युद्धकी बोक्सीको अनौठो प्रेमकथा
नेपालको सशस्त्र द्वन्द्वमा कति बालबालिका प्रयोग गरिए ?
तिनीहरुको नियति के कस्ता थिए ? भन्ने सम्बन्धमा सायद किताबहरु कमै
लेखिएका होलान् र चलचित्रहरु बनेका पनि छैनन् होला तर गणतान्त्रिक कङ्गोमा युद्धमा
बालबालिकालाई कसरी प्रयोग गरिन्छ र उनीहरुले भोग्नुपर्नेको नियतिहरुलाई
सिलसिलाबद्ध चाक्लाबन्दी गर्दै किम न्ययेनले फिचर फिल्म निर्माण गरेका छन् : वार वीच । थुप्रै विदेशी अवार्ड जितेको
यस फिल्मले अस्करमा विदेशी फिल्म अन्र्तगत सूचिकृत भएको थियो । यसले अस्कर नजिते पनि सम्मोहनकारी कथा र
कलात्मक निर्देशन पक्षले किमलाई लोकप्रियताको पात्र बनाइदिएको छ ।
फिल्मको सुरुवातमा अफ्रिकी भुपडपट्टीहरु शान्त देखिन्छन् ।
पालले छाएका छाने र बेरेका टाटीहरुले गरिबीको परिदृश्य देखाउँछ । मानिसहरुको चप्पल
र लुगाहरु ठाउँ–ठाउँमा
च्यातिएका र टालिएका देखिन्छन् । महिलाहरु आ–आफ्नै सुरमा घरायसी काम गर्दैछन्,
कोही आँगनमा भात पकाउन आगो फुक्दैछन् ।
लोग्नेमान्छेहरुको आँखामा अदृश्य भयका रेखाहरु प्रशस्तै भेटिन्छन् । यत्तिकैमा
मुख्य पात्र एवम् नायिका कोमोनाले कथा भन्न सुरु गर्छिन् । उनी घरायसी काम गर्दै
हुन्छिन्, पर उनीहरुको संकट
पौडिदै आएको देख्छिन् । आफूले बोकेको सामान त्यत्तिकै फ्याँकेर कराउँदै दौड्छिन् ।
गाउँमा होहल्ला मच्चिन्छ । हतियारधारी विद्रोहीहरुले सम्पूर्ण गाउँ घेर्छन्,
पकाएका भातहरु पोखिन्छन्, पालका टाँटीहरु च्यातिन्छन् । गाउँभरी
गोला–बारुद फ्याँकिन्छन् ।
मान्छेहरुलाई मकै भुटे जसरी बन्दूकले भुटिन्छ । विद्रोहीहरुले गाउँका
बालबालिकाहरुलाई कुट्दै, पिट्दै
र लात्ताले हान्दै एकै ठाउँमा जम्मा गर्छन् । परिदृश्य एकदमै कारुणिक बन्छ ।
बाल सैन्यका लागि विद्रोहीहरुबाट १२ वर्षिया कोमोना अरु
बालबालिका जसरी नै अपहरित हुन्छिन् । उनलाई बन्दूक दिएर आफ्ना बाबुआमालाई गोली
ठोक्न लगाइन्छ । कोमना आ–आफ्ना
आमाबाबुलाई मार्छे कि मार्दिन् भन्ने आँकलने दर्शकलाई भयग्रस्त बनाउँछ । उनका
आँखमा अविरल आँसुहरु बग्छन् र अन्त्यमा उनले आफ्ना आमाबाबुलाई गोली ठोक्छिन् । ति
अपहरित बालबालिकाहरु सबैलाई सैन्य तालिमका लागि जङ्गलमा लगिन्छ र भोका–नाङ्गो अवस्थामा भीमकाय बुटहरुले
हानिन्छ, उनीहरुको हृदयमा
मायाभन्ने जन्तु मरिसकेको प्रतीत हुन्छ ।
जङ्गलमा ति खाली खुट्टे बालबालिकाहरुलाई जुत्ताहरु दिन्छन् र
तालिम पश्चात सबैका हातमा बन्दूक थमाउँदै भन्छन्– यी तिमीहरुका आमा र बुवा । भोको
अवस्थामा जङ्गलमा रुखको चोप जसलाई तिनीहरुले जादूमय दूध भनेका छन्, सबैलाई क्रमशः खुवाउँछन् र उनीहरु सबै
मात्छन् । त्यो जादूमय दूध पिएपछि कोमोनाले भूतका विभिन्न मान्छेहरुलाई देख्छिन्,
उनीको शरीरमा सेतो रङ पोतिएको हुन्छ ।
कोमनालाई ति सेता भूतहरुले मार्गदर्शन गर्छन र दुष्मन (प्रहरी)बाट बचाउँछन् ।
फलस्वरुप उनलाई त्यो समूहमा ‘वार
वीच’ भनेर बोलाइन्छ ।
उनीहरुलाई अनवरत सैन्य तालिम दिइन्छ र प्रहरीसितको युद्धमा होमाइन्छ ।
फिल्मको मध्य भागमा आएपछि कथाले आफ्नो बाटो फेर्छ । कोमनाको साथी जसलाई जादूगर (सर्ज क्यानिन्डा)
भन्छन् । उनी त्यो विद्रोही जादूगर आर्मीसित आफ्नो बटालिन छोडेर भाग्छिन् ।
कोमोनालाई जादूगरले आफ्नो सैन्यकालीन समयमा धेरै सहयोग गरिरहेको हुन्छ । भोकाएको
अवस्थामा बिस्कुट दिएको हुन्छ र विभिन्न असुरक्षाहरुबाट उसलाई बचाएको हुन्छ । त्यसकारण,
कोमोना ऊसित भाग्नका लागि तत्पर
हुन्छिन् । जादूगरले कोमोनालाई प्रेम प्रस्ताव राख्छ र विवाहका लागि आग्रह गर्छ तर
कोमोना सेतो भाले पक्रेर नल्याएसम्म विवाह गर्दिन भनेर जिद्दी कस्छे । त्यो ठाउँमा
सेतो भाले एकदमै दूर्लभ हुन्छ । युद्धमा सबै काममा निपूर्ण देखिएको जादूगर जाबो
एउटा भाले खोज्न नसकेकोमा लज्जित बन्छ । अन्त्यमा उसले विभिन्न व्यक्तिहरुको
सहयोगमा सेतो भाले पाउँछ र कोमोनालाई दिन्छ । खुसीले ओतप्रोत कोमोना जादूगरसित
विवाहका लागि राजी हुन्छे । उनीहरु गाउँलेले मिलाइदिएको एउटा झूपडीमा सुहागरात
मनाउँछन् ।
त्यसपछि, जादूगरले
कोमोनालाई सेतो भाले सहित आफ्नो काका (राल्फ प्रोस्पर)कोमा लग्छ । काकाले
तिनीहरुलाई सँगै बस्न आग्रह गर्छन् । उनीहरुका बन्दूक फ्याँकेर मासु काट्न सिकान्छ
र तेल निकाल्छ सिकाइन्छ । कथाले सुखमय मोड
लिन्छ । उनीहरुको घरगृहस्थ अब स्थायी जस्तो देखिन्छ ।
तर कथाले अगाडि नबढिकन कहाँ धर पाउँछ र ? उनीहरुको त्यो परमसुख क्षण भर रहन्छ ।
कोमोनाको मार्गदर्शन विना विद्रोही ग्रेट टाइगर हार भइरहेको हुन्छ । कोमोनोको
आवश्यकता टड्कारो बनिदिन्छ । विद्रोहीले कोमोनालाई खोज्नका लागि आफ्ना सैनिकहरु
छर्छ । अन्त्यमा जङ्गलमा काम गर्दै गरेको अवस्थामा विद्रोहीहरुले नवविवाहित जोडीलाई भेट्छ ।
विद्रोहीले जादूगरलाई पक्रेर कोमोनालाई बन्दूक दिई मार्न आदेश दिन्छ तर कोमोना
त्यस्तो गर्न मञ्जुर हुँदिन । ऊ मर्न तत्पर भएर जादूगरको नजिक जान्छे । विद्रोहीले
कोमोनालाई घिस्याउँदै लग्छन् र जादूगरको घाँटी काटिदिन्छन् ।
कोमोना सैन्यमा फर्किन्छे र कति पनि प्रभावित नभइकन आफ्नो
निपूर्ण युद्धकला प्रयोग गर्छे तर
कमाण्डरले उसलाई आफ्नो यौन दासी बनाउन खोज्छ । कमाण्डरले सबै युवतिहरुलाई आफ्नो
यौनदासी बनाएको हुन्छ । कोमोना पनि यसका लागि राजी हुन्छे । कमाण्डर आउनु भन्दा
अगाडि एकप्रकारको फललाई काटेर त्यसभित्र ब्लेड हाल्छे र त्यसलाई पीडामा जल्दै
आफ्नो योनिभित्र त्यो फल हाल्छे । जब कमाण्डर आएर यौन कार्य गर्दै हुन्छ तब उसको
लिङ्ग ब्लेडले काट्छ । त्यसपछि कोमोना कमाण्डरलाई मारेर त्यहाँबाट भाग्छे ।
ऊ प्रहरीको सहयोगमा फेरि काकाको घर पुग्छे । ऊभित्र जादूगरको
बच्चा हुर्किरहेको हुन्छ । युद्धको झलकहरु, आफ्नो पतिको कारुणिक मृत्यू र
बाबुआमालाई मार्नुपर्दाको नियतिले उसलाई एकप्रकारको मनोवैज्ञानिक असर परिरहेको
हुन्छ । कोमोना त्यहाँबाट भागेर डुङ्गा जबरजस्ती खियाउँदै आफ्नो घरतिर जादैहुन्छे
र नदी तरीसकेपछि उसलाई बेथा लाग्छ । एउटा बच्चा जन्माउँछे र त्यसलाई सम्हाल्दै ऊ
आफ्नो घर आईपुग्छे । गाउँ एकदमै सुनसान बनेको हुन्छ । घरका डाँडाभाटा र पालहरु
हुँदैनन् र पूरै निर्जन देखिन्छ ।
बच्चालाई एक ठाउँमा राखेर ऊ बाबुआमाको सम्झनाहरु बटुल्न थाल्छे । बाबुको सर्टको
टुक्रा र आमाको काइयो भेट्टाएर त्यसलाई जमिनमा गाड्छे । यसरी उसले आफ्नो आमा–बुबाको अन्तिम संस्कार गर्छे ताकि आफूले
गरेको पापको सराप आफ्नो सन्तानमाथि नपरोस् । फलस्वरुप ती सेता भूतहरुले उसलाई
खेद्न छोड्छन् । ऊ आफ्नो काकाको घरमा जान्छे र फिल्मको सुखद अन्त्य हुन्छ ।
वार वीचको कथा र निर्देशन पक्ष सबल छ । दर्शकहरुलाई भाषाको
समस्या परे पनि कथा र त्यहाँका परिदृश्यहरुले सबै बुझ्दछन् । युद्धकी बोक्सीको
अनौठो प्रेमकथाले सबैलाई खिच्छ । मुख्य नायिका कोमना अर्थात् राचेल माउन्जाको
भूमिका एकदमै प्रखर देखिन्छ । यो भूमिकाले उनलाई सर्वोत्कृष्ट नायिकाको अवार्ड
दिलाएको थियो भने अस्करको समारोहमा भाग लिनका लागि भिजा मिलेको थियो । फिल्मलाई
क्यानेडियन स्क्रिन अवार्ड २०१३ मा सर्वोत्कृष्ट फिल्म, सर्वोत्कृष्ट निर्देशक, सर्वोत्कृष्ट नायिका र सर्वोत्कृष्ट
सहनायक लगायतका १० वटा अवार्ड मिलेको थियो ।
हामीसित सशस्त्र द्वन्द्वका विभिषिकाहरु अझै पनि विद्यमान छन्
। ति कथाहरुलाई कलात्मक ढङ्गले फिल्मका रुपमा ढाल्न सके राम्रो फिल्म बन्ने थियो ।
युद्धकै पासविक कथामा बनेको बधशाला माथी अनावश्यक लगाइएको सेन्सरसीपले यो प्रतीत
हुन्छ कि फिल्म सम्बन्धी धारणामा अझै सरकार एवम् राजनीतिज्ञ बेखबर छन् । उनीहरुले
यसप्रकारको फिल्म हेरेर बुझे हुन्छ कि फिल्म कति शक्तिशाली हुन्छ !
War Witch ...a film by KIM Nguyen ...एक पटक हेर्ने पर्ला जस्तो लाग्यो .. राजेश जी को यो बर्णन बाट अनि युद्धकै पासविक कथामा बनेको बधशाला माथी अनावश्यक लगाइएको सेन्सरसीपको विरोध गर्नु पर्ने जस्तो देखिन्छ ... यथार्थ जे हो त्यो किन लुकाउने !
ReplyDelete