पढाइ वासना हो

3:07:00 AM 0 Comments


—वरुण बज्राचार्य, लेखक
वरुण बज्राचार्यको कथाकृति ‘सिन्स अफ् लव’ प्रकाशित छ । भारतबाट प्रकाशित कथा सङ्ग्रह ‘लव एन्ड प्यासन’, ‘द ट्रथ विनिथ द रोज’, ‘द जेस्ट अफ् इन्किङ्ग्स’, ‘यु, मि एन्ड जिन्दगी टु’, ‘वन्स अपन अ टाइम’मा सहलेखन गरिसकेका बज्राचार्य युएसएडमा कार्यरत छन् । पेन इन्टरनेश्नलका नेपाल च्याप्टर एवम् ट्रेडिसनल पोइट्री राइटर्स एसोसिएसन अफ् द वल्र्डका सदस्य भइसकेका वरुणका कथा, कविता, नियात्रा, हाइकु, सिजो र लेखहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पत्रिकामा प्रकाशित भइसकेका छन् । सन् २०१३ को दक्षिण कोरियामा सम्पन्न भेलामा सहभागी नौ देशहरूबीच आफ्नो अर्थात् नेपाली कविताको प्रभाव छाड्न सफल यी लेखकसँगको किताबी गफः

अहिले के पढ्दै हुनुहुन्छ ?
  • म अहिले विलियम गोल्डिङको ‘लर्ड अफ् फ्लाइज’ पढ्दै छु ।

यसपछि कुन किताब पढ्ने सोच छ ?
  • मसित पढ्ने किताबका लिस्ट प्रशस्तै छन् । यसपछि म सलमान रुस्दीको ‘सेटानिक भर्सेज’ पढ्न उत्साहित छु ।

तपाईंको मनपर्ने विधा ?
  • नन–फिक्सनमा त्यति पसेको छुइनँ । गद्यमा मैले रोमान्सदेखि थ्रिलरसम्मका किताब पढेको छु । विशेषतः म कथाहरू पढ्न रुचाउँछु ।

कस्ता प्रकारका कथा पढ्न मन पराउनुहुन्छ ?
  • भावात्मक कथाहरू पढ्न रुचाउँछु । ती कथाहरू जसले मेरो हृदय तरङ्गित पार्छन् । ट्राजिडी उपन्यास तथा कथाहरूले भावनाको उचाइसम्म पु¥याउँछन् ।

नेपाली कथाको प्रवृत्ति कस्तो देख्नुहुन्छ ?
  • नेपाली कथाको प्रवृत्ति उकासिँदै छ, यसको बजार पनि दू्रततर गतिमा बढ्दै गरेको प्रतीत हुन्छ ।  महेशविक्रम शाह र कुमार नगरकोटी जस्ता कथाकार भएका हुनाले भविष्य सुगम देख्छु । आशा छ, नेपाली कथा–जगत्मा थुप्रै कुमार नगरकोटीहरू जन्मिऊन् ।

एकदमै मनपरेका सात किताबको नाम लिनुपर्दा ?
  • सिड्नी सेल्डनको ‘बेस्ट ल्याड प्लान्स’, हर्मन हेस्सेको ‘सिद्धार्थ’, मिच आल्बमको ‘द टाइम किपर’, सम्राट उपाध्यायको ‘गुरु अफ् लभ’, टोनी मरिसनको ‘विलवेड’, महेशविक्रम शाहको ‘अफ्रिकन अमिगो’ र नारायण वाग्लेको ‘पल्पसा क्याफे’ रहेका छन् ।

जीवनमा कुनै किताबी पात्रले प्रभाव परेका छन् ?
  • हर्मन हेस्सेको उपन्यासको पात्र सिद्धार्थबाट प्रभावित छु । यसमा गौतम बुद्धको समयलाई कथाबद्ध गरिएको छ । दार्शनिक चिन्तन र आख्यानिक व्याख्या कवितात्मक छ । कथा शान्त नदीझैं बगेको प्रतीत हुन्छ । लेखक वैयक्तिक अनुभवले शान्ति र सुखको अनुभव नगरिकन अर्काले थुपरिदिएको ज्ञान र सीपबाट शान्ति र सुखको अनुभूति हुन सक्दैन भन्छन् । वास्तवमा सिद्धार्थ यही मानेमा फकिर हुन् । यहाँ एउटा बाटो मात्रै छैन, वास्तविक सत्यता खोज्न सबै जनाले एउटै बाटो तय गर्नुपर्छ । पात्र सिद्धार्थ गौतमासितको भेटमा यसप्रकार आत्मिक चेतना प्राप्त गर्छ । गौतमाको शान्त व्यक्तित्वबाट सिद्धार्थ प्रभावित हुन्छ र आफू पनि त्यस्तै व्यक्ति हुन चाहेको मनशाय राख्छ । तर, अन्त्यमा उसले बुझ्छ कि गौतमाको शिक्षाले उसले खोजेको बाटोमा पु¥याउँदैन र आफ्नै बाटोको खोजीमा लाग्छ ।

कुन किताब पढ्दा तपाईं निरास हुनुभयो ?
  • पारिजातको शिरीषको फूल । प्रायशः  यसप्रकारका सबै उपन्यासहरू एकसुरका हुन्छन्, बीचमा कतै आएका ‘टुइस्ट’ले एकछिन् उत्तजेनाको चोइटो देखाउँछ । मैले यो उपन्यासमा निराशावादी दृष्टिकोण भेट्टाएँ । कथावाचकको उवाच निरस लाग्छ अनि उनको यो उपन्यासको लेख्नुको उद्देश्य भनेको पीडालाई मात्र देखाउनु हो भन्ने लाग्यो । जोहन ग्रीनले ‘द फल्ट इन आवर स्टार्स’ लेखे । यहाँ पीडा नै अनुभूत गर्न लगाउँछ । खाली पीडै–पीडा, आशाको एक औंश पनि छैन । सायद पारिजात पनि यही चाहन्थिन् । सायद त्रासदी (ट्राजेडी)ले सबैलाई आकर्षित गर्छ । अनि ट्राजेडी नै हो जसले हामी जस्तो असहाय आत्माहरूलाई जोड्छ ।

कहाँबाट किताब प्राप्त गर्नुहुन्छ ?
  • कहिलेकाहीं म जमलको एजुकेसनल बुक हाउसबाट किन्छु । अरु बेला म इन्टरनेटबाट इ–बुक्स डाउनलोड गर्छु । प्रायशः म सेकेन्ड–ह्यान्ड बुक खोज्दै फुटपाथमा पनि हिँड्ने गरेको छु । भर्खरै मैले ५० रुपैयाँमा विलियम फल्कनरको ‘पाइलान’ किनें । किताब एकदमै ठिक थियो । विशेष उपलक्ष्यमा मेरी अर्धाङ्गनीले पनि किताब उपहार दिने गरेकी छिन् ।

महिनामा औसत कति रकम किताबमा खर्च गर्नुहुन्छ ?
  • किताबमा मासिक दुई हजार रुपैयाँ जति खर्च गर्छु । यद्यपि म मितव्ययी हुन्छु अनि इ–बुकमै भर पर्छु । तर, यो किञ्चित् राम्रो प्रवृत्ति होइन ।

केमा बसेर पढ्न रुचाउनुहुन्छ ?
  • म प्रायः अफिसमा काम नहुँदा पढ्ने गर्छु । मेरो आरामदायी कुर्सीमा बस्छु, किताब खोल्छु अनि किताबी संसारमा हराउँछु ।

पढ्न कस्तो वातावरण चाहिन्छ ?
  • एक लेखकले पढ्न एयर कन्डिसनसहितको कोठा, शानदार सोफा एवम् चर्चित लेखकको महँगो किताब चाहिँदैन । फुटपाथमा बसेर फाटेको किताब पढ्दा हुन्छ भनेका थिए । पढाइ भनेको वासना हो, विलासिता होइन । पढ्न परिवारको साथ पनि चाहिन्छ । म भाग्यमानी छु कि मेरो लेखपढमा बुबा र श्रीमतीबाट धेरै सहयोग पाएको छु ।

कलेजका युवापुस्ताले पढ्नैपर्ने किताब ?
  • कलेज जाने युवाहरूले सर्वप्रथम सजिला लेखक पढून् जस्तै इरिक सेगल अनि चेतन भगत । पछि गम्भीर लेखक जस्तै एमली ब्रोन्ट अनि थोमस हार्डी पधढ्दा भो । पढ्ने बानी सुदृढ नबनाइकन ‘युलिसिज’ अथवा ‘हन्ड्रेड इयर्स अफ् सोलिच्युड’ पढ्न कष्टप्रद हुनसक्छ । कथाहरूबाटै पढ्न सुरु गर्दा बेस हुन्छ, जस्तै, शुष्मा जोशी, एलिस मुन्रो, रोअल दाल, चाल्र्स डिकिन्स, फ््रयान्क ओ’कोनर । कविता पढ्दा चाहिँ ल्याङ लिव । जब पठन सुदृढ बन्छ तब आफ्नो स्वादअनुसारको छानेर पढ्दा भो । कलेजका विद्यार्थीहरूका लागि महेशविक्रम शाहको ‘अफ्रिकन अमिगो’ पढ्न सुझाउँछु । यसले नेपाली ग्रामीण परिवेशको चित्र चित्ताआकर्षक रूपले खिचेको र अनि आञ्चलिक भाषा प्रयोग गरिएको छ ।

पढ्ने बानी कसरी लाग्यो ?
  • म सानैदेखि छिटपुट कविता एवम् बालकथा लेख्नमा चासो राख्थें । कस्तो मूर्ख भने म, पढाइको आनन्द पछि गएर मात्र थाहा पाएँ । मैले यस्तरी पढ्न थालेको पाँच/छ वर्ष मात्र भयो । चेतन भगतबाट सुरु गरें र अहिले हर्मन हेस्सेसँग छु ।

कुन समय औधी किताबपढ्नुभयो ?
  • मैले स्नात्तकोत्तर गर्दा औधी पढें । त्यतिखेर म बेरोजगार थिएँ र पढ्नका लागि पर्याप्त समय प्राप्त हुन्थ्यो ।

नयाँ पुस्तक, पत्रपत्रिका पढ्न, फिल्म हेर्न अब्सेसिभ छु । केही क्रियटिभ कुरा फुर्यो भने ब्लग लेख्ने गरेको छु । तपाईजस्तै म पनि आफ्नो पहिचान र स्पेश खोज्ने योद्धा हुँ ।

0 comments: