Showing posts with label बुकवर्म्ज् रिभ्यू. Show all posts

समवेदनालाई छुने प्रेमकथा

Bookworm's Review

‘एउटी २५ वर्षिया युवतिको अकालमै मृत्यु हुँदा तपाईं के भन्नुहुन्छ ?’ प्रश्नको उत्तर व्यक्तिपिच्छे फरक–फरक होलान् तर अमेरिकी लेखक इरिक सेगलको उपन्यास ‘लभ स्टोरी’को सुरुवात भने यसरी हुन्छ : ‘उनी लोभलाग्दी थिइन् अनि विवेकी । संगीतका हस्ती मोजार्ट, ब्याज, बिटल्सलाई उनी मनपराउँथिन् र मलाई पनि ।’ उपन्यासको अग्रानुच्छेदमा  सबै घटनाक्रम खोलिदिएका सेगलको यो उपन्यास बडो हाँसीमजाक गर्दै सुरु हुन्छ । पाठक पात्रको जोक्स र व्यङ्ग्यमा हाँस्न बाध्य हुन्छन् । १२० पेजमा सीमाबद्ध यो छोटो उपन्यासले प्रेमको आश्चर्यजनक शक्तिलाई पाठक अघिल्तिर राखिदिन्छ । प्रेम–प्रसङ्ग, रोमान्स र हाँसीमजाकका प्लटहरुले पाठकलाई उचाल्दै÷पछार्दै अन्त्यमा बैचनी, नियति र दुःखको सागरमा डुबाइदिन्छ र अनायासै खसाइदिन्छ– आँसहरु । ‘प्रेम भनेको तिमी ग्लानीले भरिनु होइन ।’ भन्ने विचारको उत्खनन् गर्दै उपन्यासले हृदयमा अमिट छाप छोडिदिन्छ र हामीलाई प्रेम गर्न सिकाएर बिदा लिन्छ– लोभ स्टोरी ।

‘पागल–बस्ती’मा प्रेम र अहमको युद्ध

बुकवर्म्ज् रिभ्यू
सरुभक्तको उपन्यास ‘पागल–बस्ती’ प्रेम र अहम्को रणभूमि भनिदिए हुन्छ । उपन्यासभरि प्रेम र अहम्इतरका कथा, उपकथा, दर्शन, कथोपकथनहरु आइरहन्छन् । उपन्यासमा सिर्जित घटनाक्रमहरुले पाठकलाई त्राहीमाही पारिदिन्छ । वि.सं. २०३९ सालमा रचना आरम्भ गरेका सरुभक्तले करिब ६ वर्षपछि मात्र यो उपन्यास पूरा गर्न सके । नेपाली साहित्यमा पागल बस्ती नपढ्ने सायद कोही नहोलान् । यसको चर्चा अझै पनि चुलिदैछ । हरेक लेखक र पाठकका लागि पढ्न अपरिहार्य बनेको छ ।

पागल–बस्तीमा एउटा स्वतन्त्र पत्रकार जो काठमाण्डूबाट पोखरासम्मको यात्रामा निस्कन्छ । यात्राबाट फर्किएपछि ऊ यात्रा–संस्मरण लेख्ने दाउमा हुन्छ । यात्राको क्रममा उसको भेट मार्थासँग हुन्छ । मार्था कथित पागल–बस्त सभ्यताकी एकमात्र जिउँदी सबूत हुन्छिन् । सुरुमा त उसले पत्रकारलाई केही भन्न रुचाउँदिन तर पत्रकारले हरेक अनुनय–विनय गरेपछि उनी भन्न तत्पर हुन्छिन् । उनी एक सफल चित्रकार पनि हुन्छिन्, उनीसित चित्रबाटै डायरी लेख्न सक्ने खुबी हुन्छ । यौटा ठूलो क्यानभासमा उनी आफ्नो अन्तिम चित्र कोर्छिन । चित्रबाट नै सम्पूर्ण घटनाक्रमहरु भन्छिन् । अर्थात् यौटा प्रागऐतिहासिक सभ्यताको अभ्यूदय हुन्छ ।

उपन्यासको प्रमुख पात्र प्रशान्त अन्र्तमुखी स्वभावको हुन्छ । ऊ कलेजमा मार्थालाई प्रेम गर्छ । तर किञ्चित् ऊ मार्थाको नजिक पुग्दैन । उसको प्रेम एकतर्फी हुन्छ । यसै पनि किशोरावस्थाको प्रेम अत्यन्त कोमल हुन्छ, भावुक हुन्छ, समर्पण सहितको हुन्छ । अर्थात् निश्चलता र पवित्रतामा हुन्छ । अन्ततः उसले मार्थालाई प्रेमपत्र लेख्छ । तर मार्थाले स्वीकार गर्दिछिन् । उसको प्रेमप्रस्तावलाई उपेक्षा गरिदिन्छिन् । मार्थाको परिकल्पना भनेको सुन्दर जीवन साथीको हुन्छ, न कि प्रशान्तजस्तो बदसुरत पुरुषमा । प्रशान्तसँग उसको सपनाको व्यक्तित्व मिलान हुँदैन । प्रशान्तमा यौटा अहम्को सिर्जना हुन्छ । उसको नजरमा प्रेम नै सबथोक थियो । प्रेमलाई नै धन सम्झन्थ्यो । प्रेमलाई नै ऊ आफ्नो चारित्रिक विशेषता मान्थ्यो । मार्थाको उपहासजनक ढङ्गको उपेक्षापछि ऊभित्र अहम् विकसित हुन्छ । अर्थात् ऊ कङ्कालमा परिणत हुन्छ । उसले आफ्नो जीवनको आराध्य, लक्ष्य, मूल्यमान्यता सबै गुमाउँछ । अन्त्यमा गौतम बुद्धको जस्तै अहम् ज्ञान प्राप्त गरेर ऊ गृहत्याग गर्छ । अहम् ज्ञानको प्रचार गर्न ऊ यौटा छुट्टै सभ्यताको विनिर्माण गर्छ । ऊ प्रशान्तबाट ‘आदिगुरु’मा परिवर्तित हुन्छ । क्राइस्टका झैँ उसका पनि अनुयायी र चेलाचेली हुन्छन् ।

एकदिन मार्था पश्चतापको अग्नीमा जल्दै, क्षमायाचना गर्ने एक मात्र अभिप्राय लिएर प्रशान्त उर्फ आदिगुरुलाई भेट्न जान्छिन् । प्रशान्तले मार्थाको भेटपछि अचाक्ली सम्मान दिन्छ । सबैले मार्थालाई ‘आदिमाता’ भनेर सम्बोधन गर्छन । मार्थालाई सबैले आदरणीय बनाउँछन् । उनको नाममा छुट्टै सुन्दरकलाकृतिले सजाइएको ‘आदिमन्दिर’मा उनलाई लगिन्छ ।

केहीदिनको सहवासपछि उनीहरुबीच वाकपटुता भैरहन्छ । विभिन्न सिद्धान्त, विधिविधान, धर्मसंस्कृति तथा ग्रन्थहरुका वादविवाद भैरहन्छन् । मार्था प्रशान्तलाई प्रेम गर्न थाल्छिन् । प्रशान्तले आदिगुरु र आदिमाताबीच प्रेम सम्भव छैन भन्छ । त्यसपछि विभिन्न घटनासँगै प्रेम र अहम्को युद्ध भैरहन्छ र अनेकन वाकयुद्ध पनि ।

एकभेलामा प्रशान्तले मानवीय अहम्को परिभाषा दिँदै भन्छ, “अहिलेसम्म पृथ्वीमा अस्तिगत सबै धर्मले प्रेम र अहिंसाको पाठ पढाउने धुनमा अहम्मुक्तिको कपोलकल्पना गरेको छ । म अहम् विरोधी सबै धर्म र दर्शनको घोर विरोध गर्छु । कारण जीवन अहमयुक्त हुन्छ, अहममुक्त हुन सक्दैन । बुद्ध मेरो दृष्टिमा अहम्युक्त पुरुष हो । महाविर र यिसु अहमवादी व्यक्तित्व हुन्, सिजर, अलेक्जेण्डर, नेपोलियन र हिटलर अहमयुक्त पुरुष हुन् । म मान्छेलाई प्रेम, अहिंसा र यौनमुक्तिको पाठ पढाउन चाहन्न । जसरी धर्म पुरुषहरुले पढाए । विश्व इतिहासमा प्रत्येक धर्मले प्रत्येक महापुरुषको अहङ्कारको शून्यतालाई प्रेमपूर्णता मानको छ, अहिंसात्मक मानेको छ, यौवन विमुखता मानेको छ, तर म महापुरुषहरुको गल्तीलाई दोहो¥याउने पक्षमा छैन । म भन्छु, प्रेम–अप्रेम, हिंसा–अहिंसा, यौन–अयौन अथवा सम्पूर्ण सुखोत्पादक र दुखोत्पादक भावना अहम्सापेक्षित भावना हुन् । सम्पूर्ण मानवीय भावनाहरु र विचारहरु अहम्केन्द्रित हुन्छन् । त्यसैले म अहम्वादी हुने शिक्षा दिन्छु, अहङ्कारी हुने शिक्षा दिन्छु, अहम–परीक्षण र विश्लेषण आमन्त्रित गर्छु ।”
प्रशान्तकी चेली मैचाङको विषयमा कुरा हुँदा मार्था यसो भन्छिन्, “सायद तिमी दुःखी मानवताको सेवा गर्न चाहन्छौ प्रशान्त तर बुद्ध वा जिजसजस्तो हुन प्रेम, करुणा, दया, सहानुभूतिजस्ता मानवीय गुण चाहिन्छन् ।” प्रशान्त आफ्नो स्पष्टीकरण दिन्छ, “आदिमाता, म बुद्ध वा जिसस हुन चाहन्न त्यसैले दुनियाँलाई प्रेम र करुणाको आँखाले हेर्न सक्दिनँ ।”

उपन्यासका घटनापपिच्छे प्रेम र अहमका वाक्युद्ध भैरहन्छन् । सबै आ–आफ्ना तर्कमा अडिग हुन्छन् । एकदिन, प्रशान्तकी प्राणप्यारी कुकुर्नी कसैले मारीदिन्छ । त्यसको वियोगमा प्रशान्त महिनौंदिन एउटा कोठामा थुनिएर मौन एकान्तवास गर्छ । त्यसपछि सम्पूर्ण बस्तीमै खैलाबैला मच्चिन्छ । सबैजना मार्थालाई गुर्हान पुग्छन् । मार्था रोईकराई गर्छिन, मौन एकान्तवास भङ्ग गर्न आग्रह गर्छिन् । त्यसपछि मार्थाले बस्ती छोडेर जान्छु भन्ने धम्की दिएपछि मात्र प्रशान्तले मार्थाको आज्ञालाई मान्छ ।
त्यस्तै केहीदिनपछि प्रशान्त मार्थालाई भेट्न विलम्ब गर्छ । ऊ कुष्ठरोगीहरुका सेवाका लागि जान्छ । डाक्टरहरुले सम्भावित अप्ठ्यारो अवस्था सिर्जना हुने आँकलनले रोगीहरुको नजिक नपर्न आग्रह गर्छन् । तर प्रशान्त यो कुरा मान्न तयार हुँदैन । मार्थाले पनि विनय चढाउँछिन् । सबैजना त्यस्तो घोषणा फिर्ता लिन आग्रह गर्छन् तर अहँ ऊ किञ्चित् टसमस हुँदैन । मार्था भोकहड्तालमा बसेर आत्मनिष्ठूर बन्छिन् । सबैतीर विरहको धुन बज्छ । सबैजना आफ्ना गुरुलाई दबाव दिन्छन्, मार्थाको कुरा मान्नलाई कर गर्छन् । तब मात्र गुरुले मार्थाको मागलाई शिरोधार्य गर्छ ।

यसरी यस्तो घटना परिस्थितिलाई विश्लेषण गर्दा उनीहरु दुवै जना एक–अर्कालाई हेरचाह गर्छन् तर त्यो प्रेममा फूल्न सक्दैन । प्रशान्तको अहम् कहिल्यै ढल्दैन । अन्त्यमा उसले मार्थालाई अरुकसैसँग विवाह गर्न आग्रह गर्छ । मार्था भन्छे, “...म तिमीलाई नै प्रेम गर्छु, त्यसैले सिर्फ तिमीसँग विवाह गर्न सक्छु । तिमीले अरुसित विवाह गर्ने सल्लाह दिएर मेरो प्रेमको अपमान कति ग¥यौ थाहा छ ?” प्रशान्त सोझै जवाफ फर्काउँछ, “आदिमाता, हजुर मलाई प्रेम गर्नुहुन्न, प्रेमको अवधारणालाई मात्र प्रेम गर्नुहुन्छ । हजुरले प्रत्येक शिक्षित व्यक्तिलेझैँ प्रेमको महानताबारे सुन्नुभएको छ, प्रेमको पवित्राबारे सुन्नुभएको छ, दिव्यताबारे सुन्नुभएको छ । हजुर यही महान, पवित्र, दिव्यप्रेमको अवधारणालाई प्रेम गर्नुहुन्छ । मलाई प्रेम गर्नुहुन्न । हामी प्रेमको नाटक खेल्न सक्छौँ, प्रेम गर्न सक्तैनौँ । कृपया, हृदयको यथार्थ सुन्नुहोस् ।”

अन्तःगोत्वा मार्था त्यो बस्ती छोडेर जान्छिन्, प्रशान्त उसलाई स–सम्मान विदा गर्छ । मार्थाको हृदय छिया–छिया हुन्छ अर्थात् चिसो हुन्छ । उनी भन्छिन्, “मलाई एउटै कुराको दुःख छ–मैले प्रेम गरेर तिम्रो अहङ्कार मेट्न सकिनँ...तर मलाई विश्वास छ, एकदिन तिमी पछुताउनेछौ ।” तर प्रशान्तको अनुहारमा अलिकता पनि अहम् कम हुँदैन । न प्रेमको जीत हुन्छ, न त अहम्कै ! उपन्यास सकिन्छ तर युद्ध अन्त्य हुँदैन ।

अर्मूतबोधी तरल उपन्यास अल्केमिष्ट

Bookworm's Review
द अल्केमिष्टले अण्डालुसियन भेडा गोठालो सेन्टीअगोको यात्रा पछ्याउँछ । ऊ अनौठो सपना देख्छ जसले बाम्बार सोचमग्न बनाउँछ । बारम्बार आइरहने सपनाको कुनै भविष्यवाणी या विशेष अर्थ हुन्छ भनेर ऊ सपनाको अर्थ फुकाउन र भुलभुलैयाबाट सधैँका लागि उन्मुक्ति पाउन ऊ जिप्सी महिला कहाँ जान्छ । उनले सेन्टीअगोलाई भन्छिन्, इजिप्टको पिरामिडमा तिम्रा लागि गाडधन (टेजर्र) छन् ।

सपना खन्न जानुअघि केटाले बयोवृद्ध राजा मल्कीजेडेकलाई भेट्टाउँछ जसले उसलाई आफ्नो इजिप्ट यात्रा पूरा गर्न भेडा बेच्न सल्लाह दिन्छन् । राजाको आफ्नै कथन हुन्छ — When you want something all the universe conspires in helping you to achieve it. । यहीँ नै उपन्यासको वास्तविक दर्शन उद्देश्य भएर उपन्यासभरि प्रस्तुत भएको छ । यात्रामा केटाले यहीँ वाक्यांशबाट प्रेरणाप्रद पाइला चाल्छ ।

मरुभूमिको उराठलाग्दो यात्रामा उसको थुप्रै खतरा, महामारी, अवसर र प्रेमसित टकराव हुन्छ । उसले आफू र संसारबाट धेरै कुरा सिक्छ । यात्राको मध्यभागमा उसले अरेबियन युवति फतिमालाई प्रेमिकाको रुपमा फेला पार्छ । फतिमाले उसलाई धैर्यता सिकाउँछिन् । मरुभूमिका स्त्रीहरु आफ्ना पुरुषहरु युद्धमा होमिदा उनीहरुको पखाईमा वर्षौ कुरिरहन्छन् । उनीहरुको हृदयबाट आफ्नो लोग्ने मरे वा बाँचे पनि धैर्यता कम हुँदैन । प्रेमले जीवनका सपनाहरु पूरा गर्न बाधा दिन्छ भन्ने मनस्थिति बनाएको सेन्टीअगोलाई उनी पहिला आफ्ना सपना पूरा गर्न उक्साउँछिन् र आफू मरुभूमिकी स्त्रीझैँ जीवनभर उसलाई कुरेर बस्ने बताउँछिन् ।

सेन्टीअगोको भेट किमियागरसित भएपछि उपन्यासले उत्कर्षको विन्दू लिन्छ । किमियागरले आफ्नो महत्वपूर्ण समय धातुको स्तरोन्नतिमा खर्चेको हुन्छ । उसलाई सबै प्रकारका धातुका रहस्यहरु थाहा हुन्छ । किमियागरले केटालाई आफ्ना कथोभावना भन्छ । मानिसहरु गाड्धन पाउन चाहन्छन् तर आफ्नो मनको कथोभावनालाई वेबास्ता गर्छन् । केटाले किमियागरको अभिव्यक्तिमा अन्यौलता पाउँछ । किमियागरका अभिव्यक्तिहरु बाम्बार देखिरहने सपनाझैँ अर्थहीन, अर्मूत लाग्छन् । किमियागरको मान्यता छ— जो आफ्नो कथोभावनालाई वेबास्ता गर्छन् ती शिक्षाका बृहत पक्षलाई बुझ्नलाई विफल हुन्छन् । कारण जीवनमा गाड्धनको पहिचान सुनभन्दा मूल्यवान हुन्छन् ।

द अल्केमिष्ट एउटा एड्भेन्चर हो जसबाट हामी मिश्रको मरुभूमी, त्यहाँको जीवनशैलि पढ्दै, अनुभूति गर्दै डुल्न सक्छौँ । आफ्नो सपनामा हिँड्नेहरु कसरी सपनालाई पूर्ण बनाउन सक्छन् । सपनाका साइतलाई चिन्नु नै सपना पूरा गराउन उद्धत हुनु हो भन्नु नै उपन्यासको भावभङ्गिमा हो ।

द न्यूयोर्क टाइम्सका अनुसार द अल्केमिष्टलाई ६७ विभिन्न भाषामा अनुवाद गरिएको छ । धेरै अनुवाद भएका कारण गिनिस बुक अफ वल्र्ड रेकर्डस्मा यसका लेखक पाउलो कोयल्होको नाम लेखिएको छ । लाखौं बिक्री भैसकेको यस उपन्यासले लाखौं युवापिँढी र बालबालिकाको मन जितिसकेको छ, जितिरहेको छ । यद्यपि समिक्षकहरुबाट खासै राम्रो समालोचना पाउन सकेको छैन । फ्यान्टासीमा आधारित कथावस्तुले उपन्यासको ओज घटाएको छ । कोही मानिस आफूलाई हावामा किञ्चित् परिणत गर्न सक्दैन । हावा बालुवा र सूर्यसँग गफ गर्न सक्दैन । बाइबलका कथाहरुसँग मिल्ने केही घटनाक्रमहरु छन्, बाइबलका दर्शनहरु परिमार्जित गरेर हालिएका छन् । बाइबलको Matthew 17:20 मा यस्तो लेखिएको छ :
Because of your little faith for truly, I say to you, if you have faith like a grain of mustard seed, you will say to this mountain, ‘Move from here to there,’ and it will move, and nothing will be impossible for you. कोयल्हो यहीँ विश्वासलाई मेरुदण्डलाई उपन्यास बनाएर उपन्यास लेखेका छन् । दर्शनका नाममा अर्मूतबोधी परिवेश खडा गरिदिएका कारण उपन्यास तरल बनेको छ । उपन्यास पढरुन्जेल पाठकले यस्तो मानसिकता बनाए हुन्छ— मूर्त दर्शनलाई जीवनमा प्रयोग गर्छु अमूर्तलाई मनोरञ्जनका लागि पढ्छु । नत्र हामीसित थुप्रै सेल्फ इम्पावरमेन्टका किताबहरु छन्, त्यसलाई पढ्दा काइदा हुन्छ ।

प्रेम, नारीसौन्दर्य, अहम र बदलाको पराकाष्ठा

Bookworm's Review
“सौन्दर्य नारीमात्रको ज्यादै बलियो हतियार पनि हो र साथै ज्यादै फिताले पनि ।”
उपन्यास उत्पादक विजय मल्लद्वारा उत्पादित नारी सौन्दर्य र अहमको उपन्यास हो – अनुराधा । परिवारदेखि टाढा एकान्तिक जीवन बिताउँदै हुन्छ, कोमलमान । सानै उमेरमा आफ्नी आमाको वात्सल्यबाट टाढिएको कोमलमान स्त्रीदेखि नि टाढै रहन मनपराउँछ । दाजु, भाउजुले विवाह गरिदिनका लागि काठमाण्डौं बोलाउँछन् तर ऊ किञ्चित् टसमस गर्दैन, बेखर भएर बसिरहन्छ । आईमाईप्रति वितृष्णा छ ऊसित, “एकप्रकारको बिहेप्रति नै त्यसबखत, मेरो मनमा अत्यन्त उदासीन र विमुखता थियो । या यसो भनूँ, ममा नारीहरु, युवतीप्रति नै एक किसिमको आन्तरिक रुपले अवहेँलना भाव थियो । मेरा आमाको देहान्त भएपछि यस किसिमको भावनाले मलाई लखेटेको थियो । मेरो बाको मृत्युपछि, म आमासँगसँगै कहिल्यै नअलग्गिई हुर्केको थिएँ । आमा नै मेरो सबकुछ हुनुहुन्थ्यो । उमेरपुगेपछि पनि म आमाबाट कहिल्यै पृथक भएको थिइनँ । तर जब उहाँको देहावसन भयो, म एकलिएँ । मलाई व्यापक शून्यता र रिक्तताले छोप्यो र आईमाईसँग म त्यसबखतदेखि केही अंशमा भयभीत हुन थालेँ ।”

यद्यपी जब उसले ट्रेनमा अचेत भएकी अनुराधालाई मृत्यूको मुखबाट थुतेर बचाउँछ, आफ्नै घरमा लगेर औषधी उपचार गराउँछ । उसमा अनुराधाप्रति आर्कषण पैदा हुन्छ । उसको सौन्दर्य र मुस्कानबाट घायल हुन्छ, उसलाई एकप्रकारले एकलौटी प्रेम गर्न थाल्छ, “मैले अकस्मात्, उनको अनुहारको बायाँ भागमा फेरि त्यहीँ भयानक मुस्कान देखेँ । त्यो मेरो भ्रम थिएन, फेरि हेरेँ । उनी उही प्रकारले हाँसिरहेकी थिइन् । मेरो निष्प्राण, अविचल, सुषुप्त मन एकदम व्यग्र भयो । म रन्थनिएँ । मानौँ जङ्गलको बीचमा अचानक पानीको मूल फुट्छ, पानी बग्न थाल्छ र वरपरका तृषित मुर्झाएका रुखहरु पल्हाउन थाल्छन् । ममा यस्तै भयो । म आफैँसँग विस्मित् थिएँ ।”

अनुराधा यौटी ‘एबनर्मल’ अर्थात पागल प्रकृतिकी महिला हुन्छिन् । विभिन्न पारिवारिक प्रपञ्चमा परेर उनको छलवश विवाह भएको हुन्छ । उनका आमा र दिदीभिनाजुले उनको मञ्जुरविना सुटुक्क विवाह गरिदिएका हुन्छन्, जुन कुरा उसलाई थाहा हुँदैन । उनी आफ्ना सम्पूर्ण परिवारलाई स्वार्थी ठान्छिन्, एकप्रकारको नाता तोड्छिन् । आमासँग उनी रोष पोख्छिन्, “आमाले एकमात्र सन्तुष्टि, मेरो बाबाट वर्षौ अलग्गिएर काठमाडौंमा बस्नुपर्दा घरको एकाधिकार शासन र व्यवस्थाबाट पाइरहनुभएको थियो ! यही कारण छ, उहाँको सर्वेसर्वा सत्तामा कसैले प्रहार गरेको उहाँलाई सह्य थिएन । यसको साथै मप्रति उहाँको मनको गहिर्याइमा इष्र्या र प्रतिद्वन्द्विता पनि थियो, किनकी म बाबुसँग साथसाथै मधेसतिर सँगै रहिरहेकी थिएँ र बाबुको प्यार पाइरहेकी थिएँ बाबुको प्यार खोसुवाझैँ उहाँको मनमा मप्रति अप्रकट रुपले विद्वेष वर्तमान रहन रक्तछ । र आफ्नो लोग्नेसँग रमाइलो गरी बस्न नपाउँदा यस्तो प्रतिक्रिया कुन स्वास्नीमानिसमा पैदा हुँदैन र ! यही प्रतिक्रियाले गर्दा उहाँको चरित्रमा सुक्खापन, कठोरता, विक्षोम थियो । मप्रति, त्यस्तो प्रतिहिंसाको भावना उहाँमा रहनुको कारणै यहीँ हुन सक्तथ्यो । नत्र जेसुकै भए पनि म उहाँकी छोरी थिएँ । छोरी ! ईष्र्याकी पात्री ! गजब हैन ?”

अनेक तीकडमपछि अनुराधा पति रत्नमानको घरलाई अँगाल्छिन्, उनको एकमात्र अभीष्ट भनेको बदला लिनुहुन्छ । सामाजिक रुपमा रत्नमानलाई पति स्वीकार गरेपनि उनीहरु यौटै ओछ्यानका पतिपत्नी हुँदैनन् । उनी आफ्नो पतिको अनुहार नै घृणाको दृष्टिले हेर्छिन् । उनी पतिको हत्याका गर्नाका लागि पोल्टामा छुरी राखेर बस्छिन्, उपयुक्त मौका पर्खिरहन्छिन् तर उनी हत्या गर्न सफल हुदिनन् ।

त्यसपछि रत्नमानको भाइलाई नै पतिका विरुद्ध उभ्याउँछिन् । रत्नमानको अगाडि उनको भाइको हेरचाह गर्छिन्, लुगाफाटा धोइदिने, विछ्यौनाको तन्ना मिलाइदिने धाराप्रवाह गर्छिन् । यहाँ सम्मकी भाइका तन्नामा मेहनतले बुटा काटिदिने, ‘आई लभ यू’ लेखिदिने, आफ्ना तस्वीरहरु भाइको कोठामा सजाइदिने गर्छिन् । यसबाट परिवार र स्वयम् रत्नमान पनि आजित हुन्छ । भाउजु र देवरलाई शंकाको दृष्टिले हेर्न थाल्छ । दाजु र भाइबीच दिनहुँ झगडा हुन थाल्छ । अनुराधाले गर्दा पारिवारिक कलह सिर्जना हुन्छ । त्यसपछि भाइ घर छोडेर व्यवसाय गर्ने हेतुले बिराटनगर गएर बस्छ । त्यहाँ ऊ विभिन्न केटीसँग लाग्छ । आफ्नो चरित्रलाई धूमिल पार्छ । यस्तै प्रकारको बदलाको क्रियाकलापले अन्ततः अनुराधाको मानसिक सन्तुलन गुम्छ । ऊ रत्नमानलाई यसरी गाली गर्छे, “शान्ति चाहनुहुन्छ भने मलाई छोडिदिनुहोस् । नत्र म तपाईंको योभन्दा बढी हानी पुर्याउन सक्छु । म तपाईंलाई कुनै हालतमा पनि प्रेम सक्तिनँ, बुझ्नुभयो ? म वेश्या हुँ ।”

अनुराधाले नारीसौन्दर्य, प्रेम र त्यसबाट उब्जिने अहम् र रवाफको घनाकार बोध गर्छ । नारी शक्ति र अराजकतालाई प्रदर्शित गर्छ । कोमलमान अनुराधाको जीवन विश्लेषण गर्छ, “सौन्दर्य मात्र नारीबाट प्रथक भइदिए, त्यसमा कुनै मानसिक भावनाहरुको उपेक्षा नभए, के यस्तो अनावश्यक घटनाहरु घट्तो होला ? सौन्दर्यले किन पागल तुल्याउँछ । किन सौन्दर्यलाई पाउने लोभमा नारीलाई नष्ट गर्नतिर मनुष्यहरु लम्कन्छन् ? अनुराधा राम्री, रुपवती भइदिइन् । रत्नमानले सौन्दर्य मात्र देख्यो, नारी देखेन । समुन्द्रमानले भाउजुमात्र देख्यो, तर नारीको सौन्दर्य देखेन । समाजले उनलाई कसैसँग पत्नी बनाउन खोज्यो, हृदयलाई वास्ता गरेन । पतन–पतनको जरामा कोही पनि गएनन् । त्यसैले पतनको केही अर्थै रहेन । अनुराधा बदलाको आवेगमा झम्टेर दौडिन्, तर आफ्नो मनको शत्रुलाई देखिनन् । उनको भएको शत्रु मानवताले उनलाई धोका दिइहाल्यो, छेकिहाल्यो यसरी उनी बौउलाइन् ।”

कोमलमानको अनुराधाप्रति मोहभङ्ग भएको छैन । ऊ अनुराधाको इच्छाअनुसार रत्नमानलाई उनको लाससम्म पनि छुन दिन्न भनेर कबूल गर्छ । उसले अनुराधाको उपचार देश/विदेशमा गराउँछ । उनका सपना पूरा गर्न बङ्गलाको चारैतिर आँपका रुखहरु रोप्छ । हर्दम फूलहरु फुल्ने बगैँचा बनाउँछ । ऊ अनुराधालाई ‘म तिमीलाई प्रेम गर्छु’ भन्न व्याकुल हुन्छ । तर अनुराधाको चेतना फिर्दैन् ताकि उसका भावनाहरु बुझ्न सकोस् । अन्तिममा ऊ भन्छ, “म उनको सपना पूरा गर्नको खातिर जीवनभर यस्तै रीतले पर्खन सक्छु, अनन्तकालसम्म पर्खन सक्छु, अनन्त कालसम्म ।”

अनुराधा (उपन्यास)
लेखक : विजय मल्ल
मूल्य : रू. ५५/–
प्रकाशक : साझा प्रकाशन