सत्तारुढ नग्नता

11:56:00 PM , 1 Comments


बिहानै अस्कर वाइल्डको उपन्यास ‘द पिक्चर अफ डोरियन ग्रे’लाई पुनः पाठ गर्दै थिएँ । मानिसको सम्बन्ध र त्यसका प्रभावले व्यक्तिको जीवनमा के कस्तो परिवर्तन आउँछ भन्ने शोधमा  लागेको थिएँ । त्यो भन्दा बढी मलाई लर्ड हेनरीको सिद्धान्तमा डोरियन ग्रे आफूलाई कसरी समाहित गर्छ अनि उसका दैत्य स्वभावबारे मलाई खुलस्त हुनुथियो । विद्यार्थीहरुलाई उपन्यासको भावभङ्गिमा पनि बुझाउनु थियो ।

अर्जुनले मेरो ध्यानास्थ समयलाई बिलखबन्दमा पारिदिन्छ । उसले आफ्नी प्रेमिकालाई झम्टिए जसरी ‘द पिक्चर अफ डोरियन ग्रे’लाई खोस्छ । कभरमा डरलाग्दो भ्यामपायरको चित्रले उसलाई किताबबारे जिज्ञासा जागेको प्रतीत हुन्छ । ऊ किताबको सबै पानालाई यन्त्रवत् पल्टाउँछ र पेज सुँघिरहन्छ । मानौं ऊ प्रेमिकाको सुगन्धित कपाल सुँघ्दैछ ।
किताबको सुगन्धमा लठ्ठिएर ऊ अद्र्धमुच्र्छित नयन म उपर तेस्र्याउँछ–
‘दाइ ! मलाई किताब पढ्नुभन्दा सुँघ्न मनपर्छ । यस्तो डरलाग्दो किताब पढ्दापढ्दै म त बौलाउँछु !’
म बडो तन्मयका साथ उसलाई हेरिरहन्छु । ख्याउटे शरीर अनायासै अग्लिदै गएको प्रतीत हुन्छ । उसलाई मैले बाल्यकालमा कखरा सिकाएको थिएँ । एसएलसीपछि उसले आफूलाई शिक्षाको सिँढीमा अगाडि चढाउन सकेन । कलेज भर्ना त भयो तर कक्षा लिन गएन । जति कलेज जाँदैन थियो त्यति उसलाई विश्व विद्यालयका प्राज्ञिक छायाँले ओझेल पार्दै थिए । अन्त्यमा दुवैले एकअर्कालाई सधैँका निम्ति बिदाई गरे ।
०००

शनैः शनैः म उभिएको परिवेश जटिल बन्दैछ । समाजको नाङ्गो कायाकल्प हुन्छ भनेर मैले सोचेकै थिइनँ । समाज त जहिल्यै गतिशील हुन्छ तर मान्छेले समयको बोध गरेन र आफूलाई सच्याएन किन ? त्यसो हुनाले के सम्पूर्ण समाज नै नियतिको फन्दामा परेको हो ?
मन्दिर, मस्जिद, चर्च र गुम्बा प्रागऐतिहासिक युगका खण्डहर दरबारजस्ता बनेका छन् । अब सुनिदैन त्यहाँ अर्चनाका कलरव ध्वनिहरु र  गुहारिदैन अचेल प्रार्थनाका आशा र विश्वासहरु पनि ।
अब त मन्दिरमा आईमाईको चोली च्यातिन्छ, मस्जिदमा जेहादको कसम खाइन्छ्, गुम्बामा भिक्षुको हत्या गरिन्छ र चर्चमा लाखौंलाखको सम्झौता हुन्छ । गर्ने निर्दोष ईश्वरले होइन तर सबै मान्छेहरु हुन् । मानिसका लागि अध्यात्म विरानो भइसकेको छ । उनीहरु केवल आईमाईको शरीरमा प्रेम खोज्छन् । ह्विस्की र ब्राण्डीका बोतलमा शान्ति र निन्द्रा खोज्छन् ।

श्वेता आफ्नो श्रीमान्सित आउँदै थिई । बाटामा अनायासै हाम्रो जम्काभेट भयो । त्यसबेला ऊ केही बोलिन, नदेखेझैँ गरी बाटैबाटो हिँडिरही । म पनि किन हत्तारिदै बोलूँ ?
‘बाटोमा देख्दा नि बोल्न छोडिस् अब ?’ मैले ओछ्यानबाटै उसलाई सोधेँ । ऊ आउँदा म उठेकै रहेनछु, साथमा आफ्नो छोरीलाई लिएर आएकी थिई ।
–"मेरा नजिकै बूढो हिँडेको देखिनस् ? बूढो हुँदा म कुनै लोग्नेमान्छेसित बोल्दिन ।" उसले जोगिने प्रयास गरी ।
"दुब्लाइछेस् ! घरजम गरेर खान सकिनस् कि क्या हो ?" मैले प्रसङ्ग बदल्दै उसको परिचित शरीरलाई नियालेँ ।

"यहाँ म भाडाको कोठामा बस्थेँ । अब अहिले बूढाको काठमाण्डौंमा ८ तले घर छ अनि कसरी घरजम गरेर खान सक्नू ?" उसले फिस्स व्यङ्ग्य पस्किई ।
उसको अप्रत्यासित उपस्थितिले म नोस्टाल्जिक हुन्छु । सम्झनाको काँचो धाँगो समात्दै ऊसितै ५ वर्षअघिको विगतमा फाल हानिन्छु :

"तेरो बाबु विदेशबाट आए हो ? कस्तो लाभलाग्दो भएर आइछेस् नि ?” ऊ गहनाले भरिएर आएकी थिई । मैले एकसरो हेरेर उसको मुहारमा छताछुल्ल कान्तिको अभीष्ट थाहा पाउन खोजेँ ।

"आजै मैले अमेरिकाबाट आएको केटासित इन्गेजमेन्ट गरेँ नि !" उसले मलाई अकल्पनीय उत्तर दिई ।
"अब मचाहिँ के गर्नू ?" मेरो बेसाहारा प्रश्न थियो ।
"के टेन्सन लिन्छस् ! पढाई सकिसकेको छस्, अब विवाह गर । सुखपूर्वक जीवन बिता ।" उसको बेवास्तापूर्ण अभिव्यक्ति फेरि सुनेँ ।
"हाम्रो प्रेम नि ?"मैले यक्षप्रश्न फ्याकेँ ।
"कस्तो प्रेम ? मैले कुमारित्व सर्वप्रथम तँलाई सुम्पिएँ । तैँले पनि मलाई निष्खोट प्रेम गरिस् । हामी दुवैले जवानीको भरपूर आनन्द लियौँ । अब तेरो र मेरो बाटो अलग छ । हिसाब बराबर ! वास्तवमा म तँसित अभावग्रस्त जीवन जिउन चाहन्नँ ।" मेरो गरिबीप्रति उसको असाध्यै निरीह अभिव्यक्ति थियो ।
"मैले हिसाब बराबर गर्न प्रेम गरेको थिइनँ । यतिबिघ्न जर्जर बद्लावको परिणाम के हो ?" म क्रमशः भत्कदै थिएँ ।
"म चाहन्छु, मैले चाहेको, सोचेको चीज तत्क्षण आओस् । मेरो सपना पूरा हुन लाग्दैछ । मलाई अब नरोक राजेश ।" ऊ असाध्यै लाचार बनि ।
मैले उसलाई रोकिनँ । वनको चरी वनैभरि डुलेर रमाउँछे, त्यसलाई पिँजडामा कैद गर्नू व्यर्थ थियो सायद ।
०००

जुनेली रात छ । कौसीमा बसेर म यो कायाकल्पको साक्षी जूनलाई नियाली रहन्छु । अभिव्यक्ति शून्य जूनको अनुहारबाट मलाई एकप्रकारको वितृष्णा जाग्छ । मेरो नजर एक्कासी बाटोतिर फ्याकिँन्छ ।
"मास्साले ! दश लाख भए त ! के–के गर्ने थिएँ ।" आवाज चिन्छु अर्जुनको । ऊ गाँजाको मादकतामा आफ्नो कस्मिक सपनाको उडान भर्दैछ ।
"मुला ! दश लाखको के कुरा गर्छस् ? पाँचै लाख भए एउटा शानदार बाइक किनिन्थ्यो । कत्ति मजा हुन्थ्यो कालीलाई घुमाउन !" अर्को अपरिचित केटाको पारलौकिक इच्छा सुन्छु ।
"हेर् बाहुन ! मेरो चैँ पासपोर्ट बनिसक्यो अब विदेशबाट आए’सी सबथोक गर्छु ।"उसले बाटो चिनिसकेको छ ।
यी सपनाहरु यिनीहरुकै मात्र होइनन् । यस्ता सपना देख्नेहरु यहाँ छ्यापछ्याप्ती भेटिन्छन् । क्याम्पसमा दिनभर आफ्ना विद्यार्थीसमक्ष नेपालका सम्भावनाहरुको बखान गर्दागर्दै थाक्छु तर ती सम्भावनाहरुलाई यथार्थको चौघेराभित्र कैद गर्न कहिल्यै सक्दिनँ । कक्षाबाट केटाहरुको संख्या दिनानुदिन घट्दो छ । उनीहरुका सपनाका पखेटाहरु सूर्य छुन विदेशिँदै छन् । यी मध्ये कति ‘इकारस’का पखेटा पग्लिएर अरबको समुन्द्रमा खसिसके होलान् । म आफैँमा हराउँछु ।
०–०–०

मौसमको घरमा आज पनि भव्य पार्टी रै’छ । मान्छेहरु कमिलाझैँ सामूहिक भोजन गरेर ताँती बनाएर फर्किरहेका छन् । उनीहरुका बाहुपासमा परस्त्रीहरु हात समातेर इत्रिँदै छन् । ऋतु अनुसार आफ्नो अवस्थिति फेर्नुपर्ने मौसम जहिल्यै यथास्थितिमा रहन्छ । उसको घरमा अक्सर दिनमा भव्य पार्टी र रातमा रासलीलाका मेहफिलहरु जम्ने गर्छन् । जिन्दगी देखि हार्नेहरु यस दुनियाँमा नहोलान् तर उसले जिन्दगीलाई बल्लबल्ल समातेको पुतलीझैँ हतप्रभ उडाएर जितेको छ । मानौ, उसका लागि संसार खुट्टा अगाडिको भकुण्डो हो, जसलाई जता पनि फ्याँक्न सक्छ ।

सानोमै घरपरिवारलाई छोडेर परदेश लागेको केटो एकैचोटी आमाको निधनपछि फर्कियो । सानैमा बाबु विना हुर्किएको उसले धेरै संघर्ष गर्यो । आमा मरेको एक वर्ष नपुग्दै आलीसान महल बनायो । त्यो ठाउँमा मौसमको जत्तिको घर कसैको थिएनँ । मान्छेहरु उसको जीवनशैलि देखेर र्याल चुहाउँथे । उसलाई सहयोग गर्ने र उसको पक्षमा बोलिदिने मान्छेहरु धमिराको ढिस्को बढेझैँ बढ्न थाले । मानौं, त्यो ढिस्कोले एकदिन संसार नै ढाक्नेछ ।

घरमा बसेर बेपरवाह दिन कटाउने गर्ने आमाहरु भन्थे, "छोरा होस् त मौसमेजस्तो !"
परदेशमा बुढालाई ढुकुटी भर्न पठाउने आईमाइहरु भन्थे, "मौसमजस्तो लोग्ने भैदिए पो मोजमस्ती गर्दै घरमा बस्नु हुन्थ्यो ।"
रानी बन्ने महत्वाकांक्षा बोकेका युवतिहरु भन्थे, "भगवान् मौसम दाईजस्तो वर भट्टाइदेऊ !"
तीन माना भात खाएर भुँडीको झोला भिरेका बेरोजगार केटाहरु मौसमको प्रतिरक्षा गर्थे, "लौ त ! मौसम दाईलाई कसैले छोओस् त ! बरु ज्यान दाउमा लगाम्ला तर दाइलाई क्यै हुन दिन्नँ ।"
बुढ्यौली जीउँदै गरेका बुढाहरु भन्थे, "मौसमले गर्यो प्रगति !"

सर्वत्र उसैको चर्चा चल्दथ्यो । मानिसहरुले राम्रो/नराम्रो सबैको श्रेय उसैलाई दिन्थे । पूर्वीय बतासले सिनोलाई उडाएर नाकमा ठोक्काइदिएझैँ उसको कुरा काट्नेहरुको पनि गन्ध फैलिन्थ्यो :
– मौसमले त दिनहुँ जुत्ताको मोजा फेरेजस्तै केटीहरु फेर्छ । त्यसलाई एड्स नि लाग्या’छ रे !
– झिँगा भन्किए जसरी नेताहरुको चाकडी गरेपछि पैसा त कमिहाल्छ नि ! नत्र महिना दिनमा २/३ चोटी कहाँ बेपत्ता हुन्छ त्यो ।
– सयौ ठाउँमा टेण्डर जितेको छ रे ! अनि पैसा कमिदैन त ? १०/१२ वटा उद्योगमा त शेयर नै हालेको छ रे !
  पैसा कमाउने ट्रिक चाहिन्छ के ! मौसमको जस्तो ट्रिक अपनायो भने त नेपालका मान्छे सबै करोडपति हुन्छन् ।

गाउँमा झुपडीमा बस्ने मगन्ते देखि आलिसान महलमा बस्ने सबै मौसमका कुरा काट्नेहरु थिए । मौसम कवि/कलाकारको प्रतिमा भैसकेको थियो, जसले जेसित दाँजे पनि ठिक हुन्थ्यो । तर, ताज्जुब लाग्छ, मान्छेहरु किन पुरात्तत्वविद् जस्तो कुनै प्राचिन खण्डहर सहर उत्खनन् गरेझैँ उसैको पिछे लागिरन्छन् ? किन उनीहरु आफ्नो उत्पादनशील समय इलममा लगाउँदैनन् ? मौसम पनि त्यही जाँतो पिस्नमा अभ्यस्त छ । पिस्ने ऊ र पिँधिनेहरु धेरै छन् । खैर, चर्चा देखिनेहरुकै हुन्छ !
०–०–०

बिहानै मानिसहरु मौसमको घरअगाडि जम्मा भएको देखिन्थ्यो तर परिदृश्य पार्टी/भोजजस्तो किञ्चित् थिएन । मान्छेहरुका चकित देखिन्थे । उनीहरुको अनुहारका अभिव्यञ्जना पढ्न मुस्किल थियो ! के अविश्वसनीय घटना घट्यो भनेर उसको घरमा गएँ ।
मौसम र उसका २५ आसेपासेहरुलाई हत्कडी लगाएर लामबद्ध राखिएको थियो । भुँइमा असरल्ल हेरोइन, ब्राउन सुगर, डाईजेपाम, एभिल एमपुलका सिसीहरु, नाइट्रोजन ट्याब्लेट्स, विदेशी नोटहरु, मोबाइल सेटहरु र  १० थान मोटरसाइकलहरु थुपारिएका थिए । मौसम  र उसका सहयोगीहरुका अनुहार भुँइमा घोप्टिएका थिए । गाउँलेहरुको अनुहारमा आश्चयमिश्रित भाव थियो ।
रहस्यहरुसितको ‘एनकाउन्टर’पछि आ–आफ्नै अभिव्यक्तिमा भीड बोल्न थाल्यो :
– यसको शान बल्ल देखियो !
– हो रैछ, इमान्दार मानिस कहिल्यै एकाएक धनी बन्न सक्दैन !
– हाम्लाई यस्तो गरेर धन कमाउनू छैन !
– यो मौसमेले मेरो छोरोको भविष्य बिगार्यो । अर्जुने भोलि नै मलेसिया जादै थियो ! हरे शिव !
– थुक्क ! यस्तो छोरा कसैको नभइदिओस् । बरु बाँझी नै बस्न परोस् !
– विपना ! यस्तो केटासित विवाह गर्नुभन्दा त बुढीकन्ये बस्छु !
– यस्तो मान्छेलाई त्यतिकै छाडे भने हामी सब गाउँले आन्दोलनमा उत्रिन्छौँ !

नयाँ पुस्तक, पत्रपत्रिका पढ्न, फिल्म हेर्न अब्सेसिभ छु । केही क्रियटिभ कुरा फुर्यो भने ब्लग लेख्ने गरेको छु । तपाईजस्तै म पनि आफ्नो पहिचान र स्पेश खोज्ने योद्धा हुँ ।

1 comment:

  1. सुन्दर शैली अनी रोमान्चक प्रस्तुती। साह्रै मन पर्‍यो। कीप इट अप ।

    ReplyDelete