पुस्तक मेरो प्रेमी हो : नेहा शर्मा
दिल्ली पब्लिक
स्कुलबाट प्लस टु सिध्याएकी नेहा शर्मा पुस्तक अध्ययनलाई आफ्नो महत्वपूर्ण काम
ठान्छिन् । राष्ट्रिय पत्रिकाहरूमा कथा, नियात्रा, संस्मरण र
समीक्षा प्रकाशन गर्ने शर्मा बाल्यकालदेखि नै अध्ययनशील हुन् । किताबलाई आफ्नो
प्रेमी ठान्ने र नियमित ब्लग लेख्न रुचाउने शर्मासित गरिएको किताबी गफ :
• फेसबुकमा आफ्नो
नाममा मुराकामी जोड्नुभा’को किन ?
— हाहाहा... प्रिय
लेखक हारुकी मुराकामीप्रति मेरो ‘ट्रिब्युट’
हो । प्रत्येक तीन पृष्ठमा उनले दिने ‘सरप्राइज’ मलाई औधी मन पर्छन्, जुन अप्रत्यासित र अकल्पनीय हुने गर्छन् । म उनका
सिर्जनालाई मन पराउँछु किनभने तिनीहरूले मभित्रको पाठकलाई जगाउँछन् ।
• अहिले के पढ्दै
हुनुहुन्छ ?
— म अहिले Fyodor
Dostoyevsky को छोटा कथाहरू पढ्दै छु
। उनलाई त्यत्तिकै ‘अस्तित्ववादको
पिता’ भनिएको होइन रहेछ ।
• यसपछि कुन किताब
पढ्ने सोच छ ?
— यसपछि म Haruki
Murakami कै नयाँ उपन्यास Colorless
Tsukuru Tazaki and His Years of Pilgrimage।
• तपाईंको मनपर्ने
विधा ?
— मलाई आख्यान मन
पर्छन् । आख्यानले जीवनको विषम परिस्थितिमा एउटा सुरक्षित घर दिन्छन् । किनभने,
कहिलेकाहीं संसार असाध्यै विषम बनिदिन्छ ।
हामीले त्यो संसार छोड्नुपर्ने हुन्छ । र, त्यतिखेर दुई विकल्प छान्नुपर्ने हुन्छ, कि सुसाइड कि किताब ।
• एकदमै मनपरेका
सात किताबको नाम लिनुपर्दा ?
— Harper Lee को ‘To
Kill a Mockingbird’, Arthur Golden को Memoirs
of a Geisha, लैनसिंह
वाङ्देलको ‘मुलुक बाहिर’, Haruki Murakami को ‘The Wind-Up Bird Chronicle’, Chinua Achebe को ‘Things Fall Apart’, अमर न्यौपानेको ‘सेतो धरती’ र मनु मन्जिलको ‘ल्याम्पपोस्टबाट खसेको जून’ ।
• जीवनमा कुनै
किताबी पात्रले प्रभाव पारेका छन् ?
— मलाई एकदमै
प्रभाव पारेको पात्र ‘To Kill a Mockingbird’ कि Jean Louise “Scout” Finch अर्थात् स्काउट हुन् । उनलाई Harper Lee ले एकदमै अबोध तर साहसी पात्रको रुपमा उभ्याएकी
छिन् । उनीभित्रको जिज्ञासा, साहस र
पढाइप्रतिको मोहले गर्दा नै म स्काउटप्रति आकर्षित भएँ । स्काउट फिन्च एउटी यस्ती
बालिका हुन्, जो आफ्नो
पारिवारिक मार्यदाको लागि खडा हुन्छिन् । आफ्नो बुबाको इज्जतका लागि जे गर्न पनि
तयार हुन्छिन् । त्यसो गर्दा उनलाई अनेकन समस्या आइपर्छन् तर परिवार, छरछिमेकी र आफूमा आइपरेका समस्या खेप्नुपरेका
कारण उनलाई सानै उमेरमा परिपक्वताको अनुभव हुन्छ, जुन उनका उमेरका अरू केटाकेटीमा विरलै पाइन्छ ।
• किताब पढ्दा
निरास भएको कुनै सम्झना ?
— सानै उमेरमा मैले
नेपाली साहित्य पठनको सुरुवात कृष्ण धरावासीको ‘राधा’ उपन्यासबाट गरेकी
हुँ । राधा पढेर म अत्यधिक रोएकी थिएँ । मेरो बाल मस्तिष्कले राधा–कृष्णको विवाह होस् भन्ने ठानेको थियो ।
अन्त्यमा त्यस्तो भएन । ‘उपन्यासमा जे लेखे
नि हुन्छ ?’ भनेर मैले कृष्ण
धरावासीलाई दोषी ठान्दै इमेल गरेकी थिएँ । उहाँले राधा–कृष्णको प्रेमकथा, यसको वास्तविकता र नियतिबारे मलाई सम्झाउनुभएको थियो ।
• कहाँबाट किताब
प्राप्त हुन्छ ?
— इटहरीमा
फाट्टफुट्ट किताब मात्र पाइन्छन् । त्यो पनि अङ्ग्रेजीको किताब त फिटिक्कै
पाइँदैनन् । त्यसो हुँदा म धेरैजसो इ–बुक नै पढ्ने गर्छु । कहिलेकाहीं बुकवर्म झम्सीखेलबाट कुरियर हुँदै आइपुग्छ ।
बाबालाई किताब ल्याइदिन अनुरोध गर्छु ।
• महिनामा औसत कति
रकम किताबमा खर्च हुन्छ ?
— यस्तै गर्छु
भन्ने हुँदैन । इ–बुक पढ्दा पैसा
खर्च हुँदैन । किताब किनेर पढ्दा मन लाग्यो भने औसत महिनामा दुई हजार जति खर्च
हुन्छ । अहिले म विद्यार्थी भएकाले चाहे जति खर्च गर्न सकेकी छैन ।
• पढ्न कस्तो
वातावरण चाहिन्छ ?
— चाखलाग्दो किताब
फेला पर्यो भने बाहिरी वातावरणले कुनै असर पार्दैन । एकदमै भिडभाड एवम् हो–हल्लामा कोही पनि पढ्न सक्दैन तर मलाई पढ्दा
एकदमै शान्त वातावरण चाहिने नै पनि होइन । प्रायः ओछ्यानमै बसेर पढ्छु । कतिपय समय
टेबल–कुर्सीमा बसेर पनि पढ्छु
। मुड अनुसार हुन्छ ।
• किन पढ्नुहुन्छ ?
— म आत्मसन्तुष्टिका
लागि पढ्छु । पढ्दा ज्ञान पनि प्राप्त हुन्छ तर ज्ञान प्राप्त गर्नकै लागि मात्र
पढिँदैन । जस्तै अरू मान्छेलाई खाना, बस्न र सुत्न अनिवार्य छ, मलाई लाग्छ,
मेरा लागि पनि किताब पढ्न अनिवार्य छ । मेरो
लागि किताबको उति नै महत्व छ जति अरू कुराको छ । पुस्तक मेरो प्रेमी हो । र,
हामी एक–अर्काबिना अधुरा छौं ।
• पढ्ने बानी कसरी
लाग्यो ?
— हाम्रो घरमा
थुप्रै किताबहरू छन् । ‘रिडर्स डाइजेस्ट’,
हिन्दी, अङ्ग्रेजीदेखि बङ्गाली किताबहरू पनि छन् । सानैदेखि बाबा–मामुले पढिराखेको देखेर होला ममा पढ्ने लत
लाग्यो । कक्षामा शिक्षकहरू पनि साहित्यकार हुनुहुन्थ्यो । त्यसमध्ये एक मनु
मन्जिल हुनुहुन्छ । उहाँ कक्षामा आउँदा प्रायः जहिल्यै साहित्यिक किताब बोकेर
आउनुहुन्थ्यो, त्यो किताबबारे
चर्चा गरेपछि मात्रै पढाउन सुरु गर्नुहुन्थ्यो । पहिला–पहिला त उहाँको प्रशंसा पाउनकै लागि मात्र भए पनि पढ्थें ।
तर, पछि बानी लाग्दै गयो,
रमाइलो लाग्दै गयो । उपन्यास पढ्दा मलाई फिल्म
हेरे झैं लाग्छ ।
• कुन समय औधी
किताब पढ्नुभयो ?
— मैले ११/१२ कक्षामा हुँदा औधी किताब पढें । कक्षा १०
बाट एक्कासी ११ मा उक्लिँदा जोसुकैलाई आफ्नो पढाइप्रतिको तनाव बढ्छ । मैलै ती दिनहरूमा
आफ्नो तनावलाई भगाउन थुप्रै किताब पढें ।
• कलेजका
युवापुस्ताले पढ्नैपर्ने किताब ?
— यस्तै किताब
पढ्नुपर्छ भन्ने तोकेर भन्न सक्दिनँ । तर, अहिलेको समाजमा सबै कुराको ज्ञान आवश्यक भएकाले प्रेम–प्रणय, रोमान्ससम्बन्धी
किताब मात्र नभएर धर्म, विज्ञान, दर्शन आदि साहित्यिक महत्व बोकेका किताबहरू
पढ्न जरुरी छ । पढ्दै गएपछि आफूले पढ्नुपर्ने किताबहरू छान्न उत्साहित भइँदो रहेछ
।
0 comments: