेरो करूणस्थिति कसैले नि देख्न सकेनन् । त्यसपछि एक जत्था आईमाईहरू आएर मेरो सिउँदो पुछिदिन थाले । नाडीमा लगाएका सम्पूर्ण राता चुराहरू फुटाउन लागे । हाम्रो प्रेमको प्रतीक गाजल अनुहारभरी लत्पतियो । मैले आफूलाई उनीहरूको चङ्गूलबाट बचाउन खोजे तर उनीहरूले हिंस्रक शिकारीझैँ मलाई तबाह गरेर नै छाडे । उनीहरूले विधानले दिएका सम्पूर्ण चीजहरू एकाएक गर्दै खोसे । मेरो सम्पूर्णता लुटियो । मेरो समृद्धि खोसियो तर उनीहरूले मेरो हृदयभित्र भासिएका सम्झनाहरू लुट्न सकेनन् । त्यसैले मलाई पोलिरह्यो । कस्तो पीपासुयुक्त छ हाम्रो समाज । एउटा विधवा, पोइ मरेकी राँडीलाई जे गरेपनि हुने ? पोइ मरेपछि के उसको अस्तित्व पनि मर्छ र ? किन ती प्रेमका प्रतीक सिन्दूर, पोते र चुरा पहिरिन नपाउने ? कस्तो गन्धे परम्पर हो यो ! म किंकर्तव्यविमूढ बनेँ । महिला अधिकारका बोक्रे नारा ओकल्ने आईमाईहरू मेरो अस्तित्व मेट्दै मलाई सेतो कात्रो पहि¥याएर गए । म पूर्णतः सेतो कपडाले बेरिए अब ममाथि विभिन्न लाञ्छनाका दागहरू लगाउन सजिला भएका थिए ।


विधानको मृत्यूपछि म काठमाण्डौंको कङक्रिट सहरमा एकदमै एक्ली भएँ । उनीसँग बिताएका प्रत्येक पलहरूले मलाई लुछ्न लागे । उनले प्रयोग गर्ने टावल जसले मैले उनको शरीर पुछिदिने गर्थे । उनले अक्सर पढ्ने उपन्यासहरू जसलाई पढेपछि मलाई बुझाउने गर्थे । उनलाई मनपर्ने रातो कप जसमा म कफीसँगै पे्रम मिसाएर पिलाउने गर्थें । उनले किनिदिएको गाजल जसलाई मैले दिनहुँ लगाउनु पथ्र्यो । मलाई मनपर्ने गुलाबी लिपिस्टिक जसले उनका गालामा मेरा अधरका दाग लगाउथेँ । यी सबै यादहरूले मलाई निमोठिरहन्थ्यो । घरबाट विरक्तिएर म काठमाण्डौंका गल्लीहरू चहार्न थाले । त्यहाँ पनि मान्छेको भीड र कोलाहलले म अझ तड्पिन्थे । मेरो यस्तो चाला देखेर काका–काकी हैरान हुनुहुन्थ्यो ।


फुसर्दमा कहिलेकाँही आकल्प आउने गथ्र्यो । हल्का राहतको महसुस हुन्थ्यो । ऊ आएपछि त्यसै–त्यसै सबै पीरहरू कम हुन थालेको आभास हुन्थ्यो । ऊ काठमाण्डौं बसेर अध्ययन गदै थियो । मेरो विवाह भएकै दिन ऊ पनि काठमाण्डौं छिरेको थियो ।

विधानको असामयिक निधनले ऊ पनि निक्कै स्तब्ध थियो । मलाई ढाडस दिदै ऊ भन्थ्यो, "अब तिम्ले परिवर्तनलाई आत्मसात गर्नुपर्छ । जीवन यसरी चल्दैन बुझ्यौ । अब तिमीले दृढ संकल्प लिनुपर्छ ।"

म निराश बनिदिन्थेँ, "जीवन बोझ भइरहेको छ आकल्प । यो बोझलाई धेरै खप्न सक्दिन म"

ऊ फेरि सम्झाउदै भन्थ्यो, "जीवनदेखि यस्तो निराश नबन आँचल । तिम्ले विधानको प्रेमको खातिर पनि बाँच्नुपर्छ ।"

म चुपचाप रहन्थे । मैले अब के गर्नुपर्छ भन्ने सो मलाई थाहा थिएन । मैले खुट्टा टेक्ने ठाउँ नै पाइरहेकी थिइनँ । चारैतिर वेदनाका महासागरहरू थिए । म अविछिन्न पातसरह खसिरहेकी थिएँ । मेरो कनै गन्तव्य सुनिश्चित थिएन ।


एकदिन आकल्प आएको थियो । म उसको लागि खाजाको तयारीमा थिएँ । ऊ काकासँग गफ गर्दै थियो–

"सुन्नुभयो, म तपाईकी बुहारीलाई मन पराउँछु । उनीसँग विवाह गर्न चाहन्छु । यसरी ऊ यहाँ बस्न थाली भने एकदिन उसले आफूलाई सिध्याउँछे । यसको भागीदार तपाईहरू नै बन्नुहुनेछ ।"

काका र काकी शिक्षित हुनुहुन्थ्यो । वहाँहरूले मेरो दयनीय स्थिति देखेर सहमति जनाउनुभयो । त्रिपक्षीय छलफल भयो । उहाँहरूको कुरा मिल्यो । अनि उहाँहरूले मेरो विचार माग्नुभएको थियो । मैले स्वीकारोक्ति दिएकी थिएँ । त्यसैबखत काकाबाट कन्यादान गर्ने सहमति पनि भयो ।


विवाहको कार्यक्रम ठूलो तामझामका साथ भयो । जसरी एउटा कन्या केटी पहिलोपटक अन्मिएर डोली चढ्छे । पञ्चेबाजा एक सुरले बजिरहेको थियो । विवाह मण्डप आकर्षक रूपले रूपाङ्कन गरिएको थियो । विवाहमा विभिन्न संघसंस्थाका प्रतिनिधि मानिसहरूको उपस्थिति थियो । केही महिला अधिकारकर्मीहरू पनि उपस्थित थिए । पत्रकारहरूलाई पनि बोलाइएका रहेछन् । समाजमा नयाँ सन्देश प्रसारित हुदै थियो । पाहुनाहरू सम्पूर्ण भोजनमा व्यस्त देखिन्थे । फोटो खिच्ने र खिचाउने क्रम चलिरहेको थियो ।

एउटा पत्रकार हामीमाझ देखा पर्यो । उसले काकालाई केही प्रश्न सोध्यो । काकाले भन्नुभयो, "मैले बुहारी होइन एउटी छोरीको विवाह गरिदिदैछु । यिनले सुख पाइन भने हामीले मोक्ष प्राप्त गर्नेछौं ।"

पत्रकारले मेरो बाबालाई प्रतिक्रिया लिन चाह्यो । बाबाले भन्नुभो, "हामी छोरीको निराशापूर्ण अनुहार देखेर दुखित हुन्थ्यौँ । आशा छ, उनी फेरि खुशी हुनेछिन् ।"

पत्रकार आकल्प भएतर्फ आइसकेको थियो । उसले प्रतिक्रिया लिन चाह्यो । उसले भन्यो, "म आफ्नी बाल्यकालकी साथीलाई श्रीमतिका रूपमा पाउँदा हर्षित भएको छु । म उनलाई खुशी राख्नेछु ।"

मतिर फर्किएको पत्रकारलाई मैले भनेँ, "जीवनको एउटा पाटो बितिसकेको छ । उहाँले मलाई श्रीमतीरूका रूपमा स्वीकारेकोमा अत्यन्तै खुशी छु ।"

चट्पटे मन

कथा
काया बच्ची भा'की छे । मानौं, उसको बाल्यकाल फेरि फर्किआएको छ । ऊ बाघले झम्टिएझैँ झम्टिन्छे । एकलौटी अडान नछोडि लडीबडी गर्छे । घरमा पालिएको बिरालो जसरी मेरो काखमा बस्न आउँछे । अनि मेरो सर्टको कलर समातेर मलाई प्रेमालिङ्गनमा कस्छे । त्यसपछि ऊ बच्चीलेझैँ अनुरोध गर्छे– 'ओई ! चट्पटे खान जाम न !'

उसको उमेर बीस कटेको छैन तर लाग्छ ऊ अझै बालिकै छे । लाग्छ, जिस्किने, चल्ने उसको दैनिक कर्म हो । झन् राक्षसी स्वभावले हाँसी भने भने त बित्यास् नै पार्छे ! तर मलाई उसका बालसुलभ क्रियाकलापहरु एकदमै प्रिय लाग्छन् । म उसका अभिलाषाहरुप्रति तत्कालै सहमति जनाइहाल्छु– 'जाऔँ, हिँड् ।'


आकाश आगोको भुग्रोमा परिणत भएको छ । अर्थात रातो–पहेँलो घाम टल्किरहेको छ । गोधूलि साँझ छ । दुर क्षितिजमा बादलका राता धब्बाहरु प्रज्वलित भइरहेका छन् । उड्नपंक्षीहरु दिनभरिको घम्साघम्सीपछि आ–आफ्नो बासस्थान फर्किरहेका छन् । चरनतिर गएका गाईबस्तुहरु धुलो उडाउँदै पंक्तिबद्ध आफ्नो गोठ फर्कदै छन् । बसन्त ऋतुको पूर्वसन्ध्या छ । वातावरण एकदमै रोमाञ्चक बनेको छ । बरपीपलहरुमा पालुवा अँकुराइरहेको छ । सायद्, चित्रकार हुदोँ हुँ त म यो सौन्दर्यलाई क्यानभासमा उतार्ने थिएँ । तर शब्दको माध्यमद्वारा वर्णन गर्नुको विकल्प छैन । बेला–बेलामा पूर्वीय हावाका मन्द गतिले हाम्रा दुई शरीरलाई स्पर्श गर्छन् । काउकुति लगाउँछ । हामी प्राकृत सौन्दर्यमा आल्हादित हुँदै आफ्ना पाउपंक्तिहरु दौडाइरहेका छौँ ।


काया बसन्ती दिदीले बनाएको चट्पटको रसिक छे । उसै त ऊ चट्पटे भनेपछि हुरुक्कै हुने गर्छे । ऊ प्रत्येक साँझ यसरी नै यहाँ मलाई खिचेर ल्याउछे । म पनि आज्ञाकारी बालकझैँ उसको पछि लहसिँदैँ आइपुग्छु ।

एकदिन,

'ओई ! के पढेको ?' उसले भनि ।

'देखिनस् !' मैले झर्कदै भनेँ– 'द सङ्ग अफ लाइफ !'

'ह्या, कतिचोटी पढ्छस् यो कविता ?' ऊ कराई– 'झ्याउँ लाग्दैन यसरी दोहोर्याएर पढ्न ?'

'झ्याउँ लागेको भए पढ्थे र ?' मैले प्रतिप्रश्न गरेँ– 'तँलाई साहित्यको रस था'भए पो !'

'भो, पदैन' उसले भनी– 'मलाई पागल बन्नु छैन ।'

'तेरो मतलब म पागल ?' म सन्किएँ– 'बाघलाई मासु खान सिकाउँछेस् ?'

'तँलाई नै था होला नि ?' उसले पढाउन खोजी– 'रियल लेटरेचर क्यान बि क्रियटिड अन्ली बाइ म्याडमेन, हेरमिट्स, हेरेटिक्स, ड्रिमर्स, रिबेलस एण्ड सेक्टिस नट बाइ डिजिलेन्ट ट्रस्वर्थी फक्सनअरिज ।'

'त्यै त !' मैले खिसी गर्दै भनेँ– 'तिमीहरुजस्ता सद्देले सक्तैनौ !'

'भो छाड् दे । यस्तो अन्त्यहीन बहस नगरेकै बेस ।' उसले भनि– 'ओई ! चट्पटे खान जाम न !'

'ह्या, पढिरा'छु ।' मैले अस्वीकार गरेँ– 'तँ जा ।'

'किन भाउ खोजेको ?' ऊ झर्किई– 'तँलाई जहिल्यै जबरजस्ती गर्नुपर्छ ?'

'बुझ न ! म जान्न ।' मैले नरम हुदैँ भनेँ– 'तँ पुगेर आ'न ।'

'साले ! उसले गाली थाली– 'सुँगुरजस्तो ब्यहोरा देखाउँछेस् । यहीँ थुतुनो जोतेर बस ।'

ऊ जोडले ढोका खेलेर बाहिर निस्की । म अक्क न बक्क हेरेकोहेर्यै भएँ । अब फकाउन उसको मोबाइलमा फोन गरेँ । कल लाग्न मुश्किल पर्यो । उसले 'इनकमिङ कल ब्लक' गरिछ । कम्प्यूटर बोल्यो– 'माफ गर्नुहोला तपाईले सम्पर्क गरेको नम्बरमा आगमन कल निषेध गरिएको छ ।' त्यसपछि उसको घर गएँ । ऊ ढोका थुनेर बसेकी रहिछ । बाहिरबाट स्वर यन्त्र फाटुञ्जेल बोलाउँदा पनि बोलिन । त्यसपछि मेरो हार भयो । म कोठा फर्किएँ । त्यसपश्चात म एकदमै व्यस्त भएँ । उसलाई फोन गर्न र भेट्न जान समय पनि भएन ।

ऊ कहाँ नबोलिकन बस्न सक्छे र ! एकाबिहानै ङ्च्चि सेता दाँत देखाउँदै मेरो कोठामा आइपुगेकी थिई । उसको अनुपस्थितिमा मलाई पनि न्यास्रो लागिरहेको थियो । ऊ नहुँदा पानी विनाको माछाझैँ ब्याकुल हुने रहेछु । शरीरबाट एउटा अङ्ग छुटैझैँ महसुस हुने रहेछ । सायद घनिष्टताले होला । हामी परस्परमा बाझाबाज जस्तो तँ–तँ म–म गथ्यौं तथापि त्यो असीम प्रिय लाग्थ्यो । म उसको समीप्य रहन अभ्यस्त बनिसकेको रहेछु । मेरा शरीरका अवयवहरुमा उसकै नामको रक्तसंचार हुदोँ रहेछ । यसलाई मेरो आशक्ति मान्न सकिन्छ ।


मलाई चट्पटेभन्दा पनि बसन्ती दिदीको गफ असाध्यै चाख लाग्थ्यो । प्रेम र दर्शनका कुराहरु सुन्न म लालायित हुने गर्दथेँ । पातलो शरीर, चाउरिँदै गएका गाला थिए उनका । उनी जवानीमै बूढीजस्तै देखिन्थिन् । उनी जहिल्यै नीलो कुर्तासुरुवालमा चट्पटे बेच्न बस्थिन् । यद्यपी उनको चटपटे गाउँमै प्रचलित थियो । मान्छेहरु टाढा–टाढाबाट उनको चट्पटेको स्वाद चाख्न आइपुग्थे । उनलाई चट्पटे बनाउन हम्मे–हम्मे पर्ने गथ्र्यो । कति मान्छेहरु घण्टौघण्टा पर्खिएर पनि खान पाउँदैन थिए ।

कुरैकुरामा मैले सोधेको थिएँ– 'तपाई व्यस्त देखिनुहुन्छ । तपाईँको श्रीमान चाहिँ के गर्नुहुन्छ नि ?'

उनको मुहारमा कुनै परिवर्तन आएन । मानौँ, उनले मेरो प्रश्न सुनेकी छैनन् । उनी २/३ मिनेट मौन बसिन् । मलाई लाग्यो– 'बिथ्यामा यस्तो प्रश्न सोधेछु !'

‘खै ! के गर्छन भाइ ?' उनी बिस्तारै खुलिन्– 'अब उनि पराया भैसके ।'

उनको प्रतिउत्तरले म दुविधामा परेँ । उनले के भन्न खोजेकी हुन त्यो ठम्याउनै गाह्रो पर्यो । यसअघि नै मैले उनको अनुहार पढिसकेको थिएँ । उनको जीवन कहिल्यै सुखपूर्वक बितेन । उनी पल–पल आफ्नो यौवन कागती जसरी निचोर्थिन । रहरहरु खुर्सानीजसरी टुक्रा–टुक्रा पार्थिन् । मुरै जसरी उनको जीवन बतासिएको थियो । उनको अनुहारमा असन्तुष्टीका आभाहरु देखेको थिएँ । उनको शारिरीक बनावटले नै उनीमाथि केही बित्यास् परेको जस्तो प्रतीत हुन्थ्यो । म उनीसँग आफ्नो अन्तरङ्ग साट्न चाहन्थेँ । तर चट्पटे खानेहरुको भीडले यो सम्भाव्य थिएन । उनि पनि आफ्ना क्रन्धनहरु कसैमाथि पोख्न नपाएर हरियो तलाउजस्तो बनेकी थिइन् । म त्यो तलाउलाई स्पर्श गर्न चाहन्थेँ ।

काया र मात्र थियौँ त्यसबेला । उनि मेरो मुखतीर हेर्दै चुपचाप थिइन् । मैले अन्जान प्रकट गरेँ– 'दिदी कस्तो पराया ?'

उनी बनावटी हाँसो हाँस्दै बोलिन्– 'अर्को बिहे गरेपछि पराया हुदैनन् त लाटा !'

'ओऽऽ कुरा यस्तो पो !' म शान्त तलाउलाई चलाउँदै थिएँ– 'किन उहाँले अर्को बिहे गर्नु भो त ?'

'खै !' उनि बहकिदै थिइन्– 'म नि यहीँ प्रश्नको उत्तर खोजी गर्दैछु भाइ । ममा के कमी थियो र ?'

'अनि तपाईले क्यान्टिन चाहिँ किन बन्द गर्नुभयो नि ?' मैले प्रसङ्ग मोडेँ– 'घाटा भयो कि ?'

'ओई ! तँ पत्रकार होस् र ?' काया मकै भुटेझैँ पड्किन थाली– 'किन अर्काको नीजि कुरामा सोधखोज गर्छस् ?'

'तेँरो मुखमा एकछिन बिर्को लगा त !' म कराएँ– 'तँ चुप बस्न सक्दिनस् ?'

ऊ चुपचाप रही । बसन्ती दिदी प्याज काट्दै थिइन् । उनका आँखाहरु रसाएका थिए । किनकी मैले उनको निको हुन आटेको घाउलाई कोट्याइ दिएको थिएँ ।


बसन्ती दिदीको ठेलामा थरिथरिका बट्टाहरु राखिएका थिए । त्यसमा चना, मटर भटमास, बदाम भुटेर प्याकेटमा सजाइएका थिए । त्यस्तै स्टिलका आरीमा आलु उसिनिएर राखिएका थिए । एउटा आरीमा हरिया केराउहरु राखिएका थिए । काया त्यो टिपेर खान थाली । म त्यो दृश्य देखेर विचलित हुन्छु । अनि पछारिन पुग्छु आफ्नो बाल्यकालमा–

कान्छाले भन्यो– 'ओई चाउरे । चट्पटे खान्छस् ?'

हामी धुलोमा खोप्पी खेल्दै थियौँ । लुगाभरि माटैमाटो लागेको थियो । सायद म त्यतिखेर कक्षा ३ मा पढ्दो हुँ । हामी त्यो दिन स्कुल गएका थिएनौँ । मेरो मुख रसायो र भनेँ– 'पैसा छैन । खुवाउँछस् त ?' उसले सर्त राख्यो– 'तेरो गोजीमा भाको सप्पै गुच्चा दे न ।'

'हुन्छ' मैले सहमति जनाएँ– 'बाठो रै'छ गन्देको भाइ ।'

गाउँमा राजन अंकलको चट्पटेको ठेला बेलुखीपख आउँथ्यो । उनले खै कति पढेका थिए कुन्नि ! अंग्रेजीमा बर्बराइरहेका हुन्थे । हामी त्यो सुनेर खित्का छोडी हाँस्ने गथ्र्यौं । केही बुझेर, केहि नबुझेर । कान्छाले भन्यो– 'अंकल दुई रुप्पेको चट्पटे दिनु त ।'

मेरो आँखा ठेलामा राखिएका केराउतिर एकाएक ठोक्कियो । ठुला मान्छेहरु चट्पटे बनाउन लगाएर ती केराऊहरु खाने गर्दथें । त्यस्तरी खादा राजन अंकल क्यै भन्दैन थिए । मलाई पनि त्यस्तै गर्न रहर लाग्यो । आरीमा क्वाच्च फोहर हात हालेँ । यो देखेर राजन अंकलले घुमाएर एक चड्कन दिए । त्यसपछि मलाई होसै भएन । कतिखेर कुद्दै–कुद्दै घरमा पुगेर खाटमा सुतेछु । म बेहोस भएछु । मान्छेहरु आएर मलाई पानी छम्केको मात्र याद छ । कसै–कसैले राजन अंकललाई गाली गर्दै थिए– 'मरेको भए के हुन्थ्यो ?' त्यसपछि राजन अंकलले सित्तैमा ठूलो सोलीमा मलाई चट्पटे ल्याएर दिए । मैले खुशी हुदैँ कपाकप खान थाले । कान्छा पनि चट्पटे लिएर आइपुग्यो ।

म अद्र्धमुर्छित भएछु । झसङ्ग हुन्छु । अनायासै एउटा विस्मृतिको पाना बत्तासिदै आएको थियो त्यसबेला । काया अट्टहास गर्दै थिई । बसन्ती दिदी भन्दै थिइन्–

'यहाँ जीवन नै घाटा भएपछि के क्यान्टिनका कुरा भाइ ।' उहाँ बग्न थाल्नुभयो । कसैले बर्षौदेखिको मनको बाँध खोलिदिएको थियो–

'हामीले कलेज छेऊमा एउटा क्यान्टिन खोलेका थियौँ । क्याटिन आशातित भन्दा मजाले चलेको थियो । हामी दैनिक मःम र चाउमीन बनाउँथ्यौँ । विद्यार्थी र प्राध्यापकहरुको भीड अत्याधिक हुने गर्दथ्यो । श्रीमान काउण्टरमा बसेर हिसाब–किताब सम्हाल्ने गर्दथे । म चाहिँ भान्सामै अभ्यस्त रहन्थेँ । केही महिना हामीले अत्याधिक मुनाफा गर्यौँ ।

तर अनायासै उनमा परिवर्तन आएको महसुस हुन थाल्यो । उनि क्यान्टिनको हिसाब–किताबमा लार्पावाही गर्न थाले । उनि जहिल्यै विद्यार्थी केटीहरुसँग जिस्किएर बस्न थाले । मलाई देखी सह्य हुदैन थियो । म काममा दलिन्थे तर उनि रङ्गरङ्गिला गर्दै बस्थे । बिस्तारै हाम्रो क्यान्टिन घाटामा जान थाल्यो । म नहुदाँ केटीहरुलाई उधारो दिँदा रहेछन् । मलाई यो थाहै थिएन, पछि थाहा पाएँ । मेरो रिसले शीर गह्रौ भयो ।

एकसाँझ,

'अचेल घाटा मात्र लागि रा'छ' म स्पष्ट हुन चाहेँ– 'किन यस्तो ?'

'सबै उधारो जान्छ ?' उनि पन्छिन खोजे– 'उठ्ला नि बिस्तारै ।'

'कसरी उठ्ला ? खातामा कसैको नामै छैन ।' म झर्किएँ– 'कुन चरीलाई सस्तोमा खुवायौ ?'

'के रे ?' उनि कड्किए– 'खाली शंका गर्नुपर्छ ? रहर लाग्छ भने तँ पनि एउटा नाठो खेला न !'

'छि ! के भनेको यस्तो ?' म गर्जिएँ– 'भोलिदेखि क्यान्टिनमा बस्नुपर्दैन । म पनि एउटा नाठो खेलाउँदै क्यान्टिन चलाउँछु ।'

'तँ आफैँ गर ।' उनि बतासिए– 'तेरो घरमा तँ आफैँ बस् । म गएँ ।'

उनी सम्साँझै घरबाट रिसाएर निस्किए । मलाई असाध्यै रिस उठेको थियो । 'आखिर मरिच आफ्नै रागले चाहुरिन्छ' भनेरे मैले वास्ता गरिनँ । तर अहँ ! महिनादिन बित्यो । उनि आएनन् । मैले आवेगमा केही शब्द चित्त दुख्ने गरी भनेँ होला तर त्यसको सजाय यस्तो दिनुपर्छ ?

एकदिन म तीनछक्क परेँ । उनिप्रतिका मेरा सबै आस्थाका धराहरा ढल्न थाले । उनि बजारमा एउटी केटीसँग अँगालो मार्दै हिँडेको देखेँ । त्यो केटी त्यहीँ थिई जोसँग उनि क्यान्टिनमा लहसिन्थे । मेरा सम्पूर्ण शरीर गले । म चुपचाप आफ्नो कोठा आइपुगेँ । अनायासै आँखा रसाएर आयो । रातैभरि रोएँ । छोरीहरु पनि रुन थाले केही नबुझिकनै । अन्ततः म क्रमशः समालिदै गएँ । क्रमशः सम्हालिनु पर्यो ।'


'लोग्ने मान्छेलाई त मुठ्ठीमा पो लिन सक्नुपर्छ त ?' काया जान्ने भई– 'प्रहरीमा बहुविवाहको मुद्दा दर्ता गर्नु पथ्र्यो नि ?'

'नानी, प्रेम जबरजस्ती हुन सक्दैन ।' उनि सम्हालिदै सम्झाउन थालिन्– 'मैले उसलाई स्वतन्त्र छोडीदिएँ । किनकी मैले सच्चा प्रेम गरेकी थिएँ । र अहिले पनि गरिरहेकी छु । उसलाई मसँग बस्न मन रैन'छ । म जबरजस्ती पनि गर्न सक्दिन । आफ्नो पेट र यी छोरीहरुलाई जसरी नि पाल्न सक्छु । मैली यहीँ संकल्प लिएँ ।'

'कमसेकम आफ्ना छोरीहरुको बारेमा त सोच्नुपर्छ !' मैले अनायासै परेको झरी शान्त पार्न खोजेँ– 'आफ्नो रगतको त माया लाग्नुपर्ने हो । कस्तो निर्दयी रहेछ– भ्याम्पायर !'

'त्यै त भाइ' उनले भनिन्– 'अहिले छोरीहरु बाउको नामै सुन्न चाहदैनन् ।'

मेरो चटपटे खल्लो भयो । उनको आर्तनाद सुनेर मेरा आँखाहरु पूर्णतः रसाए । काया पनि स्तब्ध थिई । उसको केटाकेटीपना पनि थिएन ।


'दिदी अलि धेरै कागती लगाइदिनु है ।' काया अमिलो देख्ने बित्तिक्कै रयाल चुहाई हाल्थी– 'मलाई पीरो अमिलो असाध्यै मनपर्छ ।'

'हुन्छ बैनी । तिम्ले भने बमोजिम गर्छु ।' उनि जिस्किन थालिन्– 'यी भाइको जीवन चाहिँ कहिल्यै अमिलो नहोस् । सार्है सोझा लाग्छन् मलाई ।'

काया खितित हाँस्नथाली– 'आम्मै ! अब म यसलाई कागतीकै झोलमा डुबाईदिन्छु'

हाऽऽ हाऽऽ हाऽऽ । वातावरणमा हाँसो फैलियो । बसन्ती दिदीलाई पहिलोपटक हाँसेको देखेँ ।


अन्त्यमा,

आजकल त्यहाँको परिवेश प्रेममय भएको छ । बसन्ती दिदीले मन मिल्ने साथी भेट्टाएकी छिन् । उनको छेऊमा अर्को चट्पटे ठेला थपिएको छ । रामलाल बसन्ती दिदीलाई असाध्यै प्रेम गर्छ । दुई चट्पटे मन एक भएका छन् । ग्राहक नआउँदाको बखत हाँसोको मेहफिल जम्ने गर्छ । बसन्ती दिदी रामलालसँग मज्जाले गफिएको देख्न सकिन्छ । उनको अनुहारमा खुशीका आभाहरु तैरिएका छन् । खै के कुरा गर्छन् ? यता काया पनि बदलिएकी छे । उसको केटाकेटीपना के जान्थ्यो र ! उसले आज 'पल्पसा क्याफे' पढ्न लागेकी छ । अब ऊ पनि साहित्य पढ्ने रे ! :)