समवेदनालाई छुने प्रेमकथा


‘एउटी २५ वर्षिया युवतिको अकालमै मृत्यु हुँदा तपाईं के भन्नुहुन्छ ?’ प्रश्नको उत्तर व्यक्तिपिच्छे फरक–फरक होलान् तर अमेरिकी लेखक इरिक सेगलको उपन्यास ‘लभ स्टोरी’को सुरुवात भने यसरी हुन्छ : ‘उनी लोभलाग्दी थिइन् अनि विवेकी । संगीतका हस्ती मोजार्ट, ब्याज, बिटल्सलाई उनी मनपराउँथिन् र मलाई पनि ।’ उपन्यासको अग्रानुच्छेदमा  सबै घटनाक्रम खोलिदिएका सेगलको यो उपन्यास बडो हाँसीमजाक गर्दै सुरु हुन्छ । पाठक पात्रको जोक्स र व्यङ्ग्यमा हाँस्न बाध्य हुन्छन् । १२० पेजमा सीमाबद्ध यो छोटो उपन्यासले प्रेमको आश्चर्यजनक शक्तिलाई पाठक अघिल्तिर राखिदिन्छ । प्रेम–प्रसङ्ग, रोमान्स र हाँसीमजाकका प्लटहरुले पाठकलाई उचाल्दै÷पछार्दै अन्त्यमा बैचनी, नियति र दुःखको सागरमा डुबाइदिन्छ र अनायासै खसाइदिन्छ– आँसहरु । ‘प्रेम भनेको तिमी ग्लानीले भरिनु होइन ।’ भन्ने विचारको उत्खनन् गर्दै उपन्यासले हृदयमा अमिट छाप छोडिदिन्छ र हामीलाई प्रेम गर्न सिकाएर बिदा लिन्छ– लोभ स्टोरी ।

लभ स्टोरी एकजोर युवायुवतिको प्रेमकथा हो जो जीवनका विविध परीक्षाहरुमा असफल हुन्छन् या नियतिको बाढीले दूवैलाई बगाइलैजान्छ । यद्यपि उनीहरुको प्रेम ती जीवनका ताममा समस्याभन्दा बलवान हुन्छ । अन्त्यमा, प्रायः प्रेमकै जीत हुन्छ र नियति हार्छ । उपन्यासमा ओलिभर ब्यारेट चौथो जो खानदानी र धनी युवक हुन्छ । यता, जेनिफर क्याभिलेरी दिनहुँ कमाइखाने बाबुकी छोरी जससित धनसम्पति हुँदैन तर मनग्गे प्रेम हुन्छ । ओलिभर खेलकुदमा भाग लिएर बाबुको पाइला पछ्याउँदै हुन्छ र जेनिफर ऐच्छिक विषय संगीत लिएर पढ्दै हुन्छे । एकसर्को हेर्दा उनीहरु फरक प्रकृतिका र फरक भूगोलका फरक–फरक देखिन्छन् । तर जब उनीहरुको भेटघाट हुन्छ तब बडो नाटकीय ढङले उनीहरु नजिकिन्छन् । जति उनीहरु प्रेममा भासिन्छन् त्यति पाठक उपन्यासको कथानकमा भासिदै जान्छन् र यत्रतत्र नाचिरहन्छन् ओलिभर र जेनिफर । ग्राजुएशनपछि ओलिभर आफ्नो बाबुको मञ्जुरी विना जेनिफरसित विवाह गर्छ । उसलाई बुबाले आश्रय दिइरहेका हुन्छन् । पढाईका साथसाथै ओलिभरका प्रत्येक आवश्यकताहरु पूरा गरिदिने हुन्छन् । अब बाबुको सहयोग विना ती दम्पति धेरै संघर्ष गर्न पुग्छन् । अर्थोपार्जनका लागि कानून पढ्दै गरेको ओलिभर कानूनी सल्लाह केन्द्रमा काम गर्न थाल्छ । ती जोडी न्यूयोर्क गएर सँगै दाम्पत्य जीवन सुखमयपूर्वक बिताउँछन् तर उनीहरुको दाम्पत्यले फल फलाउन सक्दैन । अर्थात् उनीहरु बच्चा जन्माउन चाहन्छन् तर कसैगरे पनि बच्चा हुँदैन ।  यसपछि सुरु हुन्छ कथाको अविश्वसनीय कोल्टे फेराईहरु । ति समवेदनाले पाठकलाई छुन्छन् र चोटैचोट पारिदिन्छन् ।

वास्तमा  जेनिफर बच्चा जन्माउन असमर्थ हुन्छे । पटक–पटक स्वास्थ्य जाँच गरेपछि जेनिफरको अवस्था नाजुक भएको र चाडैँ नै मर्ने संकेत पाउँछन् । जेनिफरलाई ‘ल्युकेमिया’ भएको हुन्छ । डाक्टरको सल्लाह अनुसार ओलिभरले जेनिफरलाई उसको स्वास्थ्य अवस्थाको बोरमा केही नभनिकन सामान्य जीवन बिताउन प्रयत्न गर्छ तर जेनिफरले आफ्नो रहस्य थाहा पाइहाल्छे । सत्यसित परिचित भएपछि ऊ दिनहुँ खिइन्छे, दुब्लाउँछे । ओलिभर जेनिफरमा देखिएका अकल्पनीय परिवर्तनले घाइते हुन्छ । जोनिफरलाई क्यान्सर थेरापी गर्न खर्चिलो हुन्छ । ओलिभर जेनिफरको उपचारार्थ खर्च व्यहोर्न असमर्थ हुन्छ । उसलाई अब गरिबीले नङ्ग्याउँदै जान्छ । ऊ बाबुसित सहयोगको अ‍ेपक्षा राख्छ । जेनिफर भने आफ्नो बाबुलाई अन्तिम संस्कारका लागि चाजोपाजो मिलाउन आग्रह गर्छे । यता, ओलिभरलाई नियतिमाथि दोषरोपण गर्न छाडेर मर्नु अगाडि कस्सिलो अँगालो मार्न भन्छे । यो दृश्य असाध्यै कारुणिक प्रतीत हुन्छ, पाठकको मुटु भत्तभत्ति पोल्न सक्छ ।
ओलिभरको बाबुलाई बुहारी जेनिफर बिरामी भएको थाहा हुन्छ । ओलिभरले पहिल्यै बाबुसित पैसा मागिसकेको हुन्छ । बुवा न्यूयोर्कतिर हुँइकिन्छन् । हस्पिटलमा पुग्नासाथ जेनिफर मरिसकेकी हुन्छे र मुटु बोझिल बनाउँदै उपन्यास  पनि सकिन्छ ।

ओलिभर र जेनिफरको चरित्रले  पाठकको मन जित्छ । जीवनमा कहिल्यै नरोएको निडर ओलिभर जेनिफरको मृत्युले डाको छोडेर रुन्छ । प्रेम कतिपय यस्ता हुन्छन् जसले हाम्रो हृदयमा गहिरो छाप छोडेर जान्छन् । प्रेम सर्वव्यापक भावना र समवेदना भएपनि व्यक्तिपिच्छे यसको अनुभूति, धारणा र अनुभवहरु फरक हुन्छन् । 

प्रत्येक चीजका दुईपाटा भएझैँ मलाई यो उपन्यासका केही पक्षहरुले चित्त बुझाउन  सकेनन् । प्रथम पृष्ठको अनुच्छेदले कथासार भनेर सुरुमै गोप्यता भङ्ग गरेको कारण पाठक दूरदर्शी बन्न पुग्छ र उसलाई घटनाक्रम सामान्य लाग्न थाल्छन् । यदि उत्कर्ष सुरुमै नखोलिदिएको भए पाठकमाझ अझ राम्रो छाप छोड्न सक्ने थियो । उपन्यास पढुञ्जेल प्रेमकथा नपडी यौटा घटना सुन्दैछ जस्तो लाग्छ । प्रेमकथाका मिहिन समवेदनालाई कृतिले समेट्न नसकेको भान हुन्छ । 

कथाक्रम र प्लटहरुको संयोजन आर्कषक छन् यद्यपि कथाका पात्रहरु जम्न सकेको देखिदैन । उनीहरुको प्रेमकहानी कतिपय अवस्थामा भाँडाकुटी खेलेझैँ लाग्छ तर विवाह भएपछि कथामा मादकतामा भरिदै जान्छ र वर्णित समवेदनाहरुले पाठकलाई घोच्न थाल्छ । उपन्यासको भाषा सरल छ । बच्चाहरुले दन्त्यकथा पढेझैँ फर्रर अङ्ग्रेजीमा पढ्न सक्छन् । जसरी जादूगरले सानो कुरालाई अचम्मलाग्दो बनाउन सक्छ त्यसरी नै सेगलले पनि जानेबुझेकै कुरालाई लेखेर आफ्नो भाष्य शक्तिले साधारण प्लटलाई जिउँदो बनाइदिएका छन् । त्यसकारण चामत्कारिक भाषा, कथोपकथन र समवेदनाका कारण उपन्यास ओजनदार बनेको छ ।

नयाँ पुस्तक, पत्रपत्रिका पढ्न, फिल्म हेर्न अब्सेसिभ छु । केही क्रियटिभ कुरा फुर्यो भने ब्लग लेख्ने गरेको छु । तपाईजस्तै म पनि आफ्नो पहिचान र स्पेश खोज्ने योद्धा हुँ ।

2 comments:

  1. लभ स्टोरीले रुवाउँछ । त्यसबेला म नौ कक्षामा पढ्थें, पहिलो पटक कुनै अंग्रेजी साहित्य पढेको शायद यही पुस्तक थियो मेरो। यसको गहिराइमा के कति डुबें, अहिले हेक्का छैन, तर मलाइ धेरै मन छोएको थियो यो पुस्तकले । मिठोसँग समिक्षा राखिदिनु भएकोमा धेरै धन्यवाद राजेशजी यहाँलाई ।

    ReplyDelete
  2. i got this one in the ebook you sent me...i am going through it,,i am loving it..thanks rajesh dai for this.

    ReplyDelete