अर्मूतबोधी तरल उपन्यास अल्केमिष्ट

द अल्केमिष्टले अण्डालुसियन भेडा गोठालो सेन्टीअगोको यात्रा पछ्याउँछ । ऊ अनौठो सपना देख्छ जसले बाम्बार सोचमग्न बनाउँछ । बारम्बार आइरहने सपनाको कुनै भविष्यवाणी या विशेष अर्थ हुन्छ भनेर ऊ सपनाको अर्थ फुकाउन र भुलभुलैयाबाट सधैँका लागि उन्मुक्ति पाउन ऊ जिप्सी महिला कहाँ जान्छ । उनले सेन्टीअगोलाई भन्छिन्, इजिप्टको पिरामिडमा तिम्रा लागि गाडधन (टेजर्र) छन् ।

सपना खन्न जानुअघि केटाले बयोवृद्ध राजा मल्कीजेडेकलाई भेट्टाउँछ जसले उसलाई आफ्नो इजिप्ट यात्रा पूरा गर्न भेडा बेच्न सल्लाह दिन्छन् । राजाको आफ्नै कथन हुन्छ — When you want something all the universe conspires in helping you to achieve it. । यहीँ नै उपन्यासको वास्तविक दर्शन उद्देश्य भएर उपन्यासभरि प्रस्तुत भएको छ । यात्रामा केटाले यहीँ वाक्यांशबाट प्रेरणाप्रद पाइला चाल्छ ।

मरुभूमिको उराठलाग्दो यात्रामा उसको थुप्रै खतरा, महामारी, अवसर र प्रेमसित टकराव हुन्छ । उसले आफू र संसारबाट धेरै कुरा सिक्छ । यात्राको मध्यभागमा उसले अरेबियन युवति फतिमालाई प्रेमिकाको रुपमा फेला पार्छ । फतिमाले उसलाई धैर्यता सिकाउँछिन् । मरुभूमिका स्त्रीहरु आफ्ना पुरुषहरु युद्धमा होमिदा उनीहरुको पखाईमा वर्षौ कुरिरहन्छन् । उनीहरुको हृदयबाट आफ्नो लोग्ने मरे वा बाँचे पनि धैर्यता कम हुँदैन । प्रेमले जीवनका सपनाहरु पूरा गर्न बाधा दिन्छ भन्ने मनस्थिति बनाएको सेन्टीअगोलाई उनी पहिला आफ्ना सपना पूरा गर्न उक्साउँछिन् र आफू मरुभूमिकी स्त्रीझैँ जीवनभर उसलाई कुरेर बस्ने बताउँछिन् ।

सेन्टीअगोको भेट किमियागरसित भएपछि उपन्यासले उत्कर्षको विन्दू लिन्छ । किमियागरले आफ्नो महत्वपूर्ण समय धातुको स्तरोन्नतिमा खर्चेको हुन्छ । उसलाई सबै प्रकारका धातुका रहस्यहरु थाहा हुन्छ । किमियागरले केटालाई आफ्ना कथोभावना भन्छ । मानिसहरु गाड्धन पाउन चाहन्छन् तर आफ्नो मनको कथोभावनालाई वेबास्ता गर्छन् । केटाले किमियागरको अभिव्यक्तिमा अन्यौलता पाउँछ । किमियागरका अभिव्यक्तिहरु बाम्बार देखिरहने सपनाझैँ अर्थहीन, अर्मूत लाग्छन् । किमियागरको मान्यता छ— जो आफ्नो कथोभावनालाई वेबास्ता गर्छन् ती शिक्षाका बृहत पक्षलाई बुझ्नलाई विफल हुन्छन् । कारण जीवनमा गाड्धनको पहिचान सुनभन्दा मूल्यवान हुन्छन् ।

द अल्केमिष्ट एउटा एड्भेन्चर हो जसबाट हामी मिश्रको मरुभूमी, त्यहाँको जीवनशैलि पढ्दै, अनुभूति गर्दै डुल्न सक्छौँ । आफ्नो सपनामा हिँड्नेहरु कसरी सपनालाई पूर्ण बनाउन सक्छन् । सपनाका साइतलाई चिन्नु नै सपना पूरा गराउन उद्धत हुनु हो भन्नु नै उपन्यासको भावभङ्गिमा हो ।

द न्यूयोर्क टाइम्सका अनुसार द अल्केमिष्टलाई ६७ विभिन्न भाषामा अनुवाद गरिएको छ । धेरै अनुवाद भएका कारण गिनिस बुक अफ वल्र्ड रेकर्डस्मा यसका लेखक पाउलो कोयल्होको नाम लेखिएको छ । लाखौं बिक्री भैसकेको यस उपन्यासले लाखौं युवापिँढी र बालबालिकाको मन जितिसकेको छ, जितिरहेको छ । यद्यपि समिक्षकहरुबाट खासै राम्रो समालोचना पाउन सकेको छैन । फ्यान्टासीमा आधारित कथावस्तुले उपन्यासको ओज घटाएको छ । कोही मानिस आफूलाई हावामा किञ्चित् परिणत गर्न सक्दैन । हावा बालुवा र सूर्यसँग गफ गर्न सक्दैन । बाइबलका कथाहरुसँग मिल्ने केही घटनाक्रमहरु छन्, बाइबलका दर्शनहरु परिमार्जित गरेर हालिएका छन् । बाइबलको Matthew 17:20 मा यस्तो लेखिएको छ :
Because of your little faith for truly, I say to you, if you have faith like a grain of mustard seed, you will say to this mountain, ‘Move from here to there,’ and it will move, and nothing will be impossible for you. कोयल्हो यहीँ विश्वासलाई मेरुदण्डलाई उपन्यास बनाएर उपन्यास लेखेका छन् । दर्शनका नाममा अर्मूतबोधी परिवेश खडा गरिदिएका कारण उपन्यास तरल बनेको छ । उपन्यास पढरुन्जेल पाठकले यस्तो मानसिकता बनाए हुन्छ— मूर्त दर्शनलाई जीवनमा प्रयोग गर्छु अमूर्तलाई मनोरञ्जनका लागि पढ्छु । नत्र हामीसित थुप्रै सेल्फ इम्पावरमेन्टका किताबहरु छन्, त्यसलाई पढ्दा काइदा हुन्छ ।

नयाँ पुस्तक, पत्रपत्रिका पढ्न, फिल्म हेर्न अब्सेसिभ छु । केही क्रियटिभ कुरा फुर्यो भने ब्लग लेख्ने गरेको छु । तपाईजस्तै म पनि आफ्नो पहिचान र स्पेश खोज्ने योद्धा हुँ ।

0 comments: