नोबेल पुरस्कारका दाबेदार राजेन्द्र र बिजयी मो यान

3:55:00 AM 0 Comments

अनलाइन संस्करण गार्जियनमा नोबेल पुरस्कारको दाबेदारमध्ये उत्कृष्ट दशमा नेपाली कवि डा. राजेन्द्र भण्डारीको नाम छाएपछि नेपाली साहित्यमा खुबै तहल्का मच्चियो । फेसबुक तथा ट्वीटरमा दर्जनौं टिकाटिप्पणी आए । नेपालका नेत्र एटम, नयराज पाण्डे, बिक्रम सुब्बा, मनिषा गौचन, उमा सुवेदी लगायतका साहित्यकारहरुले भण्डारीलाई बधाई दिए । सन् १९५६ मा दार्जिलिङ्गमा जन्मिएका भण्डारी नेपालीभाषी कवि भण्डारीले पनि ति बधाईहरु स–सम्मान लिए तर दूर्भाग्यको कुरा यसवर्ष साहित्यतर्फको नोबेल पुरस्कार चिनियाँ लेखक मो यानले जितेका छन् ।
डा‌. राजेन्द्र भण्डारी
पुरस्कार पाएसँगै मो यानको चर्चा सवत्र्र हुन थालेका छन् । १०१ वर्षको इतिहासमा पहिलोचोटी चीनमा बसेका लेखकले यो पुरस्कार पाएका हुन् । यद्यपि सन् २००० मा गाओ सिङजियानले नोबेल पुरस्कार पाएका थिए तर उनी अहिले फ्रान्सेली नागरिक छन् । त्यस्तै चिनियाँ किसानहरुको आदिम कथा ‘द गुड अर्थ’ उपन्यास लेखेर अमेरिकी लेखिका पर्ल एस बकले पनि यो पुरस्कार हात पारेकी थिइन् ।
यसपाली पनि पुरस्कार बिजेता विवादबाट बच्न सकेनन् । केही महिना अघिदेखि नै चिनियाँ सञ्चारमाध्यमहरुमा मो यानलाई बिजयी बनाउन, विश्वको ध्यान आकृष्ट गर्न समाचारमार्फत भीख माग्ने कार्य भएको आरोप लगाइएको थियो । यता चिनियाँ सञ्चारकर्मीहरुले एसियाका सवालमा पश्चिमेलीहरुको कर्के नजर हुने गरेको जवाफ फर्काएका थिए ।

चर्चा, विवाद र भाग्यको आँकलनबीच अन्ततः मो यानले पुरस्कार पाएरै छोडे । पुरस्कार स्थायी समितिका सचिव पिटर इङलण्ड मो यानको साहित्यिक योगदानको चर्चा गर्दै भन्छन्, “उनी कहिलेकाँही मात्र भाग्यसित जित्ने तर अक्सर हार्ने देशका किसानी जीवनबारे लेख्छन् । उनका किताबहरु बच्चाले लोककथा सुनेझैँ छन्, जादूमय यथार्थवादको उत्कृष्ट प्रयोग छ यद्यपि उनले गाब्रियल गार्सिया मार्खेजबाट केही लिएका छैनन्, जे छ उनको आफ्नै छ । कथा साधारण रुपमा बग्दछ, वास्तवमा उनी विषम कथावाचक पनि हुन् ।”
मो यानको आगामी भविष्यको बाटोको सम्भाव्यता प्रष्ट्याउँदै इम्पेरियल कलेज लण्डनका चिनियाँ प्राध्यापक तथा अनुवादक निकी हार्मन भन्छिन्, “उनी ठूला लेखक हुन् । अब सबैले चिन्नेछन् । कारण नोबेल पुरस्कारले अंग्रेजी पाठक समक्ष उनलाई अझ नजिक ल्याइदिएको छ ।” त्यस्तै अर्का चिनियाँ प्राध्यापक मिकेल होक्स मो यानको साहित्यिक उपलब्धीलाई राजनीतिसित जोडेर यस्तो प्रतिक्रिया दिन्छन्, “उनका सबै साहित्यिक कृतिहरु प्रत्येकले यथार्थमा अलौकिक घटना कोर्छन् र जुन माओवादी राजनीतिभन्दा एकदमै फरक छ ।” मो यानका अनुवादक हवार्ड गोल्डबाल्ट पनि भाषाका कारण उनलाई चाल्स डिकिन्ससित तुलना गर्छन् ।

को हुन् मो यान ? के लेख्छन् ?
मो यानको जन्म सन् १९५५ सालमा एउटा किसान परिवारमा भयो । बाह्र वर्षको हुँदा उनले साँस्कृतिक क्रान्तिको समय स्कुल छोडे र खेतिकिसानी र उद्योगमा मजदुरको रुपमा काम गर्न थाले । सन् १९७६ मा उनले सेनामा भर्ति भएर विधिवत् साहित्य लेखन र पठनको ढोका उघारे ।
सन् १९८१ मा यानको छोटो कथा साहित्यिक पत्रिकामा प्रकाशित भयो । त्यसको केही वर्षपछि उनको ‘टोउमिङ डे हङ लुउबो’ भन्ने उपन्यास प्रकाशित भयो । उनको लेखनीमा युवा अवस्थाका तमाम अनुभूतिहरु खिचिएका हुन्छन् । उनको उपन्यास ‘रेड सोरगम’मा बीसौं शताब्दीको दुःखदायी कृषकहरुका उथलपुथललाई गुँथिएको छ । निर्देशक जङ्ग यिमुले यसलाई सफलतापूर्वक फिल्लमा पनि रुपान्तरित गरेका छन् ।
त्यस्तै यानको उपन्यास ‘गार्लिक बालाड्ज’ र ‘द रिपब्लिक अभ वाइन’लाई विध्वसंक भनिएको छ । कारण, समकालीन चिनियाँ समाजलाई गतिलो प्रहार गरिएको छ ।

‘बिङ ब्रेस्ट एण्ड वाइड हिप्स’ उपन्यासले बीसौं शताब्दीको एक परिवारको इतिहासलाई गतिशील चित्रमा प्रस्तुत गर्छ । उनकै ‘लाइफ एण्ड डेथ आर वेरिङ मि आउट’ले गणतान्त्रिक युवाहरुको प्रत्येक दिनको हिंस्रक कायापलटको प्यारोडी प्रस्तुत गर्छ । त्यस्तै उनको प्रकाशित हुन लागेको ‘स्यान्डलवुड डेथ’ले कुख्यात साम्राज्यको कथा बोक्छ । भर्खरै प्रकाशित भएको उनको उपन्यस ‘वा’ले चीनको एकल सन्तान नीतिका परिणामहरुलाई प्रकाश पार्छ । यसरी उनका सबै उपन्यासहरु चीनलाई हेर्ने झ्याल भएको प्रतीत हुन्छ । उनका अरु उपन्यासहरुमा ‘फलिङ रैन अन अ स्प्रिङ नाइट’, ‘चेइन्ज’, ‘पोउ’ लगायतका रहेका छन् भने कथासंग्रहहरुमा ‘एक्सप्लोइजन्स एन्ड अदर स्टोरिज’, ‘सिफूः यूविल डु एनिथिङ फर अ लाफ’ लगायतका रहेका छन् ।

मो यान स्वैरकल्पना, यथार्थ र ऐतिहासिक सामाजिक पक्षहरुको मिश्रणबाट विलियम फल्कनर र गाब्रियल गार्सिया मार्खेजका लेख्य जटिलताहरुको विश्व समक्ष याद ताजा गराउँछन् । तर यही समय उनी परम्परागत चिनियाँ साहित्य र भाष्य परम्पराको प्रस्थानविन्दू खोज्छन् ।

मो यान अङ्ग्रेजी भाषी लेखक होइनन्, चिनियाँभाषी लेखक हुन् । मो यानका जस्तै नेपालका लेखकहरुको  साहित्यिक कृतिको सफल अनुवाद  हुन सक्यो भने आगमी दिनहरुमा नेपाली साहित्यकारलाई पनि नोबेल पुरस्कार पक्का हुन सक्छ ।

नयाँ पुस्तक, पत्रपत्रिका पढ्न, फिल्म हेर्न अब्सेसिभ छु । केही क्रियटिभ कुरा फुर्यो भने ब्लग लेख्ने गरेको छु । तपाईजस्तै म पनि आफ्नो पहिचान र स्पेश खोज्ने योद्धा हुँ ।

0 comments: