कालरात्री र बलाकृत आँशु

2:26:00 AM 0 Comments

हो ! हो !! हो !!! मेरै दोष हो । मैले जानीजानी नै गरेकी हुँ । म नै हुँ अपराधी । म आफ्नो दोष कबूल गर्न तयार छु । म आफुलाई दोषी मान्न तयार छु । म सबैको नजरमा पापी हुँ । यो घटनाबाट म कसरी उम्कन सक्छु र ? तपाईँ सर्वैसर्वा हुनुहुन्छ । तपाईँ न्यायकर्ता हुनुहुन्छ । तपाइँलाई सबै थाहा छ किनकी विज्ञ हुनुहुन्छ । तपाइँलाई के गलत र के सही भन्ने थाहा छ । तपाइँको स्तर मभन्दा माथि छ । तपाइँ राजनीतिकर्मी, तपाइँ समाजशास्त्री, तपाई विज्ञ, तपाइँ अधिकारकर्मी, तपाईँ न्यायकर्मी, तपाईँ नैतिकवान, तपाईँ विद्यार्थी, तपाइँ प्राध्यापक, तपाईँ शिक्षक, तपाईँ विशेषज्ञ, तपाईँ वकिल, तपाई पुलिस, तपाई सेना, तपाई डाक्टर, तपाइँ पत्रकार । तपाइँ नै सर्वैसर्वा हुनुहुन्छ । समाजमा प्रतिष्ठित हुनुहुन्छ तपाइँ र तपाइँलाई सबैले जदौ गर्छन । तपाईँलाई सबैले मानसम्मान दिन्छन् । तपाइँलाई मात्र हैन तपाईँको पदलाई पनि सलाम गर्छन सबैले । यसकारण तपाईँ अरूलाई न्यायप्रदान गर्नुहुन्छ ।


म को हुँ र ? मेरो अस्तित्व के छ र ? निस्सारताको कालो छिद्रमा खाँदिएको छ मेरो जीवन । मैले मेरो तौल भेट्टाएकी छैन । मेरो कुनै अस्तित्व छैन । म अस्तित्वहीन छु । मेरो कुनै मूल्य छैन । मेरो बजार भाउ तोकिएको छैन । यसकारण म सित्तैमा उपलब्ध छु । मानिसहरू मलाई आवश्यक परे लान्छन् नभए त्यसै छोडिदिन्छन् । म कुहिँन्छु, सडिन्छु । कसलाई के चिन्ता छ र ? कसले पो मलाई मूल्य तोकिदिएको थियो र ? कसले मलाई पो मलाई देख्छ र ? म अदृश्य छु । म हावा हुँ, यद्यपी कसैले पनि अनुभव गर्न सक्दैनन ।


बरफ बनेकी छु । चिसा बरफहरूका बीचमा छु । चारैतिर सेता वरफैबरफ छन् । क्षितिजको कुनै निशाना छैन । चारैतिर भेडाका ऊन जसरी फैलिएका छन् बरफहरू । म मूर्तीवत् भएकी छु । मेरा सम्पूर्ण अंग प्रत्यङ्गहरू चिसा भएर जमेका छन् । बरफको कडा आवरणले घेरिएकी छु । म माँकुराको जालोमा परेको पुतलीझैँ बन्दक भएकी छु । मुक्तिको कल्पना गर्न सक्दिनँ कदापि ।


त्यो अमूल्य जीवन, यो मूल्यहीन जीवन । कहिलेसम्म जिउनु र ? कतिञ्जेलका लागि जिउनु र ? कसका लागि जिउनु र ? निस्सार मेरो जीवन । असरल्ल अक्षरहरू पोखिएर कोरिएको कागजजस्तो मेरो जीवन । किन यसरी दयनीय बन्यो ? मलाई केही थाहा छैन । आज सोच्न सकिरहेकी छैन । मान्छेले सोचेजस्तो हुँदैन रै’छ जीवन । मान्छेले खोजेजस्तो पाईदैन रै’छ जीवन । वनमाराका झाङ्गहरूले सखाप पारिदिँदा रहेछन् । अनि सबै भताभुङ्ग बनाई दिँदा रहेछन् । कसलाई पो दोष दिनु र ? आर्दश र वास्तविकतामा आकाश र पातलको फरक हुने रै’छ । म खुट्याउन सकिरहेकी छैन, कुन आर्दश अनि कुन वास्तविकता ? म यथार्थमा बन्दी भएकी छु । अनिर्णयले मेरो शिकार गरेको छ । यथार्थका केस्राहरू एका–एक गरेर पल्टाउँदा सायद आङ्ग नै सिरिङ हुदोँ हो तपाईँको !


जिन्दगीमा हजार सपनाहरू सजाएकी थिएँ । माफ गर्नूहोला सपना सजाउनु कुनै गलत कुरा हैन । मलाई नि चाह थियो ती सूनौला दिनहरूको जसले मेरा सम्पूर्ण जीवनलाई चम्काउन सक्थ्यो । जसले मेरो जीवनलाई सार्थक मूल्यमा रुपान्तरण गर्न सक्थ्यो । आफुसँग नभएको कुरा प्राप्त गर्ने चाहना कसको नहोला र ! सबै प्राप्त भईसकेपछि कस्ले पो वास्ता गर्ला र ! सायद यो मानवीय स्वाभाविकता नै होला । तर मसँग जे थियो त्यसमा म पूर्ण सन्तुष्ट थिएँ । मैले चित्त बुझाएकी थिएँ आफुसँग भएका कुराहरूबाट । ममा कुनै मोह थिएन । यद्यपी असीम चाहनाहरूले सधैँ चिमोटिरहन्थे । तर म पातहरू झरेको एक्लो वृक्षमा परिणत भएँ । वेवास्ताले गिजोल्दै गरेको खण्डहर भग्नावशेष भएँ । म खडेरीग्रस्त खहरे खोला भएँ । जहाँ पानीको कुनै निशाना हुँदैन । समयले मलाई सुकाउँदै लग्यो । तर दोषी को त ? प्रश्न फनफनी घुमिरहेको होला तपाइँको दिमागमा । सफेँराले बजाएको वीनमा घुमेको विषालू सर्पझैँ ।


म नै हुँ दोषी–निसंकोच । किनकी यी सम्पूर्ण भोगाईहरू मेरै हुन् । मैले तपाईँलाई सबै प्रष्ट पार्नुपर्छ । दुःख, पीडा अनि वेदनाहरूसँग दीर्घ सम्झौता गरे पनि सुखमा समायोजित हुँन खोज्दै थिएँ । मैले त्यसलाई हल्का रूपमा मात्र साझेदार गरिरहेकी थिएँ । जीवनका यी वसन्तहरूमा मलाई विरहका धुनहरू एकदमै कम लाग्ने गर्दथ्यो । भर्खरै मात्र विवाह भएको थियो मेरो । आफुले भनेजस्तो लोग्ने नपाए पनि मैले सहर्ष स्वीकार गरेकी थिएँ किनकी जिन्दगीको यात्रा गन्तव्यहीन छ । दुनियाँका कैयन बाटाहरूका गन्तव्य छैनन् हामीले सोचेअनुरूप । लामो दूरी तय गर्नु छ जिन्दगीमा । किन दुखेसो गर्नु त्यो प्राप्तिको ? यस्तै नै सोच्ने गर्दथेँ । मैले प्राप्त गरेका सम्पूर्ण कुरामा चित्त बुझाएकी थिएँ ।


निकै यादगार छ, त्यो विवाहको रात ! जुन रात मैले आफ्नो सर्वश्व कसैका लागि समर्पण गर्नुपर्ने थियो । जुन रात मलाई कसैले आफ्नो वशमा पार्ने निश्चित थियो । समाजले समेत अनुमति दिने त्यो रातमा मैले समर्पित हुनैपर्छ नत्र मलाई कुनै अधिकार प्राप्त हुनेछैन । सायद लगन गाँठो पनि चुट्टिनसक्छ । म कहाँ जोगिन सक्छु र त्यो रातबाट । म अछुतो रहने कुरै आउँदैन् । त्यसैकारण मैले सोचेकी थिएँ त्यो रातपछिका दिनहरू मेरा लागि रङ्गीन भएर आउनेछन् । म ती रङ्गीन पलहरूलाई स–सम्मान आत्मसाथ गर्नेछु । अनि चाहनाअनुसारको चित्र क्यानभासमा उतार्ने छु तर ती रङ्गीन सपनाहरूको त्यतिखेरै हत्या भयो । त्यसको कुनै अस्तित्व रहेन । मुचुल्का उठाउने कोही भएनन् । मैले आफुलाई एउटा अँध्यारो जंगलमा पाएँ । मलाई शिकारको रूपमा त्यहाँ ल्याइएको रहेछ । त्यो हिंस्रक शिकारी बाघले मेरो शिकार गर्नमा कुनै कसर बाँकी राखेन । अन्ततः त्यसले मेरो शिकार गरेरै छाड्यो । मैले त्यसको पन्जाबाट उम्कन खोज्नु मुर्खता मात्र थियो । त्यसले मलाई लछारपछार पार्यो । त्यसका तीख्रा नङग्राहरूले चोटैचोट पारे । अन्त्यमा त्यसले मलाई घायल बनाएर त्यसै छोडिदियो । हिंस्रकताबाट अछुतो रहन सकेन त्यो । त्यसले आफ्नो पुरुषश्वार्थ देखाएरै छाड्यो नभए उसले नामर्दको संज्ञा पाउन सक्यो । मेरो प्रवाह गरेन त्यसले । आफु मैन पग्लिएझैँ पग्लिएर तरलतामा परिणत भयो ।


हिंस्रक बाघ कहिल्यै नअघाउने रै’छ । कहिल्यै पनि सन्तुष्ट बस्ने रै’नछ । जतिखेरै नै शिकारको चाह हुने । म शिकारको रूपमा परिवर्तित हुनुको विकल्प थिएन । म दिनदिनै, घण्टैघण्टा, रातविरात उसको आहाराको लागि उपस्थित हुन पथ्र्यो । भोकाएर खरिएको बाघलाई सन्तुष्ट पार्न सकिनँ भने गर्जिन सक्थो ठूलो गर्जनका साथ । बाघ अर्थात मेरो लोग्ने ! तपाईँलाई अचम्म लाग्ला मैले किन यस्तो भनेर । सबै छर्लङग हुदैँ जानेछन् । उनी स्थानीयस्तरमा घर निर्माणमा काम गर्ने गर्दथे । यसबाहेक उनी कुलो, पैनी इत्यादि निर्माण गर्नका लागि ठेक्का लिने गर्दथे । उनले मलाई विवाह गरेर भर्खरै मात्र भित्राएका थिए । विवाहको लागि पैसा नभएपछि उसलाई सुयोग्य केटा ठानेर टीकोटालो लगाईदिएका थिए मेरा बाबाआमाले । उसले मलाई पाल्ने र हेरचाह गर्ने सम्झौता गरेर अपनाएको थियो । हामी दोश्रो तल्लामा डेरा गरी बस्ने गर्दथ्यौं ।


तर बाघे चरित्र रैछ त्यसको । हरपल मलाई भोग गर्न चाहन्थ्यो । म उसका लागि भोग्य साधन थिए । त्यो अपवाद नै होला । उसलाई उपयोगिता र्हास नियम कहिल्यै लागू हुन सकेन । हरपल अधिक उपयोगिता प्राप्त गर्न चाहन्थ्यो । उसका लागि एउटै गुण, रुप र अवस्थामा प्रस्तुत हुनुपर्दथ्यो । म बोटमा लटरम्म फलेकी फल थिएँ । उसले जतिखेर नि टिपेर खान सक्थ्यो । म उसकै करेसाबारीमा फलेकी थिएँ । उसको धाराबाट खुल्ला बगेकी पानी थिए । मलाई जतिखेर नि पिउन सक्यो । म लाचार भईसकेकी थिएँ । ती कष्टप्रद पलहरू एकदमै भयावह लाग्छ । हिंस्रक बाघ जहिल्यै शिकारको खोजमा हुन्थ्यो । भर्खर शिकार गरेर पेट डम्म फुलेको भए पनि जहिल्यै शिकारको मानसिकता हुने रैछ । म कठ्पुतलीझैँ नाचिरहेँ उसकै इसारामा । जसरी नि नाच्नु मेरो विवशता थियो । बिरामी, अशक्त अनि महिनावारीको चरणमा पनि थाक्दैन थियो त्यो । अविछिन्न रूपमा लागि रहन्थ्यो शिकारी क्रियाकलापहरूमा । निषेध गर्दाका फलहरू क्रुद बनेर प्रस्तुत हुने गर्दथ्यो । मेरा जगल्टाहरू उखेलिने गर्दथे, अर्को खेती लगाउनका लागि । म माथि बज्रहरु प्रहार हुने गर्दथ्ये । म पीडा सहन नसकी उसको नाटकको प्रमुख पात्र बन्न तयार हुन्थेँ नचाहेर पनि । ऊ बडो अचम्म तरिकाले नाटकको निर्देशन गर्दथ्यो । ऊ नाटकको नायक र खलनायक दुवै थियो । झ्याल ढोका थुनेर नाटकको लागि गोप्य वातावरण तयार हुने गर्दथ्यो । उसले ‘ब्लू फिल्म’का स्क्रिप्ट देखाएर मलाई रटाउँथ्यो । घीनलाग्दा दृश्यहरूमा उसको साथ दिनु पर्दथ्यो मैले । म विवश हुन्थे उसको नाटकको मञ्चनमा । म यन्त्रवत् गरिरहन्थे उसले अह्राएबमोजिम । आखिर म कठ्पुतली न परे उसको इशारामा नाच्नै पर्दथ्यो ।


त्यो कालरात्री । चारैतिर अन्धकार थियो । झ्याउँकिरीका विरासिला आवाजहरूले मलाई तड्पाईरहेका थिए । चारैतिर वातावरण शान्त र चकमन्न थियो । सायद रातीको १२ बजेको हुदोँ हो । म ओछ्यानमा लडिरहेकी थिए । दुई दिनदेखि ज्वरो एकदमै विकराल रूपमा प्रस्तुत भएको थियो । अझ टाउकोमा ठटेउराले ठोकिरहेका थिए । चटपटाउन सकिरहेकी थिइनँ । जसोतसो गरेर उनको लागि खाना तयार गरेँ । मलाई भोक लागेको थिएन । जिब्रो हड्तालमा थियो । मलाई केही रुची थिएन । उनी आउने बाटो ढोकाबाट चिहाईरहेकी थिएँ । उनी आएका थिएनन् । मनमा एकप्रकारको त्रासद युद्ध चलिरहेको थियो । हार र जित के हुने थाहा थिएन । के भन्ना उसले ? यस्तै सोचिरहेकी थिएँ । मनमा बेचैनीको सुनामी ह्वात्तै बढेको थियो । मेरो महिनावारी एक्कासी रोकिएको थियो । डाक्टर कहाँ गएकी थिएँ, उनीले बधाई दिएकी थिइन । निकट भविष्यमै म आमा उनी बाबा भन्ने छाँटकाँट देखिएको थियो तर यो हलचललाई म व्यवस्थापन गर्न सकिरहेकी थिइनँ । म सबै भन्ने सुरमा थिएँ उसलाई तर हृदय कापिरहेको थियो । मेरो मानसपटलले अग्रीम भविष्यवाणि गरिसकेको थियो ।


सधैँझैँ त्यो बाघै बनेर आयो त्यसबेला पनि । मैले शिकारीको भेष ओछ्यानबाटै नियालेँ । आफुलाई सन्तुलनमा राख्न सकिरहेकी थिएनँ । ऊ रक्सीको मातमा निक्कै मदहोस देखिथ्यो । मेरो हृदय वाचाल भयो । अब यसपछिका घट्नाहरू एकाएक निमोठ्दै देखा परे झलझली चलचित्रझैँ । ऊ कोठामा आउनसाथ गर्जियो । बाघ र शिकारको जम्काभेट भयो । मेरो विन्तीभाउ कहाँ सुन्छ र त्यसले । उसले मेरो शिकार नगरी नछोड्ने भयो । मैले सबै कुरा भने तर विडम्बना उसलाई केही असर गरेन । मलाई केही नगर्न विन्ती चढाएँ, रोएँ, कराएँ तर त्यसले वास्तै गरेन । म उसको पन्जामा परिसकेकी थिए । उसले कोठाको वातावरणलाई पहिलेजस्तै बनाईसकेको थियो । मेरो आवाज मत्थर भएर विद्रोहमा परिणत भयो । मेरो हृदयको वर्लिन पर्खाल ढल्यो । हृदयमा बाँधिएका आशाका तारहरू चुटिए । ‘सा..रे..ग...म’ गाउन नसक्ने भए । बज्न छोडे सम्मान र शालीनताका धुनहरू । मनमा झन् सुनामीजस्ता आँधीहरू चल्न थाले । मैले तुरहीका साथ विद्रोहको उद्घोष गरे । उन्मूक्ति पाउनका लागि अर्थहीन सीभास्तम्भहरू ढाल्न तम्सिएँ । मेरो हृदयमा भुकम्प उठ्यो जसबाट एकप्रकारको ज्वालामुखी विष्फोटित भयो । मैले उसलाई भएभरको बल निकालेर जोडले ठेलेँ । ऊ बिजुली करेट लागेर फालिएझैँ फालियो । ऊ हावासँगै बतासियो । झ्यालमा ग्रील लगाएको थिएन । ऊ झ्यालबाट बाहिर खस्न पुग्यो । ठुलो गर्जनका साथ सिमेन्टीको तिखो वालमा पछारियो । उसले त्यसैसमय आफ्नो प्राण त्याग गर्यो । म हेरेको हेरैँ भएँ ।


बुख्याँचाझैँ भएर हाम्रा प्रहसन हेरिरहेका केही छिमेकीहरू त्यो सुनामी हेर्न आए । त्यतिखेर नै मेरो अस्तित्वको किनबेच भयो । मेरो पतिधर्मले धर्म परिवर्तन गर्यो। मेरो चरित्रमाथि कसैले धावा बोल्यो, ‘आफ्नो लोग्नेलाई हत्या गर्ने यो चरित्रहीन आईमाईलाई त्यसै छोड्नु हुँदैन ।’ मेरो ढुकढुकी वशमा थिएन । मैले सोचेकीँ थिइन त्यस्तो हुनेछ भनेर । म रोएँ, कराएँ उसको मृत शरीरलाई अँगालो हाले तर फगत् तिनीहरूले मात्र नाटक सम्झे किनकी हाम्रो नाटक मञ्चन भईरहेको थियो ।


आजको यो कालरात्रि मलाई त्यो घटना सम्झाईरहेको छ । म एकदमै एक्ली भएको छु । चारैतिर फलामका डण्डीहरूका बीच म राक्षसी स्वभाव भएकी आईमाई बसिरहेकी छु । लोग्नेलाई मारेको आरोपमा मलाई यो सजाय सुनाइएको हो । अबका वर्षहरू मैले यसमै गुजार्नु पर्नेछ । मेरो अगाडि कैदीलाई दिने खाना राखिएको छ । त्यसले मेरो जिन्दगीलाई व्यंङ्ग्य गर्दै छ । भोक र प्यास बिर्सिएकी ‘मनसरा’लाई रुच्दैन भनेर कस्तो थाहा नभाको ! हृदयमा एउटा आशाको त्यान्द्रो बाँकी छ अझै । मेरो पेटभित्रको कोमल विरुवा दिनानुदिन बढ्दै छ । बीउ छर्ने अर्कै भएपनि मेरै छातिमा उम्रेको हो । म यसलाई मलजल गर्नेछु तर समयले कस्तो चलचित्र देखाउँला ? म अन्जान छु । (रचनाकाल : २०६७ भदौं १० गते समय : राती १२ बजे)

नयाँ पुस्तक, पत्रपत्रिका पढ्न, फिल्म हेर्न अब्सेसिभ छु । केही क्रियटिभ कुरा फुर्यो भने ब्लग लेख्ने गरेको छु । तपाईजस्तै म पनि आफ्नो पहिचान र स्पेश खोज्ने योद्धा हुँ ।

0 comments: